ad ad

राजनीति


अख्तियारको छापापछि प्रदेश सरकारको चर्को आलोचना, सांसद भन्छन् : छानबिनमा सहयोग गर

अख्तियारको छापापछि प्रदेश सरकारको चर्को आलोचना, सांसद भन्छन् : छानबिनमा सहयोग गर

शैलेन्द्र महतो
असोज २०, २०७८ बुधबार १६:३१, जनकपुरधाम

अख्तियार दुरुपयोग अनुन्धान आयाेगको छापापछि विवादित प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानको सदनमा चर्को आलोचना भएको छ ।  

दुई महिनापछि बुधबार दिउँसो बसेको प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी तथा सत्तापक्षीय सांसदहरुले बेटी पढाऊ,बेटी पढाऊ अभियान अन्तर्गत छोरीलाई साइकल वितरण र छोरी शिक्षाको बिमाको विषयमा चर्को आलोचना गर्दै प्रश्न उठाएका हुन् । 

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापाले मुख्यमन्त्री कार्यालयको गरिमा, प्रदेशको गरिमा, जनताको गरिमा गिरेकाे भन्दै सांसदहरुले छानबिनको लागि मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र साेनलले आफैँले अख्तियार प्रमुखलाई सुशासनको लागि समन्वय परिषदको बैठकमा निमन्त्रण गरि बोलाएर मुख्यमन्त्रीले आफ्नो लगायत प्रदेशको कार्यालयमा भ्रष्टाचारकाे छानबिन गर्न आग्रह गरेको स्मरण गराए। सोनलले अहिले साइकल खरिदको विषयमा अख्तियारले छापा मार्दा संघीयता बदनाम भयाे भन्नु गलत भएकाे तर्क गरे । 

उनले भने ‘ संघीयता सजमन (लौका) को फूल होइन जो अख्तियारले छापा मार्दा संघीयता बदनाम हुन्छ ।’ 

यसअघि पनि साइकल खरिदको विषयमा आज मुख्यमन्त्री राउतले प्रदेशसभा प्रदेश सांसदहरुलाई उपलब्ध गराएको विवरणप्रति टिप्पणी गर्दै सोनलले यसअघि प्रदेश मामिला समितिले कयौं पटक फाइल माग्दा नदिएको आरोप लगाए । 

‘तपाईले आज विवरण हामीलाई दिनुभयो । यसअघि कतिपटक मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर साइकल वितरण, साइकल खरिदको डकुमेन्ट पठाउन आग्रह गर्यो । तर अहिलेसम्म डकुमेन्ट नपठाएको प्रमाण यस हाउसमा छ ।’ नेता सोनलले भने । 

उनले छोरी शिक्षा बीमा बन्द भएको विषयमा पनि प्रश्न उठाएका छन् । ‘तपाई भन्नुहुन्छ प्रदेश २ मा छोरी लखपति भएर जन्मिन्छन् । दुई वर्षदेखि यो शिक्षा बीमा बन्द छ । ती छोरीहरू कसरी लखपति छन्?’ नेता सोनलले प्रश्न उठाउँदै भने ।

सरकारको संवैधानिक निकाय अख्तियारले छापा मार्दा ती निकायलाई सहयोग गर्नुको साटो विरुद्धमा मसाल जुलुस, साइकल जुलुस निकालेर छानबिनलाई प्रभावित गरेको प्रति आक्रोश पोखे । 

सत्ता घटक नेपाली कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले अख्तियारले छापा मार्दा नाराजुलुश, विरोध, अन्तर्वार्ता दिनु मुनासिब नभएको बताए । उनले अख्तियार छापा मार्दा सरकार आत्तिएको धारणा राखे ।

‘मसाल जुलुस गर्दैमा अख्तियारको अधिकार कम हुँदैन। तपाईं सही हुनुहुन्छ भने त्यसको शान्तिपूर्वक सामना गर्नुस्’ उनले भने ‘तपाईं सही हुनुहुन्छ भने उसले केहि गर्न सक्दैन। गलत हुनुहुन्छ भने कारबाही गर्छ । त्यसैले नआत्तिनुस् ।’

सकारको गौरवकै योजना छोरीलाई साइकल वितरण गने कार्यक्रम भएपनि व्यवस्थित हुन नसकेको भन्दै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता शत्रुधन महतोले असन्तुष्टि जनाए।

साइकलमा भ्रष्टाचार भएको कुरा सुनेको तर प्रदेश मन्त्रालयहरूमा हाकाहाकी नै भ्रष्टाचार भइरहेको उनले दावी गरे ।

पार्टीको नेताले सिफारिस गरेपछि मुख्यमन्त्री कार्यालयले विद्यालयहरुलाई साइकल उपलब्ध गराउने गरेको आरोप लगाउँदै यसले नै यो अभियानलाई बदनाम गराएको तर्क गरे ।

‘यो गौरवको योजना हो। व्यवस्थित हुन सकेन। कुनै जिल्लामा धेरै वितरण भयो। कुनैमा आधा बाँकी छ । कुनैमा पुगेकै छैन’, उनले भने ‘अमुक व्यक्तिको सिफारिस, पार्टीको नेताको सिफारिसमा कार्यालयले साइकल उपलब्ध गराउने गरेका छन्। साइकलमा राजनीति भयो।’

प्रदेश सरकारमा भ्रष्टाचार बढेकाले त्यसको न्युनिकरण तर्फ समेत ध्यान नेता महतोले आग्रह गरे। 

प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री कार्यालयमा परेको छापाले मुख्यमन्त्री कार्यालय, प्रदेश नै कलंकित भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने बताए । उनले छानबिनका लागि मार्ग प्रसस्त गर्न मुख्यमन्त्री राउतलाई आग्रह गरे । 

सत्ता घटक नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेतासमेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले नियोजित रुपमै सरकारलाई बदनाम गर्न छापा मारिएको आरोप लगाए। नेता साहले अन्य प्रदेशमा पनि अख्तियारलाई छापा मार्न चुनौती दिए। 

‘म अख्तियारलाई च्यालेन्ज गर्छु। अन्य प्रदेशबाट तपाईंकोमा उजुरी आएको छैन? त्यहाँ खै छापा हान्नु भयो? त्यहाँ छापा मारेर देखाउनुस्’ नेता साहले भने ‘ यो त नियोजित किसिमले पत्रकारलाई बोलाएर पब्लिसिटीको लागि छापा मार्यो । यसले समग्र संरचनालाई बदनाम गराउँछ ।’

उनले प्रमाण नष्ट र अधिकारीहरु उम्किन सक्ने ठाउँमा अख्तियारले छापा हान्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .