ad ad

राजनीति


एकीकृत समाजवादीले ‘जबस’ मान्ने, झलनाथको नेतृत्वमा बन्यो विधान र प्रतिवेदन

एकीकृत समाजवादीले ‘जबस’ मान्ने, झलनाथको नेतृत्वमा बन्यो विधान र प्रतिवेदन

सागर न्यौपाने
असोज ४, २०७८ सोमबार २१:३४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले ‘जनताको बहुदलीय समाजवाद’ (जबस)लाई सिद्धान्तका रुपमा अवलम्बन गर्ने भएको छ। 

नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीले एमालेको जनताको बहुदलीय जनवाद ‘जबज’ भन्दा फरक ‘जबस’ अवलम्बन गर्न लागेको हो।  

मंगलबारदेखि काठमाडौँमा सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा जबस राख्ने प्रस्ताव गरिएको एक नेताले जानकारी दिए।

‘यो पार्टी आजको परिस्थितिमा माक्र्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन, मुलुकको विशिष्ट परिस्थिति अनुरूपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ भन्नेमा दृढ छ र जनताको बहुदलीय समाजवाद (जबस)लाई सिद्धान्तका रुपमा अवलम्बन गर्नेछ,’ प्रतिवेदनबारे ती नेताले नेपालखबरसँग भने।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ जना नेताहरुले राजनीतिक प्रतिवेदन, पार्टी घोषणापत्र र विधान तयार गरेका हुन्। खनालकै परामर्शमा प्रतिवेदनलाई अन्तिम रुप दिने काम बेदुराम भुसाललगायतले गरेका हुन्। 

भदौ ८ गते माधव नेपालसहितका नेताहरुले चन्द्रागिरि रिसोर्टमा बसेर प्रतिवेदनमाथि छलफल गरेका थिए। सोही प्रतिवेदनमा संशोधनसहित अन्तिम रुप दिइएको हो।

‘चन्द्रागिरिमा पेस गरिएको प्रतिवेदनलाई परिमार्जन गरिएको छ, नेताहरुको सुझाव समेटिएको छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने।

एमालेबाट विद्रोह गरेर बनेको नयाँ पार्टीले सिद्धान्त पनि परिवर्तन गरेको हो। एमालेले जनताको बहुदलीय जनवाद (जबज) मान्दै आएको थियो। तर, माओवादी केन्द्रसँग २०७५ जेठ ३ गते पार्टी एकता भएपछि नेकपाले भने ‘जनताको जनवाद’ भन्दै आएको थियो।  

‘झलनाथ खनालको सुझाव लिएर राजनीतिक प्रतिवेदन तयार पार्ने काम बेदुराम भुसालजीले गर्नुभएको हो,’ ती नेताले भने, ‘त्यसमा अन्य केही साथीहरुले सहयोग गर्नुभएको छ।’

यसअघि खनालले २०६५ सालमा नेकपा एमालेको राजनीतिक प्रतिवेदन तयार पारेका थिए। बुटवलमा भएको आठौँ महाधिवेशनमा खनालकै प्रतिवेदन पारित भएको थियो र उनी एमालेको अध्यक्ष निर्वाचित भएका थिए।

त्यसको १३ वर्षपछि नयाँ दल एकीकृत समाजवादीको प्रतिवेदन खनालकै नेतृत्वमा तयार भएको छ। दिल्लीमा उपचार गरेर फर्किएका उनी राम्रोसँग तंग्रिसकेका छैनन्। 

राजनीतिक प्रतिवेदनको संक्षिप्त रुप मात्र मंगलबार सुरु हुने केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई वितरण गर्ने पार्टी प्रवक्ता खतिवडाले जानकारी दिए।

‘भोलि बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेस हुनेछ, उनले भने, ‘यसको विस्तृत प्रतिवेदन केही समयपछि मात्र ल्याउनेछौँ।’ 

खतिवडाले केन्द्रीय कमिटी बैठकमा पार्टीको घोषणापत्र, नयाँ पार्टी गठन भएपछिको कामको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, कार्ययोजना र विधान पेस हुने र छलफल गरी पास गर्ने बताए। 

‘ओली व्यक्ति होइन प्रवृत्ति हो, यो प्रवृत्ति कम्युनिस्ट आन्दोलन सिध्याउन कारक बन्यो, यसको रक्षा गर्न अलग भयौँ,’ पार्टी विभाजनबारे प्रतिवेदनमा उल्लेख गरिएको विषय उधृत गर्दै खतिवडाले भने, ‘संवैधानिक शक्तिहरुसँग सहकार्य घनीभुत बनाएर जाने, त्यसका लागि साना दल, व्यक्ति र विचारहरुबीच ध्रुवीकरण गराउने नीति पार्टीले लिएको छ।’

नेकपा एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालसहितका नेताहरुले भदौ ९ गते दलको मान्यता पाएका थिए। 

एकीकृत समाजवादी पार्टीको घोषणापत्र ६ पृष्ठको छ। घोषणापत्रमा एमालेको नवौँ महाधिवेशनबाट गलत व्यक्ति अध्यक्ष हुँदा समस्या आएको उल्लेख गरिएको छ।

‘नवौं महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो,’ घोषणापत्रमा उल्लेख छ,  ‘मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनले पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन ग¥यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन्। अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन्। उनले महाधिवेवशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएको थियो।’

सर्वाेच्च अदालतले ब्युँताइदिएको एमालेमा पनि अध्यक्ष ओलीले पेल्दै गएपछि पार्टी विभाजनको अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

‘पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसको पहल गर्नु पर्दथ्यो तर उनले त्यस्तो पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो पक्षको मात्र बैठक बसी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनमा धकेलिदिए,’ घोषणापत्रमा लेखिएको छ, ‘हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न ग¥यौँ तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई बिसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न अग्रसर गरेका हौँ।’

यी हुन् प्रतिवेदन तयार पार्ने १३ नेता 
१. झलनाथ खनाल (संयोजक) 
२. डा. बेदुराम भुसाल (सदस्य)
३. प्रमेश हमाल (सदस्य)
४. राजेन्द्र पाण्डे (सदस्य) 
५. डा. गंगालाल तुलाधर (सदस्य) 
६. डा. विजय पौडेल (सदस्य) 
७. प्रकाश ज्वाला (सदस्य)
८. जगन्नाथ खतिवडा (सदस्य) 
९. केशवलाल श्रेष्ठ (सदस्य)
१०. सावित्रा भुसाल (सदस्य) 
११. रामकुमारी झाँक्री (सदस्य) 
१२. राजेन्द्र राई (सदस्य)
१३. गणेश विक (सदस्य)

दसैँअघि राष्ट्रिय भेला 
एकीकृत समाजवादी पार्टीले दसैँअघि राष्ट्रिय भेला आयोजना गर्नेछ। असोजको तेस्रो साता काठमाडौंमा भेला राख्ने तयारी छ। 

‘हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकबाट पारित भएका विषय अनुमोदनको लागि असोज तेस्रो हप्ताभित्र राष्ट्रिय भेला आयोजना गर्छौँ त्यही भेलाले तीन महिने संगठन सुदृढीकरणको कार्यक्रम बनाइ नेताहरुलाई गाउँगाउँ पठाउनेछ,’ एक नेताले नेपालखबरसँग भने।​

यस्तो हुनेछ संरचना
एकीकृत समाजवादीले मुलुकको संघीय संरचना अनुरुपको संगठनात्मक संरचना बनाएको छ। सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुने छन्। हरेक कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवाहरुलाई राखिने छ। 

व्यक्ति कमिटीको मातहत रहने र अल्पमत बहुमतको मातहत रहने तथा तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गर्ने घोषणा पत्र निर्माण गरिएको छ।

‘सबै पार्टी कमिटी र जनसङ्गठनहरू सोहीअनुरूप सङ्गठित र परिचालित हुनेछन्। 

पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहित रहनेछ। यसको प्रयोग पार्टी विधानअनुसार हुनेछ।’

८ केन्द्रीय निकाय
१. राष्ट्रिय महाधिवेशन 
२. राष्ट्रिय परिषद् 
३. केन्द्रीय कमिटी 
४. केन्द्रीय अनुशासन आयोग 
५. केन्द्रीय लेखा परीक्षण आयोग 
६. केन्द्रीय निर्वाचन आयोग 
७. केन्द्रीय सल्लाहकार परिषद् 
८. केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ। 

२१ सदस्यीय स्थायी कमिटी हुनेछ। यसैगरी केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो हुनेछ। 

अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ। 

केन्द्रीय कमिटीको कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुने छन्।

केन्द्रीय कमिटीेका पदाधिकारी र सदस्यहरू राष्ट्रिय परिषदबाट निर्वाचित हुनेछन्। 

केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदप्रति उत्तरदायी रहनेछ।

राष्ट्रिय परिषद्बाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटित हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .