विचार


साम कोवानको टिप्पणी : चिनियाँ सेनाले मुस्ताङमा बमप्रसादको हत्या गर्दा बीपीले देखाएको त्यो चतुरता

साम कोवानको टिप्पणी : चिनियाँ सेनाले मुस्ताङमा बमप्रसादको हत्या गर्दा बीपीले देखाएको त्यो चतुरता

साम कोवान सुरक्षा मामिला अध्येता हुन्


साम कोवान
साउन २, २०८० मंगलबार २१:४६,

सीताराम बरालको आलेखमा मेरो टिप्पणी :

चीनले नेपाललाई उपलब्ध गराएको ५० हजार रुपैयाँमा बमप्रसाद बास्कोटाकी पत्नी पूर्ण हकदार हुन् भन्नेमा मेरो समर्थन छ। किनभने उनले पति गुमाएकी हुन्। तर, चीन र नेपालले आदानप्रदान गरेका पत्रहरुमा कहीँ पनि सो रकम उनलाई नै दिनका लागि भनेर उल्लेख गरिएको छैन। हामी त्यसको अनुमान लगाउन सक्छौँ तर स्पष्ट रुपमा उल्लेख गरिएको भने छैन।

उदाहरणका लागि तपाईंले उधृत गरेको २४ जुलाई १९६० मा बीपी कोइरालाले चाउ एनलाइलाई लेखेको पत्रमा भनिएको छ :

‘मुस्ताङ इलाकाको सीमा दुर्घटनाबाट हुन गएको भौतिक क्षतिको क्षतिपूर्तिस्वरुप हामी (नेपाल) ले माग गरेको रु. ५० हजार रकम जुन शीघ्रतासाथ चीन सरकारले चलान गर्यो, त्यसका लागि म महामहिम (चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ) लाई धन्यवाद प्रकट गर्न चाहन्छु। हाम्रो दुई देशबीचको मैत्रीलाई कायम गर्न र अझ सुदृढ गर्न तपाईंको इच्छाको प्रमाणको रुपमा श्री ५ को सरकार क्षतिपूर्ति तिर्ने यस तत्परताको सराहना गर्दछ।’

पूरै पत्र मेरो पुस्तक ‘एसेज अन नेपालः पास्ट एण्ड प्रिजेन्ट’ को पृष्ठ २७८ मा छ।

यी हुन् सीताराम बरालका ती दुई खोज–रिपोर्ट :

तपाईंको आफ्नै लेखमा उधृत भएअनुसार चिनियाँ प्रधानमन्त्रीले पठाएको पत्रमा भनिएको छ, ‘जुलाई ७ तारिख (२४ असार २०१७) मा पठाउनु भएको पत्रमा महामहिम (प्रधानमन्त्री बीपी) ले चीन सीमाना (मुस्ताङ) मा भएको घटनामा नेपाललाई भएको हानिनोक्सानीका लागि ५० हजारको क्षतिपूर्तिको माग गर्नुभएको रहेछ।’

कृपया फेरि पनि ध्यान दिनुहोला, म सो रकम बमप्रसादकी पत्नीले पाउनुहुँदैनथ्यो भनिरहेको छैन। मेरो कुरा यति मात्रै हो, सो रकम उनैलाई दिनका लागि हो भनेर उल्लेख गरिएको कुनै दस्तावेज मैले फेला पार्न सकिनँ।

दोस्रो, तपाईंको आलेखको यो उधृतांशमा म टिप्पणी गर्न चाहन्छुः ‘माफी र क्षतिपूर्तिपछि नेपालमा बढिरहेको चीनप्रतिको आक्रोश पनि साम्य भयो। नेपाल–चीन सम्बन्ध पूर्ववत् सामान्य स्थितिमा फर्कियो।’

म के स्पष्ट पार्न चाहन्छु भने मेरो जानकारीअनुसार काठमाडौँको सडकमा सबैभन्दा बढी आक्रोश पैदा गर्ने मुद्दा भनेको बमप्रसाद चीनकै भूमिमा मारिएका थिए भन्ने चीनको निरन्तर र अडिग दाबी थियो। यस विषयमा चीनले अलिकति पनि सम्झौता गरेन। यही कुराले काठमाडौँबासीलाई सबैभन्दा ज्यादा आक्रोशित बनाएको थियो। चीनले माफी माग्ने र क्षतिपूर्ति दिने काम त पत्र आदानप्रदान हुनेबित्तिकै गरेको थियो। तर, त्यसपछि पनि जनता सडकमा थिए।

तेस्रो, यो वाक्यांशमा मेरा आँखा अडिए, ‘यद्यपि, सरकारले लीलादेवीलाई २०५१ असारमा ५० हजार रुपियाँ उपलब्ध गराएको थियो। तर, त्यो रकम क्षतिपूर्ति थिएन, बमप्रसादले सेनामा सेवा गरेवापत प्राप्त गर्ने ‘उपदान’ वापतको रकम थियो।’

सो घटना १९६० को थियो। जुनबेला सुबेदारसहित शाही नेपाली सेनाका सैनिकहरुलाई साह्रै कम तलब दिइन्थ्यो। त्यसैले बमप्रसादकी पत्नीलाई ५० हजार रकम उपदानमा दिएको थाहा पाउँदा म चकित भएँ। मैले भर्खर १९६० को ५० हजार अहिले कति होला भनेर मुद्रास्फितिको समेत हिसाब गरिहेरेँ। त्यो निकै ठूलो रकम हो। यो कुरा यति नै।

चौथो, तपाईंले बमप्रसादको टोलीका सबैलाई चिनियाँहरुले कब्जा गरेको र ६ जनालाई छाडेको उल्लेख गर्नुभएको छ। मलाई त्यस्तो लाग्दैन। मेरो पुस्तकको पृष्ठ २७२ को सिरानमा हेर्नुहोला। ती ६ जना सबैलाई तक्मा दिइनुपर्ने थियो। सो घटना अपरान्ह अबेर घटेको थियो। तर, ती ६ जना घोडामा भाग्न सफल भए। अँध्यारोमा यात्रा गर्दै उनीहरु जोमसोम पुगे। त्यसपछि घटनाको सम्पूर्ण विवरण उनीहरुले भारतीय चेकपोस्टको रेडियोमार्फत काठमाडौँसम्म पठाउन सके। यसले काठमाडौँलाई पहलकदमी लिने र चीनलाई दुई दिनसम्म रक्षात्मक स्थितिमा राख्ने मौका दियो।

त्यस्तै, तपाईंले आलेखमा भन्नुभएको छ, ‘सेनाको बलमा राजा महेन्द्रले १ पुस २०१७ मा बीपीमाथि कू गरे। जानकारहरु के बताउँछन् भने चीनले क्षतिपूर्तिस्वरुप दिएको रकम बमप्रसादको परिवारलाई नदिएकोमा सेनाभित्र बीपीप्रति असन्तुष्टि बढेको थियो। यही कारण पनि बीपीविरुद्धको कू मा सेनाको साथ पाउन राजा महेन्द्रलाई सहज भयो कि!’ यसप्रति मैले प्रश्न उठाउनै पर्ने हुन्छ।

को हुन् ती जानकारहरु? उनीहरुले बोलेको साँचो होइन। उनीहरुले जे भने, त्यो बकवास हो। १९६० मा नेपाली सेनाका उच्च अधिकारीहरु प्रजातन्त्रको विचारलाई नै घृणा गर्थे। र, प्रजातन्त्रको पक्षमा खडा भएका बीपी र अरु सबैलाई उनीहरु घृणा गर्थे। यही कारणले राजा महेन्द्रले कू मा सेनाको समर्थन सहजै प्राप्त गरे। सम्भवतः मुस्ताङ काण्ड हुनुभन्दा अगाडिदेखि नै उनीहरुले कूको तयारी गरिरहेका थिए। मेरो पुस्तकको पृष्ठ १९३ देखि १९८ सम्म हेर्नुहोस्।

अन्त्यमा, तपाईंको आलेखसँग असम्बन्धित दुई कुरा भन्न चाहन्छु।

पहिलो, सीमा रेखाको दुवैतिर २० किलोमिटरसम्म सेना र हतियार नलैजाने सम्झौताविपरीत जुन १९६० मा नेपालको उत्तरी सीमानमा भेला भएर चिनियाँहरु के गरिरहेका थिए? १९६० को शरदसम्म सीआईए प्रायोजित खम्पा लडाकुहरु सिक्किमस्थित उनीहरुको शिविरबाट मुस्ताङ आउने क्रम सुरु भएको थिएन। उनीहरुलाई पहिलो पटक हतियार आपूर्ति अप्रिल १९६१ मा गरिएको थियो। र, उनीहरुको पहिलो सीमा पार आक्रमण सेप्टेम्बर १९६१ मा भएको थियो। सिमानामा चिनियाँ सेनाको तैनाथीको तह कस्तो थियो भन्नेबारे मेरो पुस्तकको पृष्ठ २७५ को सिरानका चार पंक्ति हेर्नुहोला। यो प्रश्नको सम्भावित जवाफबारे मेरो विचारहरुका लागि पृष्ठ २९२–२९४ हेर्नुहोला।

दोस्रो, यो घटनाको त्यो पक्षप्रति म तपाईंको ध्यान आकृष्ट गर्न चाहन्छु, जसप्रति निकै कम नेपाली टिप्पणीकर्ताहरुले टिप्पणी गरेका छन्। मैले पृष्ठ २७५ मा लेखेको विवरण होसियारीपूर्वक पढ्नुहोला। चीनले कब्जा गरेका कैदीहरुलाई चिनियाँ भूमिमै समातिएका हौँ भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न शारीरिक रुपले नै बाध्य पारिएको लगभग पक्का छ। ‘अप्रत्यक्ष धम्की’ ख्याल गर्नुहोला। यदि त्यो सूचना बीपीले सार्वजनिक गरेको भए के हुन्थ्यो, कल्पना गर्नुस् त! काठमाडौँ आक्रोशले उम्लिन्थ्यो। यो घटनापछिको अवधिमा बीपीले राजनेताजसरी कति चतुरतापूर्वक काम गरे भन्ने कुरा उनले देखाएनन्।

१९६० को अन्त्यमा राजा महेन्द्रले बेलायतको राजकीय भ्रमण गर्नुभन्दा ठिक अघि बेलायती राजदूतले लन्डन पठाएको रिपोर्टमा बीपी र उनको नयाँ सरकारबारे यसरी उल्लेख गरेका छन्:

‘अत्यन्त पिछडिएको मुलुकमा आधुनिक शासन व्यवस्था निर्माण गर्न र सामाजिक तथा आर्थिक सुधार गर्न खोज्दा आइपरेका कठिन समस्याहरुलाई सम्बोधन गर्न सरकारले स्वागतयोग्य संकल्प देखाएको छ। नेपालको भविष्यका लागि यही सरकार सबैभन्दा आशा हो भन्नेमा कुनै शंका छैन।’

२०१७ पुस १ गतेको कदम चालेर महेन्द्र र उनको सेनाले त्यो आशा ध्वस्त पारिदिए।

(सुरक्षा मामिला अध्येता साम कोवान ‘एसेज अन नेपालः पास्ट एण्ड प्रिजेन्ट’ पुस्तकका लेखक हुन्)  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .