प्रदेश २ का चारवटा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। सो पक्षका शीर्ष नेताहरूको उपस्थितिमा महोत्तरी, सिरहा, सप्तरी र बारामा अगुवा कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको हो।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि ठाकुर महतो पक्ष जिल्लाका नेता कार्यकर्ताहरुसँग समिक्षा र आगामी रणनीति बनाउने उद्देश्यले जिल्ला जिल्लामा अगुवा कार्यकर्ता भेला गर्न सुरु गरेका हुन्।
महोत्तरीमा भएको भेलामा नेता महन्थ ठाकुर, प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत लगायतको उपस्थिति थियो भने सप्तरीमा राजेन्द्र महतो, राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, केशव झा, राजिव झा लगायतको सहभागिता रहेको थियो।

सिरहामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा, प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया, जसपा नेता डा. सुरेन्द्रकुमार झा लगायतको उपस्थिति थियो।
यस्तै, बारामा प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रदेशसभा सदस्य जितेन्द्र सोनल, प्रदेश सभा सदस्य बाबुलाल साह, रमेश पटेल लगायत सहभागी थिए।
‘भेलाहरूमा कार्यकर्ताहरुबाट विगतमा नै उपेन्द्र यादवसँग सँगै जानु ठूलो गल्ती भएको जवाफ आएको छ। अगामी दिनमा यस्तो गल्ती नदोहर्याउन, सर्वोच्चको आदेशलाई कुर्न र सर्वोच्चबाट केही आदेश नभए नयाँ पार्टी खोलेर अगाडि बढ्ने जस्ता सुझाव आएको छ’ नेता झाले नेपालखबरसँग भने।
उनले चारवटै जिल्लाको भेलामा उत्साहजनक सहभागिता भएको समेत बताए।

भोलि शनिबार पनि प्रदेश २ को धनुषा र पर्सा लगायत प्रदेश १ को झापा र मोरङमा अगुवा कार्यकर्ता भेला आयोजन हुने नेता झाले जानकारी दिए। जनकपुरको कलवार कुट्टीको सभाकक्षमा हुने भेलालाई नेता ठाकुर, महतो लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेता झाका अनुसार पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णसहितको सहभागिता रहने छ।
Shares

प्रतिक्रिया