राजनीति


राजापाक्षे परिवारले निजी कम्पनीजसरी चलाएको श्रीलंका सरकार

राजापाक्षे परिवारले निजी कम्पनीजसरी चलाएको श्रीलंका सरकार

महिन्दा र गोताबाय राजापाक्षे


मुजिब मशाल
असार २८, २०७८ सोमबार ९:६, कोलम्बो

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेले सन् २०१८ मा पुनः सत्तामा फर्किने प्रयास गरे। तर, उनी लामो समय टिक्न सकेनन्। 

महिन्दाले प्रधानमन्त्रीको शपथ लिए। तर, राष्ट्रपतिले हटाएका रनिल विक्रमासिंगेले पनि आफूलाई प्रधानमन्त्री दाबी गरिरहेका थिए। अन्ततः महिन्दा पछि हटे। तर, उनी पछि हट्नुअघि संसद्मा कुर्सी भाँचियो, खुर्सानीको धुलो छरियो। 

त्यसको एक वर्षपछि महिन्दाका भाइ गोताबाय राजापाक्षे श्रीलंकाको राष्ट्रपति निर्वाचित भए। त्यसयता राजापाक्षे परिवारले श्रीलंकाको सरकारलाई यसरी एकलौटी चलाएको छ कि यो कुनै निजी कम्पनीजस्तो देखिन्छ। यद्यपि कमजोर अर्थव्यवस्था र बढ्दो असन्तुष्टिका कारण मुलुक संकटमा छ। 

गत बिहीबार महिन्दाका अर्का भाइ बासिल राजापाक्षेले अर्थमन्त्रीको शपथ लिए। विश्लेषक भवानी फोन्सेकाका अनुसार यो कदमले ‘राजापाक्षे परिवारको शासन थप बलियो बनेको छ।’

‘अहिले चार दाजुभाइ र राजापाक्षे परिवारका अन्य सदस्यले पनि सरकारमा महत्वपूर्ण पद समाएका छन्,’ राजधानी कोलम्बोस्थित सेन्टर फर पोलिसी अल्टरनेटिभ्सकी वरिष्ठ अध्येता फोन्सेका भन्छिन्, ‘यतिबेला विपक्षी एकदमै कमजोर छ। कार्यपालिकालाई नियन्त्रण र सन्तुलनमा राख्ने संयन्त्र पनि छैन। यस्तोमा श्रीलंकाको संवैधानिक लोकतन्त्रको भविष्य गम्भीर खतरामा छ।’

राष्ट्रपति बनेको केही समयपछि नै ७२ वर्षे गोताबाय राजापाक्षेले रक्षामन्त्रीको पद ओगटे। लगत्तै उनले ७५ वर्षे दाजु महिन्दालाई प्रधानमन्त्री बनाए। महिन्दाले धार्मिक मामिला र सहरी विकास मन्त्रालय पनि सम्हाले। बासिल अर्थमन्त्री बन्नुअघि त्यो मन्त्रालय पनि महिन्दाकै हातमा थियो। जेठो दाजु ७८ वर्षीय चमाल राजापाक्षे सिँचाइमन्त्री भए। त्यस्तै उनी गृह, राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापन राज्यमन्त्री पनि भए। 

त्यसपछि दोस्रो पुस्ताको पालो आयो। महिन्दाका छोरा तथा राष्ट्रिय रग्बी टोलीका पूर्वकप्तान ३५ वर्षे नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री बने। उनी डिजिटल प्रविधि र उद्यम विकास राज्यमन्त्री पनि हुन्। 

चमालका छोरा शशीन्द्र राजापाक्षेको पोर्टफोलियो बिजनेस कार्डमै नअट्नेगरी लामो छ। उनी ‘धान तथा अन्न, अर्गानिक खाद्यान्न, तरकारी, फलफूल, खुर्सानी, प्याज, आलु, बिउ उत्पादन तथा ‘हाइ टेक’ कृषि राज्यमन्त्री’ हुन्। 

गएको दुई दशकको धेरैजसो समय राजापाक्षे परिवार सत्तामै छ। महिन्दा यसअघि १० वर्ष राष्ट्रपति पदमा आसीन थिए। त्यसबेला उनले सन् २००९ मा तमिल टाइगर विद्रोहीहरुलाई दमन गरेर तीन दशक लामो गृहयुद्ध समाप्त गरेका थिए। उतिबेला पनि उनका दाजुभाइले महत्वपूर्ण पद ओगटेका थिए। अहिलेका राष्ट्रपति गोताबाय त्यसबेला रक्षामन्त्री थिए। जसका कारण अन्तिम चरणको युद्धमा व्यापक मानव अधिकार उल्लंघनको आरोप उनीमाथि छ। चमाल संसदको सभामुख थिए भने बासिल पनि मन्त्रिपरिषद् सदस्य थिए। 

तर, २०१५ को चुनावमा महिन्दाको हार भयो र उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न पाएनन्। त्यसअघि उनले संविधान संशोधन गराएर तेस्रो कार्यकालका लागि उठ्न पाइने व्यवस्था गरेका थिए।

  • बासिल राजापाक्षे

त्यसपछि बनेको गठबन्धन सरकारले युद्धबाट क्षतविक्षत मुलुकलाई सुधार र मेलमिलापको दिशामा लैजाने अपेक्षा गरिएको छ। युद्ध अपराध, अल्पसंख्यकमाथिको अत्याचारबारे अनुसन्धान हुने आशा थियो। 

तर, नयाँ सरकार आन्तरिक कलहमै अस्तव्यस्त बन्यो। जसका कारण थुप्रै मतदाता राजापाक्षे परिवारले लागू गरेको व्यवस्था फर्किए हुन्थ्यो भन्न थाले। २०१९ मा भएका बम विस्फोटहरुमा २५० भन्दा बढीको ज्यान गयो। यसबारेमा भारतीय गुप्तचर निकायले श्रीलंकालाई पहिले नै सूचना दिइसकेको थियो। तैपनि सरकारले त्यसलाई रोक्न सकेन। यो घटनाले बलियो शासकका रुपमा आफूलाई प्रस्तुत गरेका गोताबाय राजापाक्षेलाई चुनाव जित्न सहयोग पुग्यो।

त्यसयता कोरोना महामारी, त्यसलाई रोक्न गरिएको कडा लकडाउन र पर्यटक आगमनमा प्रतिबन्ध, आदिले गर्दा पहिले नै ऋणमा डुबेको श्रीलंकाको अर्थव्यवस्था अस्तव्यस्त बनेको छ। 

आफ्ना दुवै दाजुहरुलाई राष्ट्रपति बनाउन हालका अर्थमन्त्री बासिल राजापाक्षेको महत्वपूर्ण भूमिका रह्यो। उनलाई परिवारभित्रका व्यवहारिक रणनीतिकार मान्ने गरिन्छ। बासिल अर्थमन्त्री नियुक्त भएबाट उनका दाजुहरुले अर्थतन्त्र संकटमा छ भनेर स्वीकारेको देखिएको केही विश्लेषक तथा विपक्षी नेताहरुको भनाइ छ। 

तर, अर्थमन्त्री चलाउने व्यक्ति राजापाक्षे परिवार बाहिरबाट किन फेला परेन, धेरै जना आश्चर्यमा छन्। 

‘अर्थतन्त्रमा यत्तिको ठूलो संकट हामीले कयौँ दशकमा भोगेका थिएनौँ,’ विपक्षी सांसद तथा अर्थशास्त्री हर्ष डे सिल्भा भन्छन्, ‘तर, राजापाक्षे खलकलाई विज्ञता जति आफ्नै परिवारमा मात्र छ भन्ने विश्वास छ। त्यसैले दाजुले नसके भाइले कोसिस गर्छ। उसले पनि नसके अर्को भाइ अघि सर्छ।’

‘संकटमा छलफल आवश्यक पर्छ, विभिन्न विचारमाथि बहस हुनुपर्छ,’ डे सिल्भा थप्छन्, ‘तर, यो परिवार– उनीहरु सबै एउटै तरिकाले सोच्छन् भन्ने हामीले देखेका छौँ। उनीहरु केही वर्षबाहेक २००५ देखि लगातार सत्तामा छन्।’

पछिल्ला महिनाहरुमा अनेक माग राखेर हजारौँले प्रदर्शन गरिरहेका छन्। जसमा युद्धका बेला बेपत्ताहरुलाई न्याय दिनुपर्नेदेखि लिएर स्वास्थ्यकर्मीलाई क्षतिपूर्ति दिइनुपर्नेसम्मका माग छन्। सरकारले भने कोभिड प्रतिबन्ध उल्लंघन गरेको भन्दै उनीहरुमाथि दमन गर्ने गरेको छ। 

गोताबाय राजापाक्षेको शक्ति केन्द्रीकरण र परिवारका सदस्यलाई पद बाँडेको विषयमा मानवअधिकारवादीहरुले चासो व्यक्त गरेका छन्। उनीहरुका अनुसार गोताबायले विपक्षीलाई सताउन प्रहरी र न्यायलयको दुरुपयोग गरेको, युद्ध अपराधसम्बन्धी अनुसन्धान रोकेको आरोप लगाएका छन्। उनले गम्भीर अपराध गरेका सैन्य अधिकारीहरुलाई माफी समेत दिएका छन्। 

गत वर्ष गोताबायले राष्ट्रपतिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गराए। यसले वैधानिक दण्डहीनता निम्त्याउने तथा नियन्त्रण र सन्तुलनलाई समाप्त गर्ने चेतावनी बार एसोसियसनले दिएको थियो। 

त्यही संशोधनले दोहोरो नागरिकता भएकाहरुलाई महत्वपूर्ण सरकारी पदमा नियुक्ति दिन नमिल्ने व्यवस्था पनि खारेज गरेको थियो। जसका कारण बासिल राजापाक्षे अर्थमन्त्री बन्न सम्भव भयो। उनीसँग अमेरिकी नागरिकता पनि छ। 

अर्को बाधा बासिल राजापाक्षे सांसद थिएनन्। मन्त्री बन्न सांसद हुनैपर्छ। तर, यो बाधा पनि सहजै फुकाइयो। सत्तारुढ दलका एक सांसदले राजीनामा दिए, उनको ठाउँमा पार्टीको सूचीबाट बासिललाई अघि सारियो। 

‘यो माफी माग्नलायक कुरा हो भन्ने उनीहरुलाई लाग्दैन,’ इन्टरनेसनल क्राइसिस ग्रुपमा श्रीलंकाका लागि सल्लाहकार आलन किनन भन्छन्, ‘तर, समस्या के छ भने उनीहरुले पनि समाधान दिन सकेका छैनन्। राजनीतिक आलोचना र प्रदर्शनको स्थानमा थप प्रतिबन्ध लगाउँदै छन्। जसले गम्भीर द्वन्द्वको जोखिम बढाएको छ।’

(न्युयोर्क टाइम्सबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .