ad ad

फोटोफिचर


ठमेलजस्तै सौराहाको हात्तीचोक (फोटो फिचर)


सागर न्यौपाने/विक्रम राई
मंसिर ९, २०७८ बिहिबार ८:२०, काठमाडौँ

चितवनको पर्यटकीय स्थल सौराहास्थित हात्तीचोक पुग्दा जो कोहीलाई काठमाडौंको ठमेल पुगेको भान हुन्छ। त्यस्तै घर, होटल, रेस्टुरेन्ट, राति पनि चहलपहल! 

सौराहामा २५  वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेका राम श्रेष्ठले सौराहा पहिलाभन्दा निकै परिवर्तन भएको अनुभव सुनाए। 

‘पहिला यहाँ यस्तो हुँदैन थियो, थारु नाच हुन्थ्यो, अनि बजार बन्द हुन्थ्यो’, बुधबार राति नेपालखबरसँग उनले भने, ‘६ वर्षजति भयो, यहाँ राति १२ बजेसम्म चहलपहल हुन्छ।’

उनले सौराहा अहिले काठमाडौंजस्तै हुन थालेको बताए। 

रत्ननगर नगरपालिका वडा नम्बर ७ मा पर्ने सौराहामा देखिने काठमाडौंकै झल्कोले भने यहाँको मौलिक विशेषता लोप हुने हो कि भन्ने चिन्ता पनि छ। 

१४ वर्षदेखि सौरहामा सेकुवा कर्नर व्यवसाय गरिरहेका सुमन लामाले नेपालखबरसँग भने, ‘पहिला यहाँ थारू नाच हेर्न मानिसहरू, पर्यटक काठमाडौंदेखि विदेशबाट पनि आउँथे। अहिले त काठमाडौंजस्तै भइसक्यो, यहाँको थारू नाच पनि अहिले त जम्मा १ घण्टा मात्र हुन्छ।’

बेलुका ७ बजेदेखि ८ बजेसम्म थारु नाच हुने उनले बताए। 

सौराहामा सुविधायुक्त होटल, रिसोर्ट र लज प्रशस्तै छन्। त्यसैले यहाँ चहलपहल रातिसम्म हुन्छ। 

हात्तीचोकमै रहेको फ्रेन्डस क्याफेका एक कर्मचारीले बताएअनुसार अहिले सो क्षेत्रमा रातभरि नै गतिविधि हुन्छन्।

‘मदिरा पसल लगभग रातभरि खुल्छ’, नाम बताउन नमान्ने नुवाकोटका ती कर्मचारीले भने, ‘केही रेस्टुरेन्टकै कारण यहाँ यस्तो भएको हो।’ 

दस  वर्ष अघिसम्म सौराहामा स्थानीय संस्कृतिकै प्रचार हुने गरेकामा अहिले  बिस्तारै परिवर्तन हुन थालेको यहाँका व्यवसायी नै स्वीकार गर्छन्। 

काठमाडौंबाट पत्नीसहित घुम्न आएका एक युवकले नेपालखबरसँग भने, ‘यहाको जे कुरा हेर्न आएको हो त्यो त अहिले लोप भइसकेछ। यस्तै भीडभाड, चहलपहल रमझम त ठमेलमै पाइन्छ।’ 

उक्त जोडीले गुगलमा सौराहाको बारेमा राखिएको कुराले लोभिएर घुम्न आएको बताए। 

‘गुगलमा राखिएको कुराले प्रभावित बनाएर घुम्न आइयो, तर जे कुराले आएको हो त्यो नै देख्न नपाइने रहेछ’, ती युवकले भने। 
अब उनीहरू मेघौली घुम्न जाने योजनामा छन्। 

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन सौराहमै हुँदै छ। त्यसकारण  त्यो क्षेत्रमा अहिले चहलपहल तीव्र बढेको छ। सबै होटेल भरिभराउ छन्। 

दुईपटकको कोरोनाले सौराहाका व्यवसायिलाई पनि निकै संकटमा पारेको थियो। तर अहिले एमालेको राष्ट्रिय महाधिवेशनले भने केही हदसम्म भए पनि राहत पुग्ने अपेक्षा उनीहरूको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .