ad ad

राजनीति


एमसीसीका उपाध्यक्ष आएसँगै सुरक्षा कडा, यस्तो छ भेटघाट तालिका

भीआईपी निवासदेखि रुटहरुमा निगरानी
एमसीसीका उपाध्यक्ष आएसँगै सुरक्षा कडा, यस्तो छ भेटघाट तालिका

उजिर कार्की
भदौ २४, २०७८ बिहिबार १३:७, काठमाडौँ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली बिहीबार आएपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। 

एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान काठमाडौं आइसकेका छन्। 

उनीहरुले बिहीबारबाटै शीर्ष नेताहरुसँग भेटघाट सुरु गर्दैछन्। टोली अहिले महाराजगन्जस्थित अमेरिकी दूतावासमा छ। 

त्यसपछि दूतावासबाट सिधै बालकोट पुगेर टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने कार्यक्रम रहेको छ। 

एमाले अध्यक्षअ ओलीसँगको भेटपछि टोली एमसीसीको कार्यालय दरबारमार्ग फर्किने तालिका छ। त्यसपछि टोली होटल मेरियटमा जाने र भेटघाट गर्ने कार्यतालिका रहेको छ। 

त्यसपछी बाँकी राजनीतिक भेटघाट शुक्रबार हुनेछ। शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेतासँग भेटघाट गर्ने तालिका छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता हुने बताइएको छ।

‘टोलीको मुभमेन्ट जहाँ हुँदैछ, त्यहाँ त्यहाँ हामीले पर्याप्त जनशक्ति परिचालन गरेका छौं', काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले नेपालखबरसँग भने, 'भीआईपी निवासमा सुरक्षा व्यवस्था गरिएको छ। एमसीसीलाई लक्षित गरेर भइरहेका विरोधका गतिविधिमाथि निगरानी बढाइएको छ।’ 
 
एमसीसीको विरोधमा गतिविधि हुन सक्ने सम्भावित ठाउँमा बिहानैबाट बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकका प्रहरीको संख्या पनि बढाइएको छ।

बिहीबार विमानस्थलमा विरोध गर्न पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि बुधबार १६ जना पक्राउ परेका थिए। ती मध्ये १० जना छुटे पनि ६ जनालाई प्रहरीले अझै थुनामा राखेको छ। 

सरकारले संसदबाट एमसीसी पास गर्ने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ। एमसीसीको टोली आएपछि यसविरुद्ध थप गतिविधि हुनसक्ने भएकाले सबै सुरक्षा निकायलाई हाइअर्लट गरिएको गृह मन्त्रालयले जनाएको छ।

‘एमसीसी केन्द्रीत विरोधका कार्यक्रम बढिरहेका छन्। यसलाई नियन्त्रण गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ’, गृहमन्त्रालय श्रोतले भन्यो। 

पछिल्लो एकसातामा सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताले पनि एमसीसीको विरोध गरिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .