विचार


हरि शर्माको विश्लेषण : दिल्ली खुसी बनाउन नेपालमा आयात गरिँदैछ धर्म–राजनीति

‘धर्मनिरपेक्षता चयनमा भारत खुसी नहुँदा नेपालले नाकाबन्दी बेहोर्नुपर्‍यो’
हरि शर्माको विश्लेषण : दिल्ली खुसी बनाउन नेपालमा आयात गरिँदैछ धर्म–राजनीति

हरि शर्मा भन्छन्– धर्मनिरपेक्षता चयनमा भारत खुसी नहुँदा नेपालले नाकाबन्दी बेहोर्नुपर्यो (तस्बिरः जेवी पुन)


जेवी पुन मगर
असोज २, २०८०, मंगलबार , काठमाडौँ

दस वर्ष नेपाली समाजमा उथलपुथल ल्याएको शस्त्रधारी दल नेकपा माओवादीको सहयोगमा ०६२–६३ को जनआन्दोलनको राप र ताप उत्कर्षमा थियो।

शताब्दियौँ लामो विरासत बोकेको राजसंस्थाका प्रतिनिधि ज्ञानेन्द्र शाहबाट राजमुकुट र राजदण्ड खोसिँदै थियो। प्रचण्ड तापले रन्किएको माओवादीलाई स-सम्मान संसदीय सिंहासनमा विराजमान गराइँदै थियो। सीमान्त समुदाय, वर्ग, लिङ्ग र क्षेत्रका जनताको भाग्य लेखनको प्रारुप तयार पारिँदै थियो। यसको मुख्य अभिभारा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको काँधमा थियो।
 

समय यस्तो थियो, अधिकार र क्रान्तिभन्दा साना नारा कसैका सुनिँदैनथे। त्यस्तो अधिकार स्थापित गर्न अनि क्रान्ति सम्पादन गर्न भन्दै विश्वका मान्छे काठमाडौँ खाल्डोमा ओर्लिएका थिए। राजधानीका सभागृहहरुमा विश्व बजारमा तयार संघीयता, समावेशी–समानुपातिक प्रणाली, गणतन्त्र, आरक्षण तथा सकारात्मक विभेद र धर्मनिरपेक्षताका मोडेलहरुको हाट लागेको भान हुन्थ्यो। मुलुकले फर्लक्क कोल्टे फेर्न थालेको त्यसबखतको समय–साक्षी मजस्ता सञ्चारकर्मीहरुलाई क्रान्ति सम्पादन गर्ने अभिभाराको दस्तावेजीकरण गर्न भ्याइनभ्याइ थियो।

सहरहरुमा फैलिएका यी हाटहरुमा विज्ञ–विधाताहरुको बोलीमा लोली मिलाउँदै नेताहरुको मुखारविन्दबाट ‘पहाडे बाहुन–क्षेत्रीको हातबाट सत्ता सीमान्त समुदायको हातमा लगिने’ परिचर्चा चलिरहेका हुन्थे। यस्तो परिचर्चाले सत्तासँग नजिक रहेको भनिएको एउटा ठूलो वर्ग भयका कारण चाइँचुइँ नगरी बसेको थियो। तारन्तार आफूहरुमाथि भइरहेको शब्दाक्रमणले ऊ अवाक् देखिन्थ्यो। समाजले धेरै टाठाबाठा भनी चिनेकाहरु अपमानबोधले लत्रिएका थिए। 

द्वन्द्व निरुपणको यस्तो अभ्यासले के देशव्यापी छलफलमा भनिएजस्तो समाजलाई सहमतिको चौराहामा बाँध्ने सामर्थ्य राख्दछ? मनमा उठेको यो जिज्ञासाको समन गर्न म राजनीतिशास्त्री हरि शर्मालाई भेट्न सोसल साइन्स बहाःको बत्तिसपुतलीस्थित उनकै कार्यकक्षमा पुगेको थिएँ। त्यसबखत उनका थुप्रै कुरामध्ये धर्मसम्बन्धी उनले गरेको एउटा विश्लेषण मेरा निम्ति कान ठाडो पार्नेखालको थियो।

शर्माले भनेका थिए, ‘हेरिराख्नू, अहिले उठिरहेका क्षेत्रीय र जातीय मुद्दा बढेर कालान्तरमा धर्म बखेडामा रुपान्तरित हुन्छ। त्यो समय हामीले सोचेभन्दा डरलाग्दो हुनेछ।’

नेपालको नयाँ संविधान बनेको आठ वर्षपछि अहिले हेर्दा लाग्छ– हरि शर्माको प्रक्षेपण सही हुन गएको छ। अहिले धर्म–राजनीतिले नेपाली बहुसांस्कृतिक समाजको ढाँचा नै बिगार्ने हो कि भन्ने चिन्ता बढेर गएको छ। बहुसंख्यकको असन्तुष्टिको झिल्कोमाथि भारतको हिन्दूत्ववादी संगठनले पेट्रोल खन्याउन थालेपछि यसको भयावहता झन् बढेर गएको विश्लेषण नेपालखबरले चलाएको हिन्दूत्व बहस शृंखलामा पढिसक्नुभएको छ। धरानमा भएको धार्मिक वितण्डाले झण्डै दंगाको स्वरुप लिएको घटना नसेलाउँदै सर्लाहीको सदरमुकाम मंगलवामा त्यस्तै उपद्रव मच्चाइएको छ। 

त्यसैले यसपालिको विमर्शको यो शृंखलामा १६ वर्षअघि धार्मिक तनावको भविष्यवाणी गरेका राजनीतिशास्त्री हरि शर्मासँग बढ्दो धार्मिक अतिवादका विषयमा छलफल गरेको छु। नयाँ बानेश्वरस्थित उनकै कार्यकक्षमा करिब दुई घण्टा मैले धर्मनिरपेक्षता, हिन्दू, हिन्दूत्व र नेपाली समाजको बहुसांस्कृतिक संरचनाको संवदेनशीलतामाथि कुराकानी गरेको थिएँ।

धर्मको राजनीति बढ्दै गए त्यसले नेपाली समाज एकअर्काको अस्तित्व मास्ने द्वन्द्वमा फस्दै जाने बताउने विश्लेषक शर्माको बुझाइको आयतनले थाप्लोमाथि आइपुगेको संकटसँग सजग र सचेत रहन राज्य र समाजसँग विशेष अपेक्षा राख्दछ। विश्लेषक शर्मासँग गरिएको वार्ताबाट तयार गरिएको यो आलेखले कम्तीमा त्यही संकेत गर्दछ।

हरि शर्मा भन्छन्, ‘धर्मको राजनीति अन्धो हुन्छ। धर्मको राजनीतिमा आवेग हुन्छ। धर्मको राजनीतिमा तर्कको भाव हुँदैन। त्यसकारण हामी चनाखो हुनुपर्दछ। नेतृत्व चनाखो हुनुपर्दछ।’

हरि शर्माको विश्लेषण :

जब संविधान बनेर केही कुराहरु थिग्रिँदै थियो, त्यो बेलादेखि नै मलाई आगामी दिनहरुमा नेपाली समाजमा देखिने द्वन्द्वका रेखाहरु कसरी निरुपण होलान् भन्ने चिन्ता लागिरहन्थ्यो। त्यसमध्ये हामीले संविधानमा अंगीकार गरेको धर्मनिरपेक्षता ठूलो चुनौती हुनसक्ने मेरो आकलन थियो। विश्वव्यापी रुपमा विभिन्न आयामहरु रहेको धर्मनिरपेक्षता हाम्रो सन्दर्भमा पनि एकदमै नयाँ थियो। नेपाल धर्मनिरपेक्ष राज्य हुनुपर्छ भन्ने आवाज सन् १९९० को परिवर्तनपछि विभिन्न जातजातिका मान्छेहरुले उठाए पनि त्यो स्पष्ट सैद्धान्तिक चिन्तनका आधारमा आएको थिएन। त्यसबखत नेपाली राज्यको सार्वभौमिकता धारण गरेका राजा हिन्दू भएका कारण नेपाल पनि हिन्दू राष्ट्र थियो। 

‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘राजइच्छा नै जनइच्छा’ भन्ने एकाधिकारपूर्ण राजतन्त्रात्मक व्यवस्थाले धर्मलाई राज्यको एउटा आधार बनाएको थियो। तर यसको अर्थ धर्मनिरपेक्षताको आन्दोलनमा जनजातिहरु अग्रणी हुन् भन्ने कुरामा मैले स्पष्ट भन्नुपर्छ, मलाई यो भनाइ समस्यापूर्ण लाग्दछ। किनभने पञ्चायतकालमा भएको जनमतसंग्रहको परिणामहरु केलायौँ भने धेरैजसो पहाडे जनजाति बहुल क्षेत्रहरुबाट निर्दललाई भोट आएको थियो। पूर्व र मध्य पहाड जहाँ जनजातिहरुको ठूलो बसोबास छ, त्यहाँबाट धर्मसापेक्ष अर्थात हिन्दू राष्ट्रका नायक राजाको पक्षमा मतदान गरिएको थियो। 

पछिल्लो समय जुन किसिमका घटना धरान र मधेशका विभिन्न भागहरुमा देख्यौँ, त्यो हाम्रो समाजको धर्मप्रतिको बुझाइ र राज्यको धर्मप्रतिको दृष्टिकोणमा कताकता सामञ्जस्य नभएको र त्यसले एक किसिमको कठिन परिस्थितिहरु पनि उठ्न सक्ने मैले आकलन गरेको छु। जुन किसिमले धर्मलाई लिएर नेपाली समाजमा उथलपुथल हुनसक्ने सम्भावनाहरु देखिएको छ, विभाजनको रेखा कोर्ने सम्भावना देखिएको छ, त्यसबारे चर्चा गरौँ।

धर्म के हो, के होइन?
आफ्नो जीवन कसरी चलाउने, आफ्नो समुदाय कसरी चलाउने भन्ने कुरा धर्म होइन, रीतिरिवाज हो। रीतिरिवाजलाई धर्मसँग जोडिदिनु भएन। मानवताको हिसाबले एकले अर्काे मान्छेलाई कसरी व्यवहार गर्छ, त्यो हो धर्म। धर्मको नाममा संस्कृति र राजनीति पनि त्यसैमा घुसाउन खोजिएको छ। जबकि संस्कृति र राजनीति व्यक्तिगत इच्छाको कुरा र सामूहिक चेतनाका कुरा हुन्। भोको मान्छे देख्यो भने हिन्दूले एउटा व्यवहार र क्रिस्चियनले अर्काे व्यवहार गर्छ र? पक्कै गर्दैन। दुवैमा त्यो भोको मान्छेलाई दुत्कार्ने पनि हुन्छन्, दुवैमा त्यो भोको मान्छेलाई माया गर्ने पनि हुन्छन्। खानेपानी क्रिस्चियनलाई पनि चाहिन्छ, हिन्दूलाई पनि चाहिन्छ र मुस्लिमलाई पनि चाहिन्छ। राम्रो स्कुल सबै धर्मकालाई चाहिन्छ। सफा वातावरण जसलाई पनि चाहिन्छ। दुर्घटना हुनुमा को हिन्दू को मुस्लिम भन्ने हुँदैन। दुर्घटनाबाट बचाउन दक्ष ड्राइभर चाहिन्छ। हिन्दू ड्राइभरले चलाएको गाडी दुर्घटना हुँदा गैरहिन्दू मात्र मर्छन् भन्ने हुँदैन।

नेपालमा हामीले ‘धर्मको चरित्र के हो? स्वरुप के हो र यसको प्रभाव राजनीतिमा के हुन्छ?‘ भन्ने सैद्धान्तिक पाटो केलाएका छैनौँ। धर्मले सार्वजनिक जीवनमा बस्ने मान्छेहरुलाई व्यक्तिगत आस्थाका कारण कस्तो प्रभाव पर्छ? उसको चरित्र कस्तो हुन्छ? त्यो सैद्धान्तिक पक्ष हो। व्यावहारिक पक्षमा हेर्दा नेपालको धरातलीय यथार्थ के हो भने यहाँ दुईचार किलोमिटर हिँड्नासाथ भाषा परिवर्तन हुन्छ। अर्काे दुईचार किलोमिटरमा मान्छेको रहनसहसन परिवर्तन भइसकेको हुन्छ। 

एउटा गाउँबाट अर्काे गाउँमा टेक्दा र एउटा खोल्साबाट अर्काे खोल्सा तर्दा मान्छेको रीतिरिवाज पनि भिन्नै भेटिन्छ। त्यो रीतिरिवाजमा उनीहरुको आस्थाको विषय हुन्छ। कसैले प्रकृतिपूजा गर्छन्, कसैले के पूजा गर्छन्। अनिश्वरवादी र नास्तिकहरुको देश होइन यो। प्रकृति पूजा गरे पनि, देउराली पूजा गरे पनि, लुम्पेकी थानको पूजा गरे पनि, बुढासुब्बा पुजे पनि केही न केहीमा आस्था राख्ने, बहुआस्था बोक्ने मान्छेहरु बस्ने देश हो यो। 

यस्तो समाजलाई एउटा आस्थाले मात्र बाँध्न सक्छ कि सक्दैन, आफैँमा ठूलो प्रश्न छ। त्यतातिर राजनीति लैजाने काम छैन। धर्मको सैद्धान्तिक पक्षमा विवेचना गर्न थालौँ। यो के हो? यो कसरी मञ्चन हुन्छ? यसको अर्थ के हो? सोचौँ। हामीले ठण्डा दिमागले नेपालमा सोचेका पनि छैनौँ। राज्यको धर्म भनेको न्याय गर्नु हो। सबैमा समानदृष्टि राख्ने हो। हिन्दू राज्यको म त कल्पना पनि गर्न सक्दिनँ। अहिले हिन्दू राष्ट्र भएर मलाई के फाइदा हुन्छ? केही फाइदा हुँदैन। हिन्दूलाई यो देश मेरो हो भन्ने लाग्ला। तर के अहिले हिन्दूहरुलाई यो देश मेरो हो भन्ने लागेको छैन र? प्रश्न गर्न सकिन्छ। अरुलाई निषेध गरेर उसलाई के फाइदा हुन्छ? 

अर्थतन्त्र र लगानीलाई तिमी निषेध गर्न सक्दैनौ। निवेश बढिरहेको छ। खानपान र आहारविहारमा म्याकडोनाल्ड र केएफसी खाने भइसक्यो नेपाली समाज। इन्डियामा हिन्दूले मोमो खान हुँदैन भन्ने नारा चलाए। के यहाँ पनि हिन्दूले पिज्जा खान हुन्न भन्ने? त्यस्तो संकीर्णताले हामी कहाँ पुग्छौँ? जुन मुलुकमा मान्छे विश्वका कुनाकुना पुगेका छन्, तिनले त्यहाँ हरेक चिज खाइरहेका होलान्। कतारमा बसेर नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने ल्वाँठ को होला?

धर्मनिरपेक्षताको मर्म
नेपालमा बहुसंख्यक मान्छेहरु हिन्दू भएको आधारमा नेपाललाई हिन्दू राष्ट्र भन्दिएको हुनसक्दछ। त्यसमाथि राजा हिन्दू भएका हुनाले हिन्दू राज्य कायम गरियो। तर राजतन्त्र गैसकेपछि राजतन्त्रमा हिन्दू धर्मको वर्चस्व भएजस्तो विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु बसोबास गर्ने उदार खुला राज्य व्यवस्थामा धर्मनिरपेक्षताको कल्पना गरिनु स्वाभाविक थियो। धर्मनिरपेक्षताको अर्थ बहुसंख्यकले कुनै धर्म नमान्ने भन्ने हुँदैन। राज्य कसरी बहुसंख्यक र अल्पसंख्यकको बीचमा जान्छ, भन्ने हुन्छ। धर्मनिरपेक्षताको तर्क ‘राज्यको धर्म हुन्छ कि हुँदैन? राज्य कुनै एउटा धर्म र आस्थामा बस्छ कि बस्दैन? राज्यको धर्म के हो?‘ भन्ने आधारमा हुनुपर्दछ। 

म पनि धर्मनिरपेक्षता पक्षधर हुँ। मेरा निम्ति राज्यको धर्म भनेको न्याय हो। म कुन मन्दिरमा जान्छु, म कुन खाना खान्छु, मैले कुन चाडपर्व मनाउँछु, त्यो राज्यले निगरानी गर्ने विषय होइन। त्यसैले राज्यले धर्मको सवालमा तटस्थताको नीति अपनाउनुपर्छ भन्ने मेरो मान्यता हो। बहुसंख्यक हिन्दू छन्, त्यसकारण नेपाल हिन्दू राष्ट्र हुनुपर्दछ, बहुसंख्यक हिन्दू बस्ने ठाउँमा अरुले यी खानपिन गर्नहुँदैन, अरुले यस्तो लुगा लगाउनुहुँदैन भनेर निषेधको राजनीति गर्नलाई धर्मको आड लिन पाइँदैन।

दक्षिण एसियामा धर्मनिरपेक्षताको सबैभन्दा ठूलो चुनौती सन् १९४७ मा धर्मका आधारमा पाकिस्तान बनेपछि उत्पन्न हुनगयो। एउटाले आफूलाई इस्लामिक गणराज्य भन्यो भने अर्काेले आफूलाई धर्मनिरपेक्ष राज्य घोषणा गर्यो। पाकिस्तान मुस्लिमहरुको लागि बनेको भनियो। त्यसले के गर्यो भने मुस्लिमको लागि अलग देश बन्न सक्छ भने हिन्दूका लागि किन अलग देश बन्न सक्दैन भन्ने ओठे तर्क गर्न थालियो। यस्तो ओठे तर्कका आधारमा यहाँ पनि बहुसंख्यक हिन्दू बस्ने देश किन हिन्दू राष्ट्र हुन सक्दैन भन्ने तर्क गरिन्छ। यहाँ के हामी मात्र छौँ त? अरु छैनन्? यहाँनेर मलाई भन्न मन लाग्छ, जहाँ लोकतन्त्रको आधारभूत चरित्र विमति हुँदैन, जहाँ असहमति हुँदैन, जहाँ प्रतिरोध हुँदैन, जहाँ हार्ने र जित्नेका सन्दर्भमा पनि अल्पसंख्यक र बहुसंख्यक हुँदैन त्यहाँ लोकतन्त्र हुँदैन। हामीले चुनाव धर्मका आधारमा उम्मेदवार दिएर जितेको होइन। हामी पार्टीको झण्डाको आधारमा या कार्यक्रमको आधारमा चुनाव लड्छौँ। शिक्षाको नाममा हामी भोट हाल्न जान्छौँ। स्वास्थ्य सेवाको नाममा भोट दिन्छौँ। धर्म यस्ता थुप्रा कार्यक्रम मध्येको एउटा अंग मात्र हुन्छ।

हामीले धर्मलाई राजनीतिको पूर्ण धागोको रुपमा हेर्न मिल्दैन। दुर्भाग्य के भइदियो भने धर्मको नाममा पाकिस्तान बन्यो। त्यसले गर्दा आज ७० वर्षपछि भारतमा पनि हिन्दूहरुको देश खोइ भन्दै धर्म–देश खोज्ने जुन किसिमको परिवेशको सिर्जना भएको छ, त्यो परिवेशको प्रभाव हाम्रोमा पनि आएको छ। मलाई लाग्छ, भारतमा अहिले भाजपा जुन धर्मको पक्षमा छ, त्यति नभएको भए सायद नेपालमा धर्म–राजनीति यति ठूलो ‘फल्टलाइन’ को रुपमा हामीकहाँ आउँदैनथ्यो होला।

व्यक्तिगत आस्थालाई सामूहिक आस्थामा परिणत गरेर सामूहिक आस्थाको आधारमा शासनपद्धति बदल्न सक्छौँ भन्ने सोचका कारण यस्तो राजनीति भैरहेको देखिन्छ। त्यसकारण धर्मका आधारमा अनेक किसिमका बिगार गरिँदैछ। यसका बाह्य राजनीतिक कारण छन्। यदि अहिले भारतमा जुन किसिमको भाजपाको हिन्दूत्वको लहर छ, त्यो नभइदिएको भए नेपालमा धर्म–राजनीतिको प्रभाव नै पर्ने थिएन। नेपाली नेतृत्व सारै कमजोर भएका कारण दिल्लीलाई खुसी बनाउने नाउँमा उसले धर्म–राजनीति आयात गरिरहेको छ। यो एकदमै खुल्लमखुला कुरा हो।

हामीलाई के सुनाइन्छ भने धर्मनिरपेक्षता भनेको युरोपियन युनियन हो। विदेशी पैसा हो। यथार्थ त्यो होइन। मलाई चित्त बुझे पनि नबुझेपछि ‘जनयुद्ध’, त्यसपछिको संविधान सभामा भएको आठआठ वर्षको माथापच्ची, नेपालको विविधता र बहुलताका आधारमा हामी धर्मनिरपेक्षतामा गएका हौँ। धर्मनिरपेक्षतामा जानु भनेको क्रिस्चियन हुनु होइन। मुस्लिम हुनु होइन। हिन्दू हुनु होइन। तर एकथरी समूहलाई हिन्दू राज्यबाट धर्मनिरपेक्ष राज्य भएको हुनाले हामी पछाडि पर्यौँ भन्ने भावना आयो। यो भावनालाई भारतको वर्तमान राजनीतिले बढावा दियो।

हिन्दू र हिन्दूत्व 
यो १९९६ सेप्टेम्बरको कुरा हो। गिरिजाबाबु (पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। शर्मा कोइरालाका स्वकीय सचिव थिए।) र अटलबिहारी बाजपेयीबीच दिल्लीमा भएको बैठकमा म पनि सँगै थिएँ। धर्मको कुरा उठ्यो। दसैँ मुखमै थियो। गिरिजाबाबुले ‘आप लोगोँ का हिन्दूत्व और हमारा हिन्दू धर्म फरक है। आप लोगोँ का राजनीतिक एजेन्डा है, हम लोगोका सांस्कृतिक। आप लोगोँ का हिन्दूत्व है, हम लोग सनातनी हिन्दू हैँ। हमारे यहाँ हिन्दूत्व मत घुसाइएंगा’ भन्नुभो। मैले कुरा बुझिनँ। हामी त्यहाँबाट फर्कियौँ।

मैले आफ्नो जिज्ञासा गाडीमा सोधेँ र गिरिजाबाबुले भन्नुभयो– ‘आरएसएसलाई हिन्दूस्तान भएकै मन परेको छैन। गान्धीलाई मार्यो। तपाईंले पढ्नुभएकै छ त यी सबै। यो सेक्युलर कन्स्टिच्युसन फ्रेमवर्कमा ऊ (आरएसएस) छँदैछैन। उसले त हिन्दूहरुलाई राजनीतिक रुपले संगठित गरेर वर्चस्व कायम गर्ने मात्र हो।’ 

वहाँले नेपालको हिन्दूबारेको आफ्नो बुझाइ मलाई सम्झाउँदै अगाडि थप्नुभयो– ‘हाम्रो आरएसएसको जस्तोे होइन, फरक छ। हामीले धर्मलाई राजनीतिमा जोड्दैनौँ। जुन धर्म माने पनि कांग्रेसलाई भोट हाल भन्छौँ। हामी हिन्दू हुनुको अर्थ सनातनी हो, संस्कृति हो, बहुलता हो।’

मैले हिन्दू र हिन्दूत्वबीचको फरकबारे पहिलोपल्ट त्यहीँ सुनेको हुँ। हाम्रो नेतृत्व त्यो बेला नै हिन्दू र हिन्दूत्वको भेदबारे सचेत थियो।

अहिले भारतमा त सनातनमा पनि विवाद उठाइँदैछ। त्यहीबेला वहाँले भन्नुभएको मलाई अझै स्मरण छ। ‘पूर्वमा राईलिम्बुहरु दसैँमा टीका लगाउँछन्, तर सेतो लगाउँछन्। जनजातिले सेतो लगाउँछन्, हामीले रातो लगाउँछौँ। तर टीका लगाउँछौं। गाउँघरमा बाहुन, गुरुङ, मगर, राई र लिम्बुमा पनि सोल्टीसोल्टिना भन्ने चलन छ। एउटाले रक्सी चढाएर कालो भाले काटेर ढुंगालाई पूजा गरिरहेको हुन्छ, अर्काेले त्यहीँनेर धार बाँधेर दूध चढाइरहेको हुन्छ। हाम्रो हिन्दू भनेको परम्परा अनुरुप चलिरहेको हो।’ 

हाम्रोमा रहेको यस्तो विविधतालाई कसरी संरक्षण गर्ने भन्ने गिरिजाबाबुको कुरा थियो। वहाँ त पूजाआजा गर्नुहुन्थेन तर मलाई सोध्नुहुन्थ्यो– ‘तपाईंहरुको कुलपुजामा बोका काट्छ कि काट्दैन? ‘पहिला काट्थे अहिले छाडे’ भन्दा ‘बाहुनहरुले महंगो भएर छाडेका हुन्‘ भन्नुहुन्थ्यो। तर कुलपुजामा कति ठाउँमा बाहुनले बलि दिन्छ, कति ठाउँमा दिँदैन। परम्परा फरक छ। त्यो विविधता छ यहाँ। 

यो फरकपना हाम्रोमा मात्र होइन उनीहरुबीचमै पनि छ। दक्षिण भारतमा पनि राम, लक्ष्मण र सीता पुज्छन् तर दक्षिण र उत्तर भारतको मान्ने तरिकामा फरक देखिसकियो। हिन्दूभित्र पनि वैष्णव छ, शैव छ, दसथरी पन्थ छ। हामी दसैँमा जमरा टाँसेर हिँड्छौँ, उनीहरु जमरा नै लगाउँदैनन्। बाहुन भनेर भएन। हामीले १३ दिनमा गर्ने कर्मकाण्ड उनीहरु (भारतीय बाहुन) ले गर्दैनन्। त्यो भारतीयले पनि बुझेकै कुरा हो तर हिन्दूत्व मान्ने भारतीयले नारा भन्न लगाउँछ– ‘गर्व से कहो हम हिन्दू हैँ।’

भारतीय चासो कि हस्तक्षेप?
नेपालको बहुलता/विविधतालाई केन्द्रमा राखिहेर्ने हो भने धर्म सार्वजनिक जीवनको महत्वपूर्ण पक्षभन्दा पनि व्यक्तिगत जीवनको पक्ष हो। राज्यको धर्म भनेको प्रतिनिधित्वको सुनिश्चितता हो। न्यायको सुनिश्चितता हो। त्यसकारण हामीले नेपालजस्तो सानो ठाउँमा बहुसंख्यक र अल्पसंख्यकलाई सुरक्षा दिने सन्दर्भमा धर्मलाई अलि पर राखौँ भनेर धर्मनिरपेक्षता चयन गरेका हौँ। हाम्रो निर्णयमा दक्षिणी छिमेक भारत त्यति खुसी थिएन, त्यही भएर हामीले नाकाबन्दी जस्ता कुरा बेहोर्नुपर्‍यो। हाम्रो नेतृत्वलाई के लागिरहेको छ भने भारतलाई आफ्नो दायाँ बनाउनका निम्ति भारतमा अहिले जस्तो किसिमको चरित्र छ, त्यो चरित्रको मानिसहरुसँग सामीप्य बढाउनुपर्छ।

आज मलाई यो आलेखमार्फत एउटा कुरा सार्वजनिक गर्नु छ। केही समयअघि भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, उदयशमशेर राणा र अर्का एकजनाको डेलिगेसन भारत गयो। मलाई थाहा छैन व्यक्तिगत रुपमा उनीहरुले अन्य दलका नेताहरुलाई भेटे कि भेटेनन्, तर आधिकारिक तवरमा उनीहरुले भाजपाबाहेक अरु पार्टीका मान्छेहरुसँग भाइचारा भेट नै गरेनन्। जबकि भारतमा विभिन्न राजनीतिक दलहरुसँग भाइचारा सम्बन्ध छ, नेपाली काङ्ग्रेसको। दिल्लीबाट फर्किएर उनीहरु लखनउ आए र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेर गोरखपुर हुँदै फर्किए। त्यसपछि भाजपाका नेता आउँछन् र प्रधानमन्त्रीको दुलहीलाई हातमा राखी बाँधिदिन्छन्। हिन्दूत्वको प्रतीकको स्तुति हुन्छ।

भाजपा भन्ने पार्टी त नब्बेको दशकपछि मात्र आएको हो। नेपालको लोकतान्त्रिक आन्दोलनमा अन्य दलका भारतीय साथीहरुको ठूलो सहयोग थियो। नेपाली कांग्रेस जस्तो पार्टीले सबै दलहरुसँग भेट्नुपर्थ्यो। लोकतन्त्र हो भोलि त्यहाँ हुने चुनावबाट जुनसुकै पार्टी पनि सत्तामा आउन सक्दछ। त्यसैले हामीले कसैसँग विशेष सम्बन्ध हुँदाहुँदै पनि अरुसँग पनि समदुरीको सम्बन्ध कायम गर्नुपर्दछ। अहिले हामी के सुनिरहेका छौँ भने नेपालको दक्षिणी सीमाक्षेत्रमा आरएसएस (राष्ट्रिय स्वंयसेवक संघ), विश्व हिन्दू परिषद् र विश्व हिन्दू महासभाहरुले आफ्ना ठूलो जनशक्ति परिचालन गरिरहेका छन। तिनको कहिले पूर्वमा सम्मेलन हुन्छ, कहिले पश्चिममा हुन्छ। यसले के प्रस्तुत गरिरहेको छ भने भारतमा भएको अहिलेको राजनीतिक जुन मूलमार्ग छ त्यसभन्दा पर हामी जान सकेनौँ। त्यसका आधारमा हामीले राजनीति गर्नुपर्छ भन्ने किसिमको सोचबाट हाम्रा ठूला दलका नेताहरु निर्देशित छन्।

प्रचण्डजस्तो मान्छेले गेरुवस्त्र लगाउनुपर्‍यो। नासिकमा गएर शिवजीको पूजा गर्नुपर्‍यो। व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने म पनि ती ठाउँमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गएको छु। राष्ट्रपति डा. रामवरण यादवसँग गएको छु। काशीमै जन्मिएको हुर्किएको मान्छे गिरिजाबाबुले मलाई पूजा गर्न लगाउनुभयो, आफूले गर्नुभएन। वहाँ मन्दिर कति जानुहुन्थ्यो थाहा छैन, तर शिवरात्रीको दिनमा वहाँको घरमा मासु पाक्थेन। त्यो सांस्कृतिक हो। राष्ट्रपति रामवरणजी पनि त्यस्तो धर्मभीरु मान्छे होइन। वहाँले पनि आफ्नो भेषभुषामा टोपी, कुर्ता लगाउने र काँधमा गम्छा भिर्ने गर्नुहुन्थ्यो। मन्दिर मात्र होइन, मस्जिदमा पनि जानुहुन्थ्यो। तर अहिलेको नेतृत्वमा यो भावना देखिँदैन। अहिलेको नेतृत्वमा भारतमा भएको भाजपाको जुन मूल पक्ष छ हिन्दूत्व, त्यसको आधारमा नेपालमा सजिलैसँग शासन गर्न पाइन्छ कि भन्ने जुन दृष्टिकोण र व्यवहार देखिएको छ त्यो चिन्ताजनक छ। 

परिवर्तनकामी दलहरु पनि भाजपाको राजनीतिको अनुकूल हुने व्यवहार गर्ने, त्यसप्रकारका कुराहरु सहिदिने र अर्काे पक्ष जो संघीयतालाई नमान्ने राजा आऊ देश बचाऊ भन्नेहरु पनि धर्ममा जोडिन आउने? यो बडा अनौठो ‘फल्टलाइन’ धर्मको वरिपरि छ। अहिले हामी जुन किसिमको परिचालनको राजनीति देखिरहेका छौँ, संविधानको चार वटा मूल संरचनात्मक स्तम्भ (लोकतन्त्र, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता) र अर्काे दुई स्तम्भ आर्थिक उदारीकरण र समावेशितामध्ये कुनै एउटा पुर्जालाई तपाईंले हल्लाइदिनुभयो भने अहिलेको हाम्रो संवैधानिक संरचना भत्कन सक्ने सम्भावना हुन्छ। मलाई के लाग्छ भने जुन किसिमले धरान र मधेशमा धार्मिक उन्मादका कुराहरु भए, त्यो बहुसंख्यकको पक्षबाट होस् चाहे अल्पसंख्यकको पक्षबाट भएको होस्, त्यसले संवैधानिक संरचनालाई हिर्काउने प्रयास गर्यो। 

नेपालको धर्म–राजनीतिको अन्तर्राष्ट्रिय आयाम छ। भारतको असहमतिका बाबजुद हामीले संविधान जारी गर्‍यौँ। अहिले उठिरहेको धार्मिकतासँग त्यसको सम्बन्ध देखिन्छ। गएको निर्वाचनमा मौन समय सुरु भएपछि मोदीले टेलिभिजन पत्रकार लिएर मुक्तिनाथ गएको हो कि होइन? निर्वाचन आचारसंहिता विरुद्ध भारतीय टेलिभिजनले त्यो देखाएको हो कि होइन? जनकपुरमा आएर जानकी माताकोमा साइकिल बाँड्छु भनेको हो कि होइन? उनले भारतलाई तुरुन्त हिन्दु राष्ट्र बनाउन सक्दैनन। तर त्यही काम नेपालमा गरेर ‘मैले नेपाललाई जोगाएँ’ भनेर राजनीतिक लाभ लिन छाती ठोक्ने रणनीति बमोजिम मोदीद्वारा त्यसो गरिएको थियो।

बहुसंख्यक मनोविज्ञान
भारतमा भएका विभिन्न द्वन्द्वहरु, श्रीलंकामा भएका विभिन्न द्वन्द्वहरु, पकिस्तानका विभिन्न द्वन्द्वहरुलाई हेर्दा एउटा सिक्नुपर्ने पाठ के आउँछ भने यदि बहुसंख्यक आस्थाका मान्छेहरु वा बहुंख्यक जातका मान्छेहरुले आफूलाई अपहेलित महसुस गर्यो भने त्यसबाट निस्कन सक्ने हिंसा र त्यसबाट निस्कन सक्ने विभाजन एकदम ठूलो हुन्छ। अहिले भारतमा हिन्दू ठगिए, हिन्दूहरुले आफ्नो देश पाएनन् भनेर संकथन श्रृजना गरिएको छ। भारत मेरा निम्ति त अघि नै विभाजित भइसक्यो। श्रीलंकामा सबैभन्दा बलियो जाति सिंहला हो। देश उसकै नाउँमा छ। उसले आफू अपहेलित भएँ भन्ने बित्तिकै त्यहाँ त्यत्रो हिंसा भयो। पञ्जाब प्रान्तमा सिख त्यति महत्वपूर्ण जात हो– आर्मीमा छ, यातायातमा छ, अर्थतन्त्रमा बलियो छ, बहुसंख्यक छ। तर उसलाई के लाग्यो भने ‘म अल्पसंख्यक हिन्दूबाट प्रताडित भएँ।’ उसले त्यो सोच्नेबित्तिकै त्यहाँ त्यत्रो डरलाग्दो हिंसा आयो। हाम्रो नेतृत्व पनि सचेत हुनुप¥यो। किनकि यसको डरलाग्दो पक्ष हामीले देखिसक्यौँ। संविधान सभापछि हामीले समावेशीको कुरामा बहुसंख्यक जातिलाई नाम दिन पनि हिच्किचाएर ‘अन्य’ भन्यौँ। त्यसो गर्दा ‘हामीलाई अन्य भन्ने’ भन्ने मनोविज्ञानले दोश्रो संविधान सभामा आउँदाखेरी समावेशिताको सिद्धान्तमा सम्झौता गरेको हामी पाउँदछौँ।

म बहुसंख्यकमा छु र मैले अल्पसंख्यकमाथि शासन गर्नुपर्छ भन्ने जुन फासिस्ट मनोविज्ञान छ, त्यसले मुलुकको लोकतन्त्रलाई हित गर्दैन। चुनावमा बहुसंख्यकले जित्छ। चुनावमा बहुसंख्यकले जित्ने, समाजमा हाम्रो जातको बहुमत हुने तर हामीले किन नपाउने पनि भनिन्छ। म आफू उदार लोकतन्त्रको पक्षधर मान्छे भएको हुनाले मेरो भनाइ के हो भने हो चुनाव त हरेक पाँचपाँच वर्षमा हुन्छ। हार्ने मान्छे फेरि फर्किएर आउनसक्ने सम्भावना हुन्छ। तर धर्मको राजनीतिमा फस्यौँ भने हामी एकअर्काको अस्तित्व नामेट पार्ने बाटोमा जानेछौँ। धर्मको राजनीति अन्धो हुन्छ। धर्मको राजनीतिमा आवेग हुन्छ। धर्मको राजनीतिमा तर्कको भाव हुँदैन। त्यसकारण पनि मलाई के लाग्छ भने हामी चनाखो हुनुपर्दछ। नेतृत्व चनाखो हुनुपर्दछ। त्यसैले बहुसंख्यक जाति, बहुसंख्यक भाषी र बहुसंख्यक धर्मावलम्बीहरुले आफूलाई अपहेलना महसुस गर्नेगरी कुरा गर्नुभएन। त्यसैगरी हामी बहुसंख्यक छौँ, त्यसैले हामीले आफूभन्दा अल्पसंख्यकलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार र संस्कृतिको विकास गर्न अग्रसरता लिने कन्जुस्याइँ गर्नुभएन।

यी प्रश्न पनि गरौँ
धर्मका नाममा अहिले उठेका स–साना झिल्काहरुका बाह्य आयामहरु के के छन्? किन अहिलेको समयमा आएर यसले बढावा पाइरहेको छ? कतै यो झिल्कोले हाम्रो संवैधानिक संरचना भत्काउन खोजिरहेको त छैन? संविधान सय प्रतिशत पूर्ण भन्न खोजेको होइन तर हरेकचोटि स–साना यस्ता कारणले हाम्रो संवैधानिक विकासक्रम अड्किन थाल्यो भने हाम्रो प्रगति र राजनीतिक स्थायित्व अझ पर धकेलिएर जान्छ। कसले यो गरिरहेको छ? के धर्मको नाममा बनेका मुलुकहरुमा पनि यथेष्ट शान्ति र अमनचयन छ त? सोचौँ। 

धर्मको नाममा बनेको पाकिस्तान हामीले देखेकै छौँ। धर्मको नाममा बनेको इजरायलको अशान्ति देखेकै छौँ। युरोपमा त्यहाँका राज्यप्रमुख चर्च जान्छन्, बाइबल समाएर शपथ खान्छन् भन्दै हाम्रोमा पनि गीता समातेर शपथ गराउनुपर्छ भन्ने तर्क गरिन्छ। हामीकहाँ पनि प्रधानमन्त्री लगायतका सबैले आफ्नो आस्थाको ईश्वरको नाममा शपथग्रहण गर्दै आइरहेका छौँ। कुनै शेख मोहम्मद नामको मान्छे मन्त्री भयो भने उसले गीता समातेर शपथ लिन्छ कि कुरान समातेर लिन्छ? यत्तिको व्यक्तिगत स्वतन्त्रता र चयनमा हामी बस्नैपर्छ। एकातिर ईश्वरको नाममा शपथ नखाने वामपन्थीहरु र अर्काेतिर गीता समाएर शपथ खान पाइएन भन्ने अतिवादीहरुको बीचबाट हामीले बाटो खोज्नुपर्दछ। 

नेपाली समाज झट्ट हेर्दा खुला देखिन्छ तर भित्र कताकता हाम्रो मनमा गडेर बसेका पुराना जडताहरु बेलाबखत प्रकट भइरहन्छन्। पढेर, लेखेर के गर्ने, दिमागबाट जातीय र क्षेत्रीय संकीर्णता अझै पनि गएको छैन। अज्ञानता, अशिक्षा र पछौटेपनले गर्दा त्यसको जड जिचार अन्तरकुन्तरबाट अझै निस्किरहेको हुन्छ। यसमा राजनीतिक नेतृत्व सबभन्दा बढी दोषी छ। किनकि उसलाई थाहा छ, यो देशको बहुलता के हो, विविधता के हो भन्ने कुरा। यी मान्छेहरु चुनाव लड्न गाउँगाउँ पुगेका छन्। हरेक ठाउँमा जातभात नभनी मान्छेले पस्केर दिएको खाएर हिँडेका छन्। मुसलमानकहाँ भोट माग्न गएका छन्, हिन्दूकहाँ भोट माग्न गएका छन्। तर उनीहरुको मतबाट चुनाव जितेर आइसकेपछि अनि यो के व्यवहार गरिरहेका छन्? त्यसैले जिम्मेवार यिनै हुन्। त्यसैले हामीले नेतृत्वलाई घच्घच्याइरहन छाड्नु हुँदैन। 

हिन्दूत्व बहस :

असोज २, २०८०, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .