राजनीति


निधिलाई छैन प्रदेश २ कै सभापतिहरूको साथ, भन्छन् : हाम्रो नेता देउवा दाइ नै हो

निधिलाई छैन प्रदेश २ कै सभापतिहरूको साथ, भन्छन् : हाम्रो नेता देउवा दाइ नै हो

केशव सावद
साउन २९, २०७८ शुक्रबार १७:५५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई उनकै गृह प्रदेशबाट साथ नमिल्ने अवस्था देखिएको छ। प्रदेश २ बाट सभापति शेरबहादुर देउवा पक्षको भेलामा आएका ८ मध्ये ५ जिल्ला सभापतिहरूले निधिलाई साथ नदिने संकेत गरेका छन्। 

निधिले १४ औँ महाधिवेशनमा सभापतिमा उठ्न लविङ गरिरहेका बेला उनकै गृह प्रदेशका सभापतिहरूको साथ मिल्न कठिन देखिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलालाई ‘काउन्टर’ दिन ललितपुरमा आयोजित संस्थापन पक्षीय सभापतिहरूको भेलामा प्रदेश २ बाट सहभागी नेताहरुले आसन्न महाधिवेशनमा देउवालाई नै सघाउने वचन दिएका छन्।

प्रदेश २ का आठमध्ये पाँच जिल्लाका सभापतिहरू कुपण्डोलको समिट होटलमा आयोजित भेलामा सहभागी भएका थिए।

भेलामा मन्तव्य राख्ने क्रममा उनीहरुले आसन्न महाधिवेशनमा आफूहरुले देउवालाई नै सघाउने वचन दिएको सहभागी एक नेताले जानकारी दिए।

‘प्रदेश २ का जिल्ला सभापतिजीहरु आगामी महाधिवेशनमा उठ्ने सभापति उम्मेदवारबारे प्रष्ट हुनुहुन्छ। उहाँहरु शेरबहादुर दाइभन्दा बाहिर जानुहुन्न,’ ती सभापतिले नेपालखबरसँग भने, ‘उहाँहरुले प्रष्टै भन्नुभयो– सभापतिमा शेरबहादुर दाइभन्दा दायाँ बायाँ जान सकिँदैन।'

भेलामा सहभागी प्रदेश २ का एक जिल्ला सभापतिले आफूहरु सबै अहिले एउटै समूहमा रहेर एकमात्र उम्मेदवार होस् भन्ने चाहना आफूहरूको रहेको प्रतिक्रिया दिए। उनले भेलामा भएको छलफलबारे कुनै प्रतिक्रिया जनाएनन्।

‘देउवा, निधि भन्ने कुरा नै होइन। हामी त एक उम्मेदवार चाहन्छौं,’ उनले नेपालखबरसँग भने, ‘शेरबहादुर दाइ हाम्रो सभापति हो। अब सभापति मात्रै होइन, प्रधानमन्त्री पनि हो। हामी उहाँकै मान्छे हौं।’

उपसभापति  निधिले पार्टी सभापतिमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेको एक वर्ष पूरा भएको छ। 

उनले गत वर्ष साउन २९ गते सभापति सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ निवासमा भेटेर १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका थिए।

‘म १४ औँ महाधिवेशनमा सभापतिमा लड्न चाहन्छु। त्यसमा तपाईंको समर्थन चाहन्छु। तपाईंकै मार्गदर्शनअनुसार सभापति बनिसकेपछि पनि पार्टी सञ्चालन गर्छु,’ निधिले सभापति देउवासँग भनेका थिए।

जवाफमा देउवाले उनलाई १५ औं महाधिवेशनमा सभापतिमा लड्न सल्लाह दिएका थिए। प्रत्युत्तरमा निधिले विभिन्न कारण देखाउँदै १५ औं महाधिवेशन आफ्ना लागि ‘सुट’ नगर्ने बताएका थिए।

निधिले १५ औँ महाधिवेशनमा आफू ७० वर्ष पुग्ने भएकाले यही पटक नेतृत्वमा जान चाहेको बताइरहेका छन्। उनले ३/४ पुस्ता जाम रहेको नयाँ पुस्तालाई ढोका खोल्न पनि आफूले यो कदम चालेको उल्लेख गरेका छन्।

सबै पदहरु निर्वाचित भएर आउने भएकाले सभापतिले मनोनित गर्ने व्यवस्था नभएको भन्दै १५ औं महाधिवेशनसम्म पर्खनु आफ्ना लागि अनुकुल नहुने तर्क निधिले गरिरहेका छन्।

त्यो बेला उनी देउवाकै समर्थनमा सभापतिमा उठ्ने भन्दै बूढानीलकण्ठबाट बाहिरिएका थिए। त्यसपछि निधिले काठमाडौंमा नेताहरुसँग भेटघाट गर्नुका साथै जिल्लामा टेलिफोन सम्पर्क गरेर नेता–कार्यकर्ताहरुसँग आफू सभापतिमा उठ्ने बताउँदै आएका थिए।

उनी सभापतिमा प्रतिस्पर्धा गर्नका लागि अहिले पनि आन्तरिक तयारी गरिरहेका छन्। उपसभापति निधिले साउन ५ गते सभापति देउवाकै निवास पुगेर फेरि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताएका थिए।

आफूले गत वर्षको साउन अन्तिम साता उम्मेदवारीका विषयमा राखेको कुरा स्मरण गराउँदै उनले देउवालाई भनेका थिए, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु।’

स्रोतका अनुसार जवाफमा देउवाले निधिलाई ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए। उक्त दिन सभापति देउवाले प्रदेश २ का नेताहरुलाई निवासमै बोलाएर सभापति पदमा आफूले उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए।

छलफलका क्रममा उपसभापति निधिले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। छलफलमा उपसभापति निधिसँगै केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जंगीलाल यादव, शम्भु श्रेष्ठलगायत नेताहरुको उपस्थिति थियो।

लामो समयदेखि साथ दिँदै आएका निधिले संस्थापन समूहबाटै ‘विद्रोह’ गरेर उम्मेदवारी दिने तयारीमा लागेपछि देउवा कमजोर हुने आंकलन कांग्रेस वृत्तमा देखिएको छ।

पछिल्लो समय इतर समूहमा रहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नियमित सम्पर्कले उनी देउवाविरुद्ध उम्मेदवारी दिन मानसिक रुपमा तयार भइसकेको पनि संकेत मिल्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .