राजनीति


सभापति भेलामा पाैडेल पक्ष : आफ्नो समूह तह लगाउन देउवाको हाउगुजी

सभापति भेलामा पाैडेल पक्ष : आफ्नो समूह तह लगाउन देउवाको हाउगुजी

केशव सावद
साउन २७, २०७८ बुधबार २१:३, काठमाडौँ

२०७२ साल फागुनमा नेपाली कांग्रेसको १३ औँ महाधिवेशन भएको थियो। सभापतिमा निर्वाचित शेरबहादुर देउवाको चार वर्षे कार्यकाल २०७६ फागुनमै सकिएको थियो। 

कांग्रेसको विधान, २०१७ (नवौँ संशोधनसहित) को धारा १७ को उपधारा (१) मा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने व्यवस्था छ। विधानतः चार वर्षे कार्यकाल सकिनै लाग्दा कांग्रेसले विधानको धारा ४३ ले गरेको व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिको पदावधि एक वर्ष थप गरेको थियो। 

‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिन्छ,’ विधानको धारा ४३ मा लेखिएको छ। 

२०७२ फागुन २० गतेदेखि २३ गतेसम्म भएको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि पुरा हुने समय नजिकिँदै गर्दा २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सोही व्यवस्था प्रयोग गर्दै केन्द्रीय कार्यसमिति र मातहतका सबै कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको थियो। 

बैठकले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौँमा १४ औँ महाधिवेशन गर्ने निर्णय समेत गरेको थियो। संविधानको धारा २६९ को उपधारा ४ को (ख) अनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको पदावधि २०७७ फागुनमै पुरा भएको हो। 

तर, सोही धारामा भएको व्यवस्थाअनुसार ६ महिना पदावधि थप गर्दै कांग्रेसले भदौ २३ गतेसम्म वैधानिक बन्ने बाटो तय गरेको छ। संविधानले दिएको अधिकार प्रयोग गरेर थप गरिएको ६ महिनाभित्र पनि महाधिवेशन नगरे कांग्रेसलाई वैधानिक संकट आइपर्ने छ। 

गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको थियो। जुन कार्यतालिका कांग्रेसले पाँचौ पटक परिमार्जन गरेको हो। 

कार्यतालिकाअनुसार गत साउन १२ देखि गाउँ/नगर वडा अधिवेशन गर्नुपर्ने थियो। तर, पार्टीमा देखिएको क्रियाशील सदस्यता वितरण र पार्टी समायोजनको विवादका कारण कांग्रेसले गाउँ/नगर वडा अधिवेशन स्थगित गरेको छ।  

पाँचौँ पटक परिमार्जित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्न नसके पनि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता कांग्रेसलाई छ। 

पार्टीमा देखिएको वैधानिक संकटप्रति चिन्ता प्रकट गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूले संघीय राजधानी काठमाडौँको ठमेलस्थित एक होटलमा दुई दिने गुट भेला गरेका छन्।

सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको भेलामा ३८ जना जिल्ला सभापति उपस्थित थिए। थप १७ जना जिल्ला सभापतिहरुले ‘भर्चुअल’ माध्यमबाट सहभागिता जनाएको पौडेल समूहले दाबी गरेको छ। 

‘१४ औँ महाधिवेशनको तिथिमिति सर्दै गएको छ। पार्टीको विधान र संविधानले दिएको अवधि समाप्त हुँदैछ। पार्टीमाथि प्रश्नचिन्ह लाग्ने अवस्था सिर्जना भएको छ,’ भेलामा सहभागी कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले भने, ‘यो बाध्यात्मक परिस्थितिमा सहजीकरण गरेर उपयुक्त किसिमको निकास दिई कसरी अधिवेशन सम्पन्न गर्ने भन्ने बारेमा छलफल गर्न हामी जम्मा भएका हौँ।’

संस्थापनइतर समूहमा रहेका जिल्ला सभापतिहरूले भेलाको समापनमा आफू पक्षीय नेताहरुलाई बोलाएर आ–आफ्नाे धारणा सुनाएका छन्। उनीहरुले नेतृत्व तहमा रहेका पार्टीका प्रभावशाली नेताहरुलाई पार्टीमा कस्तो कदम चाल्ने भन्नेबारे पनि सुझाव दिए।

भेलामा सहभागी बागमती प्रदेशअन्तर्गतको एक जिल्लाका सभापतिले संस्थापनइतर समूहमा रहेका शीर्ष नेताहरुलाई ‘तह’ लगाउनु नै भेलाको मुख्य उदेश्य भएको दाबी गरे।

‘यो भेला उता (संस्थापन) देखाएर यता (इतर)का लाई तह लगाउनकै लागि हो। जिल्ला सभापतिहरू भेला भएका छन् भन्दा हामीले केही नगरे पनि उता के–के न गरिहाले सभापतिहरुले भन्ने भान पर्ने, यताका नेताहरुलाई सुनाउन पनि पाइने,’ उनले भने। 

भेलाको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पनि ती सभापतिको दाबीलाई बल पुग्ने प्रतिक्रिया दिए। उनले पौडेल समूहका नेताहरु कमजोर ढंगले प्रस्तुत हुने गरेका कारण उनीहरुलाई बलियोगरी खुट्टा टेकाउन आफूहरु भेला भएको बताए।  

‘कमजोर ढंगले प्रस्तुत नहुनुस्। तपाईंहरुको प्रस्तुति कमजोर भयो। तपाईंहरुले अहिलेको विषयवस्तु र पार्टीको वैधानिकताका विषयमा आफ्नो कुरो स्ट्रङ्ली अगाडि बढाउनुस् भनेर सुझाव दिनका लागि जिल्ला सभापतिहरुको भेला राखेका हौँ,’ सभापति केसीले नेपालखबरसँग भने।      

जिल्ला सभापतिहरुले भेलाको समापन समारोहमा शीर्ष नेताहरुलाई बोलाएर महाधिवेशनमा देउवाविरुद्ध एकजुट भएर जान पनि दबाब दिएका छन्। उनीहरुले देउवाविरुद्ध एकजुट भएर जान नसके आफूहरुका तर्फबाट कुनै एक जिल्ला सभापतिले नै सभापति पदमा उम्मेदवारी दिनेसम्मको चेतावनी दिएका छन्। 

‘हामी सबैले उहाँहरुमध्ये एकजना उठ्नुपर्छ। मिलेर उठ्नुपर्‍याे। सहमति भएन भने उम्मेदवार बन्नकै लागि उम्मेदवार बन्ने हो भने जिल्ला सभापतिहरु मध्येबाट एक जना तयार हुने भन्नेसम्मको कुरा पनि उठिसकेको छ,’ भेलामा सहभागी कांग्रेस तप्लेजुङकी सभापति लीला बोखिमले भनिन्, ‘७–८ जना उम्मेदवार हुने हो भने जिल्ला सभापति किन चुप लागेर बस्ने त?’

भेलामा जिल्ला सभापतिहरुले संस्थापन पक्षसँग बलियोगरी खुट्टा टेक्न नसकेको भन्दै शीर्ष नेताहरुलाई र्‍याख र्‍याख्ती परेपछि वरिष्ठ नेता पौडेलले देउवा पक्ष आफूहरुमाथि आक्रामक बन्ने गरेको गुनासो गरेका थिए। इतर पक्षले भने संस्थापनको प्रतिवाद गर्न नसकेको उनको भनाइ थियो। 

‘शेरबहादुरजी आफैंँ झम्टिन आउनुहुन्छ। पूर्णबहादुर खड्का, प्रकशशरण महत त्यस्तै। कर्मचारी सबै उनीहरुकै,’ पौडेलले भेलामा भने, ‘सिटौलाजी बोल्नुहुन्न। मिनेन्द्र पनि कडा रुपमा प्रस्तुत हुँदैनन्।’  

जिल्ला सभापतिहरुले समापनमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु बलबहादुर केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, डा. शेखर कोइराला, धनराज गुरुङ, कल्याण गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, सुजाता कोइराला, सरिता प्रसाईं, किरण यादवलगायतलाई आमन्त्रण गरेका थिए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .