विचार


वाग्नर विद्रोहले अझ लम्ब्यायो पुटिन-सत्ताको आयु

वाग्नर विद्रोहले अझ लम्ब्यायो पुटिन-सत्ताको आयु

लियोनिड रागोजिन
असार १५, २०८० शुक्रबार १८:५८, काठमाडौँ

जुन २४ मा रोस्तोव अन दोनस्थित रुसी सेनाको मुख्यालय छाड्नुअघि वाग्नर ग्रुपका प्रमुख यव्गेनी प्रिगोजिनले भनेका थिए– हाम्रो शक्ति प्रदर्शनले सिंगो देशलाई झड्का दिएको छ। सो भवनको परिसरबाट उनका भाडाका सैनिकहरु बाहिरिएपछि सोही दिन राष्ट्रपति पुटिनले भनेको ‘सशस्त्र विद्रोह’को पटाक्षेप भएको थियो। 

निश्चय नै प्रिगोजिनको कामले मुलुकलाई झड्का दियो। तर, सायद उनले सोचेकोजस्तो झड्का थिएन त्यो। त्यो दिन रुसमा साँच्चै गृहयुद्ध हुन्छ कि भन्ने डर स्पष्ट देखिन्थ्यो। किनभने वाग्नर ग्रुपको बख्तरबन्द सवारी मस्कोतिर हुइँकिरहेका थिए। रुसको अन्नभण्डार मानिने मस्कोभन्दा दक्षिणतिरको हिस्साबाट मुलुकका उत्तरी सहरहरुमा खाद्यान्न आपूर्ति हुने मार्ग अवरुद्ध हुने खतरा पनि उत्तिकै थियो। क्रेमलिनलाई तर्साउने अर्को कुरा युक्रेनको अग्रमोर्चामा हतियार आपूर्तिको मार्ग समेत बिथोलिने थियो।

त्यसको दुई दिनपछि प्रिगोजिन फेरि देखा परे। यसपटक उनले आफ्नो ‘न्यायको यात्रा’ लाई सैन्य कूको प्रयास नभई उच्च सैन्य नेतृत्वको विरोध मात्र भएको बताए। आफूले सो कदम चालेर आफ्नो निजी सेनालाई भंग गर्ने रक्षा मन्त्रालयको प्रयासलाई रोक्न सफल भएको उनको भनाइ थियो। वाग्नर अब बेलारुसमा सर्ने भएको छ र त्यहीँबाट सञ्चालनमा आउने भएको छ।

निस्सन्देह मस्कोतर्फ वाग्नरको यात्राले रुसको आफ्नै भूमिको रक्षामा देखिएको कमजोरीलाई उदांगो पारिदिएको छ। यदि वाग्नरको ठाउँमा कुनै विदेशी सेना, युक्रेनी सेना नै भनौँ, ले यो सैन्य कारबाही गरेको हुन्थ्यो भने त्यसले खासै प्रतिरोधको सामना नगरी विशाल रुसी भूभाग कब्जा गर्ने थियो।

यसले रुसको राजनीतिक कमजोरीहरुलाई पनि उदांगो पारिदिएको छ। आफ्ना सबै वक्तव्यहरुमा पुटिनले यो घटनालाई विद्रोह र देशद्रोह भने। र, त्यस्तो अपराध गरिकन पनि कमसेकम अहिलेका लागि प्रिगोजिनले छुट पाउने देखिन्छ।

रुसी अधिकारीहरुले वाग्नर विद्रोहीमाथिको आरोप फिर्ता लिएका छन्। सो समूह पनि जस्ताको तस्तै रहने देखिन्छ। बिनादण्ड प्रिगोजिन जोगिनुले पुटिन कमजोर देखिएका छन्।

यही कथित कमजोरीले गर्दा थुप्रै पश्चिमा टिप्पणीकारहरुले यो घटनालाई पुटिनको अवश्यंभावी पतनको संकेतका रुपमा व्याख्या गर्न थालेका छन्। रुसका विपक्षी नेता मिखाइल खोदोर्कोव्स्कीले त यो कू प्रयासको अनुमोदन पनि गरे। भलै, यो युद्ध अपराधको आरोप लागेका व्यक्तिले गरेको विद्रोह थियो।

तर, साधारण रुसीहरु र रुसी सम्भ्रान्तहरुले पनि यसलाई बिल्कुल फरक तरिकाले हेर्न सक्छन्। यसको सम्बन्ध पुटिनको शासनको आधारसँग जोडिएको छ। जसले यति दीर्घकालसम्म उनको शासनलाई टिकाइराखेको छ।

रुसलाई महान् बनाउने पुटिनको दृष्टिकोणका कारण जनताले गएको दुई दशकमा उनलाई समर्थन गरेका होइनन्। बरु, युद्ध आफ्नै घरमा आइपुग्ला भन्ने वास्तविक भयका कारण उनीहरुले पुटिनलाई साथ दिएका हुन्। 

यस्तो डर खागसरी १९९० को दशकका दुई चेचेन युद्धमा महसुस भएको थियो। विशेषतः जब चेचेन लडाकुहरुले रुसी सहरहरुमा आक्रमण गरे, तब। र, चेचेन्यालाई दबाउने पुटिनको क्षमता उनको अति लोकप्रियताको प्रमुख कारण बन्यो।

२०१४ मा युक्रेनको मैदान क्रान्तिका क्रममा पनि उनले चलाखीपूर्वक उथलपुथल र गृहयुद्धको त्यही डरलाई हतियार बनाए। युक्रेनको दुर्दशा रुसमा शासन परिवर्तनको परिकल्पना गरिरहेका रुसीहरुका लागि चेतावनी बन्यो। जबकि रुसकै प्रत्यक्ष र गुप्त सैन्य हस्तक्षेपले युक्रेनको दुर्दशा निम्तिएको थियो।

पुटिनको शासनको मुख्य आधारस्तम्भ भनेको उनको कुनै विकल्प नहुनु हो। रुसमा एउटा भनाइ नै प्रसिद्ध छ– ‘पुटिन नभए को त?’ यो भनाइको पछाडिको अभिप्राय हो– पुटिनको विकल्प जोसुकै आए पनि ऊ झन् खराब हुनेछ।

प्रिगोजिनले ज्यानमारा गुण्डाको छवि बनाएका छन्। आफूले देशद्रोही ठानेका मान्छेहरुलाई उनले पिटीपिटी मार्ने गर्छन् भन्ने आरोप छ। पुटिनका विकल्प कस्ता हुन सक्छन्, उनी एक उदाहरण हुन्।

यहाँनेर के बुझ्न जरुरी छ भने रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेर पनि बहुसंख्यक रुसीहरु अहिलेसम्म सामान्य जीवन बिताइरहेका छन्। उनीहरुको जीवनस्तरलाई युरोपेली संघका अलि गरिब मुलुकको जीवनस्तरसँग दाँज्न सकिन्छ।

प्रिगोजिनको विद्रोहले क्षणिक रुपमा पुटिनलाई कमजोरजस्तो देखायो होला। तर, तथ्य के हो भने गृहयुद्धको वास्तविक खतरा टरेको छ। र, सबैभन्दा महत्वपूर्ण कुरा यही हो। वर्तमान शासनप्रति मोहभंग गर्नुको सट्टा यो घटनाले वास्तवमा सिंगो मुलुकलाई पुटिनका पछाडि एकताबद्ध पार्न सक्छ।

यो कुरा पुटिनले बुझेका छन्। त्यसैले गतसाताको घटनाक्रमलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा उनले होसियारी अपनाएको देखिन्छ। उनको भाष्य यस्तो छ : हाम्रो सम्मानित सहयोगी प्रिगोजिनलाई उत्तेजना र महत्वाकांक्षाले बिगार्‍यो। उनी दुष्ट बने। उनले आफ्ना वफादार सैनिकहरुलाई झुक्याएर विद्रोहमा उतारे। तर, राष्ट्रिय एकताका कारण अन्ततः सत्यको जित भयो र शान्ति स्थापना भयो। 

पुटिन र अन्य उच्च अधिकारीहरुले प्रिगोजिनले विदेशी गुप्तचर एजेन्सीहरुको स्वार्थमा काम गरेको हुनसक्ने बताइसकेका छन्। विद्रोहीहरुलाई छुट दिएर पुटिनले आफूलाई जिम्मेवार र धैर्यवान् नेताका रुपमा प्रस्तुत गरेका छन्। उनी अनावश्यक रक्तपातबाट बच्न चाहेको र नागरिकहरुको रक्षा होसियार रहेको देखियो। उनले विपरीत कदम चालेको भए यसरी माफी दिनु पश्चिमा शत्रुहरुको विजय हुन्थ्यो भनेर प्रचार गरिन्थ्यो।

खोदोर्कोव्स्कीजस्ताले प्रिगोजिनको जयजयकार गर्दा रुसीहरुले किन वास्ता गरेनन् भन्ने यसैबाट बुझ्न सकिन्छ। बरु, त्यसले क्रेमलिनको भाष्यलाई अझ बल पुर्‍यायो। जसले रुसलाई घेराबन्दीमा परेको किल्लाका रुपमा चित्रित गर्छ, जो आफूभन्दा निकै शक्तिशाली दुश्मन पश्चिमसँग अस्तित्वको लडाइँ लडिरहेको छ।

निश्चय नै पुटिनको शासन अनन्तकालसम्म टिक्ने छैन। ढिलोचाँडो यो ढल्नेछ। तर, रुसभित्रै सशस्त्र द्वन्द्व हुँदा उनको शासनको आयु घट्दैन, अझ लम्बिन्छ।

पुटिनको शासन शान्ति र समृद्धिका बेला सबैभन्दा बढी कमजोर हुने गरेको छ। २०११–१२ मा मस्कोमा भएको प्रदर्शन पुटिनको शासनकालको सबैभन्दा ठूलो प्रदर्शन थियो। त्यसपछि भएका हरेक घटनाक्रम, खासगरी युक्रेन युद्ध ती घटनाप्रति पुटिनको प्रतिक्रिया मात्र हो।

युक्रेनमा प्रलयकारी पराजय भए त्यसले उनको शासन अन्त्यको सुरुवात गर्नसक्छ (र, सायद प्रिगोजिनजस्ता कुनै व्यक्ति सत्तामा आउँछ)। तर, संवादद्वारा युद्धको अन्त्य र त्यसपछिको शान्तिपूर्ण अवधिले रुसमा राजनीतिक सुधारको अवस्था उत्पन्न गर्ने सम्भावना अत्यधिक छ।

(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .