राजनीति


बाढीपहिरो पीडितलाई नगद राहत दिने गण्डकी सरकारको घोषणा

बाढीपहिरो पीडितलाई नगद राहत दिने गण्डकी सरकारको घोषणा

वाशुदेव मिश्र
भदौ १६, २०७८ बुधबार २०:४९, काठमाडौँ

गण्डकी सरकारले बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि राहतको घोषणा गरेको छ। 

मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले प्रदेशका ११ वटा जिल्लाका बाढी, पहिरो पीडितलाई १ लाख रुपैयाँ नगद दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता मन्त्री कुमार खड्काका अनुसार बाढीले बढी प्रभावित भएका मनाङवासीलाई भने २ लाख रुपैयाँ दिने निर्णय भएको छ।

मनाङमा बाढीपहिरोबाट ७५ वटा घर पूर्ण रुपमा क्षति भएकाले पुनः निर्माण गर्नुपर्ने उनले बताए। यसैगरी सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।

माओवादी केन्द्रसहितको गठबन्धन सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा घाइतेहरुलाई परिचयपत्रको आधारमा सरकारी अस्पतालमा उपचार प्रबन्ध मिलाउने निर्णय गरेको हो।

गण्डकीका अर्थमन्त्री रामजी बरालले पदभार ग्रहणसँगैको जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गर्ने पहिलो निर्णय गरेका थिए। उपचारको लागि कार्यविधि बनाइने पनि उनले बताए।

मन्त्री खड्काले यसअघिको सरकारले अगाडि सारेका र आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा अनुसूचिमा राखिएका १४ वटा बहुवर्षीय योजनाहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको छ। आफ्नो सरकारले अघि बढाएका योजनाहरु काटेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध नै गरेको थियो भने निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ज्ञापनपत्र बुझाएर कडा आपत्ति जनाएका थिए। 

मन्त्री खड्का अनुसार स्रोत सुुनिश्चित भएसँगै ती योजना अगाडि बढाइएको हो। ती परियोजना सम्पन्न गर्न अर्थ विविध कोषबाट २३ करोड ७५ लाख विनियोजन गरिएको छ।

‘१४ योजनामध्ये ९ वटा कार्यक्रम सुरु भइसके। ५ वटाको भने स्रोत सुनिश्चित थिएन, एउटाको वातावरणीय मूल्यांकन नहुँदा काम रोकिएको हो’,उनले भने,‘ ती ५ वटा योजनालाई अर्थ मन्त्रालयमा रहेको अर्थ विविधबाट बजेट विनियोजन भएको छ।’

उनका अनुसार बहुवर्षीय योजनालाई कूल लागतको २० प्रतिशत बजेट छुट्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .