ad ad

राजनीति


नेपाल-भारत सम्बन्धमा कहिलेकाहीँ समस्या आउनु स्वाभाविक : डा. महत

नेपाल-भारत सम्बन्धमा कहिलेकाहीँ समस्या आउनु स्वाभाविक : डा. महत

नेपालखबर
असोज २५, २०७८ सोमबार ८:२१, काठमाडौँ

हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल र भारतबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक रहेको बताएका छन्।

भारत भ्रमणका क्रममा वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महताले नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध रहेको बताए। ‘धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा नेपाल-भारतबीच असमझदारी देखिनु पनि स्वाभाविक हो,’ उनले भने।

विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रले संयुक्त रुपमा गरेको कार्यक्रममा महतले यस्तो अभिव्यक्ति दिएका हुन्। ‘नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ।’

उनले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्नेमा जोड दिए। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको आरोप लगाए।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने उनको भनाई थियो। 

कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताए। 

भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको कांग्रेस प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया पनि छन्।

कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशङ्कर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .