ad ad

विचार


महिनावारी बिदा : असफल अभ्यास

सरकारले महिनावारी बिदा दिने होइन, कार्यालयलाई महिनावारीमैत्री बनाउने हो।
महिनावारी बिदा : असफल अभ्यास

राधा पौडेल
मंसिर २९, २०८० शुक्रबार ७:५८, काठमाडौँ

लुम्बिनी प्रदेशसभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा पारित गरेको छ। यससँगै सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस भइरहेको छ।

सुरुमा सामाजिक सञ्जालमा जानकारीका रूपमा राखेका धेरै महिला साथीहरूले बिदाको पक्षमा वकालत गरिरहेका छन्। प्रदेशसभाको निर्णयले भन्दा नमीठो महिलाहरूले मर्यादित महिनावारीबारे नबुझेकोले लागेको छ। 

लुम्बिनी प्रदेशसभाको निर्णयबाट मलाई दु:ख लागेको छ। लुम्बिनी सरकारसँग २ महिनाअघि मात्रै काम गर्ने अवसर पाएको थिएँ।

सुस्ता-पश्चिमको सुनवल नगरपालिकाका किशोरीसँग छलफल गरेकी थिएँ। छलफलमा लुम्बिनी प्रदेशमा महिनावारी विभेदका सबै खाले अभ्यास रहेको थाहा पाइयो।

मैलै कुरा गरेका सबै किशोरी नै महिनावारीका बेला भान्छामा पस्दैनन्। उनीहरू महिनावारी हुँदा बुवालाई छुँदैनन्। पहिलोपटक महिनावारी हुँदा कतिले स्कुल छाड्छन्। त्यसपछि धेरै जना स्कुल नै जाँदैनन्। 

भुसको आगो जसरी फैलिएको लुम्बिनी प्रदेशको निर्णयपछि किन बिदा दियो होला भनेर धेरैबेर सोचेँ। एउटा त पेट दुख्छ भनेर होला।

सामाजिक सञ्जालमा पनि यही कोणबाट लेखिएको भेटिन्छ।

हाम्रो पेट दुखाइसँग दुइटा कुरा गाँसिएर आउँछन्। एउटा- हामीले बुझ्नुपर्ने महिनावारी भनेको प्राकृतिक प्रक्रिया हो। अर्को- महिनावारी हुने सबैलाई पेट दुख्दैन।

सय जना पाठेघर लिएर जन्मिएका मानिसमध्ये ८५ जनालाई महिनावारी हुँदै छु भन्ने थाहा हुन्छ।

उनीहरूलाई महिनावारी भएको १/२ घण्टामा आफैँ शान्त भएर जान्छ। त्यसबाहेक यी मानिसलाई महिनावारीले थप केही अप्ठ्यारो पार्दैन। 

यीमध्ये १० जनालाई घरेलु उपचारले ठीक हुन्छ। यी १० जनालाई सुत्न, चिया खान, गीत सुन्न मन लाग्ने, एकोहोरो हिँड्न, बोटबिरुवामा पानी हाल्न मन लाग्नेलगायत लक्षण देखिन्छन्।

उनीहरूको उपचार भनेको मन लागेको कुरा गर्नु नै हो। बाँकी ५ जनालाई महिनावारीका बेला असाध्यै गाह्रो हुन्छ। यो समूहकालाई महिनावारी हुनुभन्दा १० दिनअघिबाटै पेट दुख्न सुरु हुन्छ र झण्डै १० दिनसम्म दुखिरहन्छ।

यस समूहलाई महिनावारीको समयमा गाह्रो हुनाका कारण फरक हुन्छन्। यो समूहका महिलालाई चाहिँ बिदा दिने होइन, विशेष उपचार गर्नुपर्छ। यो समूहकालाई बेस्सरी टाउको दुख्ने, बान्ता हुने, बिनाकारण रुन मन लाग्ने हुन्छ। उनीहरूको समस्या सरकारले दुई दिन बिदा दिएर सम्बोधन हुँदैन। 

हाम्रोमा महिनावारी दुखाइको सामाजिकीकरण गलत भयो। महिनावारीलाई महिलाको कमजोरीसँग जोडियो। किशोरीलाई हुर्कँदै म कमजोर छु भन्ने भाष्य स्थापित गरियो। प्रदेश सरकारको निर्णयले पनि यही गरेको छ।

सरकारले पपुलारिटीका लागि बनाएको ऐनले विशेष प्रकारको उपचार चाहिने ५ जनालाई समेट्न सक्दैन। उनीहरूको समस्या सम्बोधन गर्न उपचारमा समन्वय गर्नुपर्छ। उपचार महँगो हुन्छ। उनीहरूको रगत परीक्षण गर्नुपर्ने हुन्छ, सिटीस्क्यानलगायत पनि गर्नुपर्छ। जुन महँगो छ।

समय पनि लाग्छ। उनीहरूको जिम्माचाहिँ सरकारले लिनु पर्दैन? प्रदेश सरकारको निर्णयले जो साँच्चै पीडामा छन्, उनीहरूको पीडालाई सामान्यीकरण गरिदियो। 

महिनावारी भएकासँग हेय भावले बोल्ने। उनीहरूसँगै भइदिनुपर्छ भनेर नबुझ्ने। उनीहरूलाई त्यो समय मनोपरामर्शबारे जानकारी नहुने अनि बिदाको निर्णय गर्नुलाई न्याय भन्न मिल्छ?

महिनावारीको करिब २४ घण्टाअघि ८५ प्रतिशत पेट दुखाइलाई स्वास्थ्य विज्ञानले नै सामान्य मान्ने गरेको छ। हाम्रो समाजमा महिनावारीमा सबैको असाध्यै धेरै रगत बग्छ भन्ने भाष्य निर्माण गरिएको छ। यो साँचो होइन।

नियमित महिनावारी हुनेमध्ये १०० मा ९५ जनाको रगत ८० मिलिलिटर जाने हो। यो रगत पानीमा मिसिँदा फैलिएर धेरै देखिने हो। कसैको योभन्दा धेरै परिमाणमा रगत बग्यो भने त्यो असामान्य भयो। उसलाई चाहिने पनि उपचार हो। महिनावारीको समयमा धेरै रगत बग्ने मानिस तिनै ५ जनामा पर्छन्।

सरकारले महिनावारी बिदा दिने होइन। कार्यालयलाई महिनावारीमैत्री बनाउने हो। महिनावारी हुने ८५ जनालाई कुनै प्रकारको सुविधा चाहिँदैन।

असाध्यै गाह्रो हुने ५ जनालाई प्रदेश सरकारले दिएको जस्तो २ दिन बिदाले हुँदैन। सरकारले ध्यान दिनुपर्ने तीमध्ये १० जनालाई हो।

उनीहरूलाई महिनावारी भएका बेला कार्यालयमा आराम गर्ने स्थान भइदेओस्। सहज शौचालय, अनि पानीको व्यवस्था होस्। कार्यालयमा तातो पानी होस्। महिनावारीको रगत कपडामा लाग्दा कसैले खिसी गर्दै नभनोस्- ‘हेर त तेरो लुगामा रगतको टाटो।’

कामका लागि सहज समय होस्। यति भयो भने उनीहरूलाई पुग्छ। 

हाम्रो अन्तिम चाहना अथवा लक्ष्य भनेको लैंगिक समानता हो। हामीले बराबर हुने भनिरहेका छौँ। महिनावारी हुने भएकाले, बच्चा पाउने भएकाले संविधानमा हाम्रा थप अधिकार छन्।

समानताको बाटोमा जान हामी मर्यादित भएर जाने हो। यसै पनि महिलालाई कमजोर भनिन्छ। विभिन्न नाममा गाली, बेइज्जती गरिन्छ।

त्यसमाथि यी कमजोर हुन्, यिनीहरूलाई बिदा दिनुपर्छ भनेर नियम बनाउँदा हुर्कँदै गरेको किशोरी पुस्तामा पर्ने मानसिक असरबारे कसले अध्ययन गरेको छ?

सरकारले राष्ट्रिय मर्यादित महिनावारी नीति २०७४ ल्याउँदै छ। यस नीतिलाई अन्तिम रूप दिएको छैन। मस्यौदाकै रूपमा छ। कानुनबारे कसैलाई पनि थाहा छैन। संसद् भवनमा समेत महिनावारी विभेद छ। महिनावारी बिदा असफल अभ्यास हो।

प्रदेश सरकारको निर्णपछि थुप्रै अभियन्ता, अधिकारकर्मीले यो ठीक हो भनिरहनुभएको छ। मलाई लाग्छ, उहाँहरूलाई मर्यादित महिनावारीको राम्रो ज्ञान छैन। महिनावारी हुने सबैलाई गाह्रो हुँदैन भन्ने पनि उनीहरूलाई थाहा छैन। कारण, महिनावारीका बेला हुने असहज अवस्थाबारे बहस हुने गरेकै छैन।

विश्वका केही मुलुकमा महिनावारी बिदाको अभ्यास हुँदै आएको छ। तर, खासै प्रभावकारी छैन। प्रदेश सरकारको महिनावारी बिदा, सरकारको पपुलिस्ट आइडिया मात्रै हो। यो क्षेत्रमा काम गरिरहेकाहरूसँग बहस गरेर मात्रै यस्ता निर्णय गर्नुपर्थ्यो। 

(नेपालखबरकर्मी राधिका अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .