ad ad

विचार


अमेरिकी राष्ट्रपतीय चुनाव : दोहोरिँदै दुई वृद्धबीचको भिडन्त

अमेरिकी राष्ट्रपतीय चुनाव : दोहोरिँदै दुई वृद्धबीचको भिडन्त

डेविड स्मिथ
बैशाख १६, २०८० शनिबार २०:३,

अमेरिकाको विविधता र शक्तिको इर्ष्या संसारले गर्छ। तैपनि अमेरिका राष्ट्रपतीय निर्वाचनमा ८० र ७० पार भइसकेका दुई गोरा वृद्धहरुबीच प्रतिस्पर्धा हुने दिशातिर गइरहेको छ। जो यसअघि पनि भिडिसकेका छन्। 

४६ औँ राष्ट्रपति जो बाइडेन अमेरिकाको इतिहासकै वृद्ध राष्ट्रपति हुन्। यसैसाता उनले भिडिओमार्फत चुनावी अभियानको औपचारिक घोषणा गरे। यी ८० वर्षे नेतालाई डेमोक्रेटिक पार्टीमा कसैले पनि गम्भीर चुनौती दिएको छैन। उनले भने, ‘उनीहरुले प्रतिस्पर्धा देख्नेछन् र मसँग त्यो छ कि छैन, उनीहरुले फैसला गर्नेछन्।’

रिपब्लिकन पार्टीबाट भने ४५ औँ तथा इतिहासकै दोस्रो वयोवृद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनयनको दौडमा सबैभन्दा अगाडि छन्। उनलाई चुनौती दिइरहेका रोन डेसान्टिसभन्दा उनी ४६ अंकले अगाडि रहेको हालैको एक सर्वेक्षणले देखाएको छ। डेसान्टिसले भन्दा ७६ वर्षे ट्रम्पले धेरै सांसदहरुको अनुमोदन प्राप्त गरेका छन्।

उसो त चुनाव आउन अझै १८ महिना बाँकी छ। ट्रम्पका सामुन्ने कयौँ कानुनी अड्चन छन्। तर, धेरैजसो विश्लेषकहरु अर्को वर्ष २०२० कै चुनावी प्रतिस्पर्धाको पुनरावृत्ति हुने सम्भावना ज्यादा रहेको बताउँछन्। तर, त्यो प्रतिस्पर्धाप्रति मतदाताहरुलाई कुनै आकर्षण छैन।

‘अमेरिकीहरु सिक्वेल हेर्न चाहन्छन्जस्तो मलाई लाग्दैन,’ डेट्रोइटका ३४ वर्षीय डेमोक्र्याट क्रिस स्कट भन्छन्, ‘अमेरिकीहरु डोनाल्ड ट्रम्पको किस्साबाट अघाइसकेका छन्। भलै रिपब्लिकन पार्टीमा उनका थुप्रै अनुचर अझै छन्। मानिसहरु अब त्यो अध्याय बन्द गरेर अघि बढ्न तयार छन्।’

‘बाइडेनको हकमा थुप्रै मान्छेको प्रश्न छ– के बाइडेनसँग थप चार वर्ष गुजार्ने शक्ति छ त? भलै बाइडेनले काम गरेर देखाएका छन्। जे होस् चार वर्षअघिको खेल दोहोरिएको कोही हेर्न चाहँदैन,’ उनले थपे।

पुन बाइडेनको उम्मेदवारी अवश्यंभावी थियो। यो उनको चार दशकमा दिएको चौथो पटकको उम्मेदवारी हो। बल्लबल्ल २०२० मा राष्ट्रपति बन्ने आकांक्षा पुरा गरेका उनका लागि अहिले छाड्नुपर्ने कुनै कारण छैन। उनले उपलब्धिका रुपमा गत वर्षको मध्यावधि चुनावलाई देखाउन सक्छन्, जहाँ उनको पार्टीले सोचेभन्दा राम्रो प्रदर्शन गर्यो। जुन चुनावमा गर्भपतनको अधिकारको सबैभन्दा महत्वपूर्ण मुद्दा थियो।

त्यसमाथि डेमोक्रेटिक पार्टीमा उनलाई चुनौती दिने पनि कोही भएन। २०२० कै जस्तो परिस्थिति बन्दा उनलाई फाइदा भयो– ट्रम्पले जिते लोकतन्त्रको अस्तित्वमाथि नै खतरा पैदा हुन्छ भन्ने डर र ट्रम्पलाई हराउन सबैभन्दा बलियो स्थानमा बाइडेन नै छन् भन्ने हिसाबकिताब।

त्यसैले यसैसाता बाइडेनले अतिवादीहरुबाट अमेरिकी स्वतन्त्रतालाई जोगाउने बाचा गरेका छन्। उनको चुनावी अभियान टोलीले सार्वजनिक गरेको एउटा भिडिओ ६ जनवरी २०२१ मा अमेरिकाका संसदमा ट्रम्प समर्थकले गरेको आक्रमणबाट सुरु हुन्छ।

‘चार वर्षअघि राष्ट्रपतिमा उठ्दा मैले भनेको थिएँ, हामी अमेरिकाको आत्मा जोगाउने लडाइँमा छौँ। अझै पनि हामी त्यही लडाइँमा छौँ। यो आत्मसन्तुष्ट हुने समय होइन। त्यसैले म फेरि चुनावमा उठ्दैछु। आउनुस्, काम सम्पन्न गरौँ। मलाई थाहा छ, हामी सक्छौँ,’ बाइडेनले भने।

ह्वाइट हाउसमै रहिराख्न बाइडेनले युवा र अश्वेत मतदाता, त्यसमा पनि खासगरी महिला र निम्न वर्गका मिडवेस्टर्न मतदाता तथा असन्तुष्ट रिपब्लिकनबीच गठबन्धन गराउनुपर्ने हुन्छ। जसले २०२० मा जित्न उनलाई सघाएका थिए। बर्नी स्यान्डर्स र अधिकांश वामपन्थी डेमोक्रेटिकहरुले उनलाई नै समर्थन गरिरहेका छन्। तर, आफ्नो दोस्रो कार्यकाल सकिँदा ८६ वर्ष पुग्ने बाइडेनप्रति मतदातामा सन्देह छ। जुन उमेर अमेरिकी पुरुषको औसत आयुभन्दा एक दशक बढी हो।

४४ प्रतिशत डेमोक्रेटिक मतदाता चुनावमा उठ्नका लागि बाइडेन ज्यादा बुढो भएको बताउँछन्। तथापि त्यही सर्वेक्षणले उनलाई ट्रम्पभन्दा अगाडि देखाएको छ। ३५ प्रतिशत रिपब्लिकन पनि ट्रम्प उम्मेदवार बन्न अधिक वृद्ध भइसकेको बताउँछन्।

रोयटर्स÷इप्सोस सर्वेक्षणले देखाएअनुसार बहुसंख्यक मतदाता बाइडेन र ट्रम्प दुवै उम्मेदवार नबनून् भन्ने चाहन्छन्। तर, दुवैलाई हटाउन कठिन हुने भएकाले मतदाताले उनीहरुलाई रोज्नुपर्ने हुनसक्छ। राष्ट्रपति पदमा आसीन भएको फाइदा बाइडेनलाई छ भने ट्रम्पको आफ्नो पार्टीको ग्रासरुटमा फलामे पकड छ।

रिपब्लिकन नेसनल कमिटीका पूर्वअध्यक्ष माइकल स्टिल भन्छन्, ‘दुवै पार्टीले चुनावमा केही फरक मुद्दा नउठाई अमेरिकाले के गर्ने? अहिले आआफ्नो पार्टीको आधार कसरी कायम राख्ने, स्वतन्त्र मतदाता र युवाहरुलाई चुनावमा कसरी भाग लिन लगाउने भन्ने कुरा चुनौती बनेको छ, जसप्रति उनीहरु उत्साही छैनन्।’

‘अहिले अमेरिकाको राजनीतिमा प्रेरणादायी कुरा केही पनि छैन,’ उनले भने। 

राष्ट्रपति बिल क्लिन्टनका पूर्वसल्लाहकार बिल ग्याल्स्टन भन्छन्, ‘मलाई त पहिल्यैदेखि २०२० कै खेल दोहोरिन्छ भन्ने थियो। यसप्रति ज्यादा उत्साह त छैन तर अन्त्यमा मानिसहरुले एउटा पक्ष दह्रोगरी रोज्नेछन्। र, कम मत खस्छ भन्ने पनि मलाई लाग्दैन।’

सांस्कृतिक र जातिगत रुपमा अमेरिका विविध हुँदैछ। तर, सँगसँगै अमेरिका बुढो पनि हुँदैछ। सन् २००० यता राष्ट्रिय मध्यस्थ उमेर ३.४ वर्षले बढिसकेको छ। ब्रुकिङ्स इन्स्टिच्युसनका अध्येता समेत रहेका ग्याल्स्टन भन्छन्, ‘अझै पनि ५० मुनि वा अझ ३० मुनिका भन्दा ५० नाघेकाहरुले ज्यादा प्रतिशत भोट हाल्छन्। जब युवा पुस्ताले जनसंख्याअनुरुप भोट हाल्न थाल्छ तब मात्रै त्यो पुस्ता निर्णायक हुनेछ।’

२०१६ को हिलारी क्लिन्टनविरुद्ध ट्रम्प र २०२० को बाइडेनविरुद्ध ट्रम्पपछि यी दुई नेताबीचको दोहोरिएको प्रतिस्पर्धा यस्तो तेस्रो लगातार निर्वाचन हुनेछ, जहाँ मतदाताले एउटा उम्मेदवारप्रति आकर्षित भएर होइन, अर्को उम्मेदवार मन नपरेर निर्णय गर्नेछन्।

लेखक तथा सर्वेक्षक जोन जग्बी भन्छन्, ‘रिपब्लिकनहरुमा बाइडेनप्रति घृणा छ, डेमोक्रेटहरु ट्रम्पलाई शैतानवको अवतार मान्छन्। ठूलो हिस्सा अर्को पक्षको उम्मेदवारलाई घृणा गर्छन्। त्यसले दुवै पक्षमा ज्यादा मतदान गराउन मद्दत गर्छ। बाइडेनलाई दबाब छ। उनी शारीरिक रुपले हुर्रिन, ठेस लाग्न हुँदैन। बोली लर्बराउनु हुँदैन। यो निकै ठूलो दबाब हो।’

फेरि पनि बाइडेन र ट्रम्पबीच नै प्रतिस्पर्धा हुने हो भने सन् २०२६ मा आफ्नो २५० औँ जन्मदिन मनाउँदै गर्दा अमेरिकासँग एक जना पनि महिला राष्ट्रपति हुने छैन। अश्वेत राष्ट्रपति पनि मात्र एक जना हुनेछन्। महिला नेता चुन्ने अस्ट्रेलिया, बेलायत, फिनल्यान्ड, जर्मनी, न्युजिल्यान्ड र अरु थुप्रै मुलुकहरुहरुको तुलनामा यो निकै नराम्रो देखिन्छ। 

ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवारमा महिलालाई चुन्न सक्छन्। सम्भावित उम्मेदवारमा निक्की हेलीको नाम छ, जो राष्ट्रसंघमा पूर्वअमेरिकी राजदूत र रिपब्लिकन पार्टीमा ट्रम्पको प्रतिस्पर्धी पनि हुन्। बाइडेनको उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस नै हुनेछिन्।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा इतिहास विषयकी लेक्चरर तथा द फेमिनिस्ट रिभोलुसन पुस्तककी लेखक बोनी मोरिस भन्छिन्, ‘एउटा रोचक कुरा, बाइडेनको उमेर र उनको सम्भावित कमजोरीप्रतिको चिन्ता हेर्दा उनी निर्वाचित भएपछि बिरामी भए भने अश्वेत महिलाले राष्ट्रपति पद सम्हाल्ने सम्भावना रहन्छ।’

बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने टुंगो भने लागिसकेको छैन। केही रिपब्लिकनहरुले ट्रम्पको राजनीति र अशिष्ट व्यवहार तथा एकपछि अर्को हारप्रति चिन्तित रहेको बताएका छन्। डेसान्टिसले अहिलेसम्म औपचारिक रुपमा चुनावी अभियान सुरु गरिसकेका छैनन्। ट्रम्पले आफ्नै पूर्वउपराष्ट्रपति माइक पेन्स, सिनेटर टम स्कट र अरुबाट पनि चुनौती सामना गर्न सक्छन्।

आपराधिक अभियोग लाग्ने एक मात्र पूर्वराष्ट्रपति बनेका ट्रम्प अलि कमजोर छन्। किनभने उनीमाथि अनेक अनुसन्धान भइरहेका छन्। यसैसाता बाइडेनले चुनावी अभियान घोषणा गरिरहँदा ट्रम्प भने बलात्कार आरोपका विषयमा मुद्दा खेपिरहेका छन्। लेखक ई जिन क्यारोलले १९९० को दशकमा आफूलाई डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले बलात्कार गरेको आरोप लगाएकी छन्। 

पेन्सलभेनिया राज्यसभामा निर्वाचित हुने पहिलो एलजीबीटीक्यू तथा अश्वेत व्यक्ति माल्कम केन्याटा भन्छन्, ‘यो चुनावमा स्पष्ट फरक देखिनेछ। किनभने ट्रम्प पनि उम्मेदवार हुनेछन्। त्यसो हुँदा दुई जना यस्ता उम्मेदवार हुनेछन्, जसको कामको अभिलेख हुनेछ। त्यो हेरेर बाइडेनलाई भोट हाल्दा दुःख मान्नु पर्दैन। म खुसी हुँदै, उत्साहपूर्वक बाइडेनलाई भोट हाल्छु। किनभने उनले थुप्रै उपलब्धि हासिल गरेका छन्। साँच्चै भन्दा उनको उमेरप्रति मलाई कुनै सरोकार छैन। मेरोजस्तो काम गरेर पेट पाल्ने परिवारलाई के फरक पर्छ भन्ने कुरामा मात्र मलाई सरोकार छ।’

(द गार्डियनबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .