राजनीति


निधिको विद्रोहले देउवालाई धक्का, पौडेल समूहमा पनि संकट

निधिको विद्रोहले देउवालाई धक्का, पौडेल समूहमा पनि संकट

केशव सावद
भदौ २७, २०७८ आइतबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षबाट विद्रोह गर्ने निश्चित देखिएसँगै इतर समूहका सभापतिका आकांक्षी उत्साहित भएका छन्। 

आसन्न १४ औँ महाधिवेशनमा एकजुट भएर चुनावी मैदानमा उत्रिने बताइसकेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आकांक्षीहरु निधिको विद्रोहले सभापति शेरबहादुर देउवालाई रोक्न सकिने अनुमानसहित उत्साहित देखिएका हुन्।

उपसभापति निधिले संस्थापन पक्षबाट विद्रोह गरेर उम्मेदवारी दिए इतर समूहका सभापतिका आकांक्षीहरु आफ्नै ढंगबाट अलग–अलग चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन्। 

‘विमलेन्द्र दाइले उम्मेदवारी तयारी गरेपछि कांग्रेसमा नयाँ तरंग आएको छ’, संस्थापन इतर समूहका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘सबैले आ–आफ्नो सम्भावना देख्न थाल्नुभयो।’

संस्थापन ‘क्याम्प’ मा विद्रोह भए वरिष्ठ नेता पौडेलको नेतृत्वको समूह पनि फुट्ने प्रवल सम्भावना रहेकाले त्यहीअनुसार आकांक्षीहरु आन्तरिक तयारीमा रहेका ती नेताले बताए।

उपसभापति निधिले उम्मेदवारी दिए उनलाई कमजोर आँकलन गरेर पौडेल समूहका आकांक्षीहरु पनि चुनावी मैदानमा होमिने सम्भावना बढेर गएको ती केन्द्रीय सदस्यको भनाइ छ।

उपसभापति निधि आगामी महाधिवेशनमा उठे सभापति देउवाको झण्डै ३० प्रतिशत ‘स्ट्रेन्थ’ घट्ने अनुमान ती नेताले गरे । 

‘विमलेन्द्र दाइ उठ्नुभयो भने ठूलो गुट फुट्छ । त्यसबाट देउवाको २५ देखि ३० प्रतिशत स्ट्रेन्थ घट्छ,’ ती नेताले भने, ‘त्यो अवस्थामा कोइराला परिवारका सदस्य पनि एक हुँदैनन्।’ 

पहिलो चरणमा दोस्रो भएर दोस्रो चरणको निर्वाचनमा देउवासँग प्रतिस्पर्धाका लागि पौडेल समूहका आकांक्षीहरूले योजना बनाउने ती नेताको दाबी छ। ‘पहिलो चरणको चुनावबाट दोस्रो हुन धेरै आकांक्षी मैदानमा आउँछन्,’ उनले भने। 

संस्थापन इतर समूहका आकांक्षीमध्येका बलियो मानिने महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएको नवलपुर पुगेर औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन्। 

उनले शनिबार कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै कुनै हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन्।   

‘गिरिजाबाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो। मैले पनि गृहजिल्ला नवलपुर आएर सभापतिका लागि उम्मेदवारी घोषणा गर्दछु,’ महामन्त्री डा. कोइरालाले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो। सहमति हुन नसके निर्वाचनबाटै नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो।’

यस्तै अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आफूलाई इतर समूहको बलियो दाबेदारका रुपमा प्रस्तुत गर्दै आएका छन्। 

१३ औँ महाधिवेशनमा आफूले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउन उम्मेदवारी नदिएको बताउँदै यस पटक अवसर पाउनुपर्ने बताउँदै आएका छन्।

नेता सिंहले आफूनिकट नेता–कार्यकर्तासँगको भेटमा १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका स्रोतले जनाएको छ। 

यस्तै अर्का आकांक्षी डा. शेखर कोइराला पनि आफू आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट पछि नहट्ने सन्देश दिँदै आएका छन्।

‘मैले १३ औँ महाधिवेशन लगत्तै सभापतिका लागि तयारी अगाडि बढाएको हुँ। त्यसैले यत्ति मान्नोस्, म उपसभापति र महामन्त्रीको उम्मेदवार होइन,’ उनी समाजिक सञ्जालमा यसरी प्रस्तुत हुँदै आएका छन्। 

त्यस्तै वरिष्ठ नेता पौडेल पनि इतर समूहका आकांक्षीहरु सवैले आफूलाई ‘अम्ब्रेला’ मानेर जानुपर्ने बताउँदै आएका छन्।  

उपसभापति निधिले सभापति पदको उम्मेदवारीका लागि देउवा ‘क्याम्प’मा विद्रोह नगरे इतर समूहमा मिलेरै अगाडि बढ्ने कसरत हुने इतर समूहनिकट एक युवा केन्द्रीय सदस्यको भनाइ छ। 

‘फुटेनन् भने यता मिल्ने कसरत हुन्छ, मिल्नका लागि पनि आकांक्षीहरुमा दबाब बढ्छ,’ अर्का केन्द्रीय सदस्य भन्छन्, ‘फुटे भने मिल्ने कसरत हुँदैन। आफू–आफू लड्छन्।’

संस्थापनइतर समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला सभापति पदको उम्मेदवारका रुपमा आकांक्षा राख्दै आएका छन्।

यद्यपि, पौडेल समूहले महाधिवेशन प्रक्रिया सुरु हुनु एक दिनअघि भदौ १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आफनो पक्षका आकांक्षी मध्येबाट एक जनामात्रै उम्मेदवार बन्ने घोषणा गरेको थियो। 

संस्थापन इतर नेताहरूका तर्फबाट साझा आवाज बोल्दै वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा सहमतिमै अघि बढ्ने बताएका थिए। ‘हाम्रो तर्फबाट सभापतिको उम्मेदवार एकजना मात्रै हुनेछ,’ पौडेलले भनेका थिए, ‘यो कुरामा देशभरका साथीहरूलाई पनि विश्वास दिलाउन चाहन्छौं।’ 

अहिले संस्थापन इतर समूह पार्टीलाई एक बनाएर अघि बढाउने योजनामा रहेको पनि उनले दाबी गरे। 

‘हामी कांग्रेसलाई एकतावद्ध बनाउन लागेका छौँ। एकतावद्ध कांग्रेसमा हाम्रो अस्तित्व पनि जोगाउनु छ,’ पौडेलले भने, ‘हामी हाम्रो एकतालाई १४ औँ महाधिवेशनका लागि जोगाइराख्छौँ। सबैको सहमतिमै एकजना सभापतिका उम्मेदवार बनाउँछौं।’

तर, त्यसको १० दिन बितिसक्दा पनि संस्थापनइतर समूहले साझा उम्मेदवारबारे छलफलसमेत गरेको छैन। साझा उम्मेदवार तय गर्ने विषयमा अहिलेसम्म आकांक्षीबीच सामूहिक छलफल पनि नभएको एक आकांक्षीका स्वकीय सचिवले पुष्टि गरे।  

पौडेल समूहमा रहेका एक केन्द्रीय सदस्यले निधिको उम्मेदवारी घोषणाले साझा उम्मेदवार तय गर्ने विषयले प्राथमिकता नपाएको बताए। उनले पनि इतर समूहका आकांक्षीहरुमा आफूमात्र देउवापछिको बलियो उम्मेदवार हुँ भन्ने भान परेको बताए। 

‘समूहमा सबैभन्दा बलियो म हुँ भन्ने सबै आकांक्षीले दाबी गर्दै आउनुभएको छ। उताबाट विमलेन्द्र दाइ पनि उम्मेदवार भए देउवापछि सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणको निर्वाचनमा लड्छु भन्ने पनि नेताहरुमा परेको जस्तो देखिन्छ,’ ती नेताले भने। 

पौडेल समूहका एक आकांक्षीका विश्वासपात्र स्रोतले महाधिवेशन प्रतिनिधि चयन हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न नभएसम्म साझा उम्मेदवार तय हुन नसक्ने दाबी गरेका छन्। 

‘अहिले सबैलाई आ–आफू बलियो लागिरहेको छ। महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय अधिवेशन नहुँदासम्म हाम्रोबाट साझा उम्मेदवार टुङ्गिएला जस्तो लाग्दैछ,’ उनले नेपालखबरसँग भने, ‘क्षेत्रीय अधिवेशन भएपछि कसको कति मान्छे महाधिवेशन प्रतिनिधि आउँछन् त्यसले साझा उम्मेदवार तय गर्न केही सजिलो होला।’

ती नेताले संस्थापन समूहबाट दुई वा दुईभन्दा बढी उम्मेदवार देखिए पौडेल समूहबाट पनि दुई वा दुईभन्दा बढी उम्मेदवार सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिन सक्ने सम्भावना पनि रहेको संकेत गरे। 

‘सबैले म बलिया, म बलियो भनिराक्नुभएको छ। यस्तो अवस्थामा साझा उम्मेदवारका लागि सहमति नजुट्न पनि सक्छ,’ उनले भने, ‘यसो भयो भने यताबाट पनि दुई उम्मेदवार उठ्ने, जसले बढी मत ल्याउँछ उसलाई पहिलो चरणबाट बाहिरिनेले दोस्रो चरणमा सघाउने भन्ने सम्भावनालाई पनि नकार्न सकिन्न।’

पौडेल समूह यसअघि पनि तीन पटक साझा उम्मेदवार तय गर्न आकांक्षीहरुसँगको छलफलमा जुटेको थियो। तर, तीनवटै छलफल बिनानिष्कर्ष टुंगिएका थिए। 

पौडेल समूहले भदौ ७ गते बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सभापति पदका आकांक्षीहरूको बैठक राखेर वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने समझदारी जुटाएको थियो। 

तर, भदौ १५ र १६ गते पौडेल निवास बोहराटारमा बसेको बैठक पनि साझा उम्मेदवार टुंग्याउन असफल भएको थियो। साझा उम्मेदवार टुंग्याउन असफल भएपछि उक्त समूहले भदौ १७ गते आफ्नो समूह एकढिक्का भएको सन्देश प्रवाह गर्न सानेपामा पत्रकार सम्मेलन गरेको थियो।   

उपसभापति निधिले विद्रोह गर्ने सम्भावना बढेपछि ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि हौसिएका छन्। 

निधिलाई कमजोर उम्मेदवार आंकलन गरेर पौडेल समूहबाट एकभन्दा बढी उम्मेदवार चुनावी मैदानमा आए आफू पनि होमिने तयारीमा सिटौला छन्।

उनको सचिवालयले आगामी महाधिवेशनमा कुनै एक समूहलाई सघाएर जाने सम्भावना नरहेको दाबी गरेको छ । ‘उहाँ कसैसँग पनि मिल्नुहुन्न। न सभापतिसँग न वरिष्ठ नेतासँग,’ सचिवालय स्रोतले भन्यो, ‘एउटा पक्षसँग मिलेर जाने कुनै सम्भावना छैन।’

१३ औँ महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका सिटौलाले पनि आफू आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्। 

‘हो, म महाधिवेशनमा सभापति पदको उम्मेदवार हो,’ के तपाईं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुहुन्छ भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘पार्टीभित्रको प्रतिस्पर्धामा म कसैसँग पूर्वाग्रह नराखी अगाडि जानुपर्छ भन्ने मान्यता राख्छु।’

पौडेल समूहले सभापति देउवाविरुद्ध साझा उम्मेदवार चुनावी मैदानमा उतार्ने सम्भावना भने न्यून रहेको सिटौला समूहको बुझाइ छ। 

‘यसपल्ट देउवालाई सघाउनु हुन्न। पौडेल समूहलाई मिलाउन खोज्नुभएकै हो,’ उनीनिकट नेताले भने, ‘उहाँहरु आफैँ मिलिरहनुभएको छैन। मिल्ने छाँटकाँट नै देखिन्न। यस्तो अवस्थामा कहाँ सघाउनु हुन्छ?’

नेता सिटौलाले २०७६ फागुनमा गृहजिल्ला झापा पुगेर पहिलोपटक आउँदो महाधिवेशनमा पनि अलग समूह बनाउने घोषणा गरेका थिए। उनले १४ औं महाधिवेशनलाई नै लक्षित गरेर २०७६ फागुन अगाडि नै सम्पर्क कार्यालय खोलेका थिए। 

काठमाडौंको महाराजगञ्जस्थित रिङ रोडको मुख्य सडकबाट नजिकै रहेको सम्पर्क कार्यालयमा सिटौलाले नेता–कार्यकर्तासँग नियमित भेटघाट सुरु गरेका थिए। तर, महाधिवेशन सरेपछि अहिले उनको सम्पर्क कार्यालय गौशाला सरेको छ। 

गत चैतबाट महाराजगन्जबाट गौशाला सम्पर्क कार्यालय स्थापना गरिएको स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। उनका अनुसार सिटौला सम्पर्क कार्यालयमा दिउँसो १ बजेबाट नियमित रुपमा उपस्थित हुने गरेका छन्।  

यसअघि १३ औं महाधिवेशनमा पहिलो चरणबाटै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले वर्तमान प्रधानमन्त्री देउवालाई सभापतिमा सघाएका थिए। सिटौलाकै सहयोगका कारण देउवाले प्रतिद्वन्द्वी पौडेललाई हराएका थिए। 

तर, नेता सिटौलाले १४ औं महाधिवेशनको चहलपहल बढेसँगै यसपटक देउवालाई सघाउनेबारे सोच्न पनि नसकिने सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .