विचार


आठौँ वर्षमा नेपालखबर

आठौँ वर्षमा नेपालखबर

नेपालखबर
असार २३, २०८० शनिबार ७:४०, काठमाडौँ

नेपालखबर डटकम शनिबारबाट आठौँ वर्षमा प्रवेश गरेको छ। २४ असार २०७३ (८ जुलाई २०१६) मा सञ्चालनमा आएको नेपालखबरले सात वर्षको अवधिमा नेपालमा डिजिटल मिडियालाई विश्वसनीय र व्यावसायिक रुपमा स्थापित गर्न आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेको छ। नयाँनयाँ खबर र श्रृंखलाबद्ध रिपोर्टहरूसँगै हामीले गम्भीर विषयमा विश्लेषणहरू प्रस्तुत गरेका छौँ।

यस सन्दर्भमा पाठक–दर्शक र शुभेच्छुकहरूबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्न उर्जा दिइरहेको छ। 

सात वर्षअघि डिजिटल सञ्चारमाध्यमका रुपमा नेपालखबर डटकम सञ्चालनमा आएको थियो। नेपाल र नेपाली सन्दर्भका सामग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा नेपालखबरले राम्रो सफलता पाएको हाम्रो विश्वास छ। 

आठौँ वर्ष प्रवेशको यो अवसरमा हामी ती सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ, जसले आफ्नो संस्था र देशको अर्थतन्त्र धर्मराएको अवस्थामा समेत हामीप्रति आफ्नो विश्वास र सहयोगलाई निरन्तरता दिए।

नेपालखबरको दायरा फैलाउँदै जाने क्रममा हामीले केही महिना अघिबाट अंग्रेजी संस्करण सञ्चालनमा ल्याएका छौँ भने मल्टिमिडिया सामग्री बढाउँदै जाने हाम्रो तयारी छ। नेपालखबरको हङकङ संस्करणको सफलताले हामीलाई नेपालीको बाक्लो उपस्थिति रहेका अन्य देशमा फैलिन उत्प्रेरित गरिरहेको छ। 

निर्वाचन होस् वा अन्य आन्तरिक राजनीतिक परिवर्तन, नेपालको विदेश सम्बन्ध होस् वा भूराजनीतिमा भइरहने फेरबदल, नेपालखबरले आफ्नो प्रस्तुतिमा सधैँ विश्वसनीयता र सन्तुलन कायम राख्दै आएको छ।

राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबरको प्रतिबद्धता दोहोर्‍याइरहनु पर्दैन। हाम्रो सात वर्षको यात्राले साबित गरिसकेको छ : सत्य-तथ्यमा आधारित सन्तुलित पत्रकारितामा हामी कसैसँग सम्झौता गर्दैनौँ।

पाठकका सुझाव र प्रतिक्रियालाई हामीले सधैँ मार्गदर्शनका रुपमा लिएका छौँ, जसले नेपालखबरलाई अझै परिष्कृत र बलियो बनाउने हाम्रो विश्वास छ।

नयाँनयाँ खबर र विश्लेषणसहित नेपालखबर सधैँ तपाईंसँगै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .