चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा बुधबारदेखि सुरु भएको छ।
प्राचीन कालमा तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने भएकाले तेमाल जात्रा नामकरण गरिएको हो। तर पनि आजकाल देशभरका मानिसहरू यो जात्रामा आउने गर्छन्।
आफ्ना दिवंगत पितृहरूको सुगति र मोक्षको कामना गर्दै आफन्तजनले बौद्ध स्तुपाको परिक्रमा गर्नुका साथै बत्ती बालेका छन्।
पहिले काभ्रेको तेमालदेखि बौद्धसम्म आएर मनाइने जात्रा भएकोले यसलाई ‘तेमाल जात्रा’ भनिएको हो।
तेमाललाई तामाङ राज्यको राजधानी मानिन्छ। त्यहाँका अन्तिम राजा रिन्ज दोर्जे बलले बौद्ध स्तुपाको स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुशियालीमा यो जात्रा चलाएको किंवदन्ती छ।
पहिले तेमालबाट मात्र तामाङहरु आउँथे। अहिले उपत्यकासहित अन्य जिल्लाबासीले पनि यो जात्रा मनाउने गर्छन्। पहिले पहिले यो जात्रा राति अबेरसम्मै चल्ने गरिन्थ्यो।
बौद्धमा बत्ती बालेपछि भोलि पूर्णिमाका दिन बालाजुको बाइस धारामा स्नान गरेर जामाचोस्थित चैत्यको दर्शन गर्न जाने परम्परा छ।
त्यहाँबाट फर्केर साँझ स्वयम्भू महाचैत्यको दर्शन गर्ने र कोरा लगाउने परम्परा रहँदै आएको छ।
Shares
प्रतिक्रिया