ad ad

राजनीति


बेइजिङको पहलमा खड्का–वाङ एकघण्टा वार्ता, ‘सीमा व्यवस्थापन’ गर्ने सहमति

बेइजिङको पहलमा खड्का–वाङ एकघण्टा वार्ता, ‘सीमा व्यवस्थापन’ गर्ने सहमति

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी


सन्तोष घिमिरे
कात्तिक २, २०७८ मंगलबार २१:२८, काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार एकघण्टा लामो टेलिफोन वार्ता भएको छ। शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएयता उत्तरी छिमेकीसँग परराष्ट्रमन्त्री तहमा पहिलोपटक वार्ता भएको हो। 

खड्का एक महिनाअघि मात्र परराष्ट्रमन्त्री नियुक्त भएका थिए। तीन साताअघि भारतीय विदेशमन्त्री एस जयशंकरसँग संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा न्युयोर्कमा भेटवार्ता गरेका खड्काले उत्तरी छिमेकी चीनका विदेशमन्त्रीसँग टेलिफोन कुराकानी गरेका हुन्। वाङ चीनका स्टेट काउन्सिलर पनि हुन्, जुन चीनमा उपप्रधानमन्त्रीपछिको उच्च पद मानिन्छ।  

देउवा सरकारले छिमेक सम्बन्धलाई विदेश नीति सञ्चालनको प्राथमिकतामा राखेको बताउँदै आएको छ। प्रधानमन्त्री देउवाले पार्टीका सहमहामन्त्री प्रकाशशरण महतलाई दिल्ली पठाएर भारतीय जनता पार्टी तथा भारत सरकारसँग सम्बन्धसुधारको प्रयास गरेका छन्। 

तर, हुम्लामा सिर्जित सीमा समस्याका कारण नेपाल र चीनबीचको सम्बन्ध चिसिएको छ। 

यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भएको कुराकानीलाई अर्थपूर्ण मानिएको छ। चिनियाँ पक्षको अनुरोधमा दुई विदेशमन्त्रीबीच टेलिफोन कुराकानी भएको परराष्ट्र अधिकारीहरुले बताए। नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्रमन्त्रीबीचको कुराकानीको तारतम्य मिलाएको थियो। 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले मन्त्री खड्काले वाङसँगको कुराकानीमा सीमा समस्याबारे कुरा उठाएको नेपालखबरलाई जानकारी दिए। खड्काले लामो समयदेखि नेपाल र चीनबीच सीमा निरीक्षणसम्बन्धी संयुक्त कार्यदलको बैठक बस्न नसकेको भन्दै त्यसलाई नियमित गर्न आग्रह गरेको ती अधिकारीले बताए।

मन्त्रालयले औपचारिक विज्ञप्तिमा पनि सीमा समस्याका विषयमा दुई मन्त्रीबीच कुराकानी भएको संकेत गरेको छ। मन्त्रालयले विज्ञप्तिमा ‘सीमा व्यवस्थापन’ भन्ने शब्दावली प्रयोग गरेको छ। तर, हुम्लामा देखिएको सीमा समस्याबारे स्पस्ट बोलेको छैन। 

डेढ महिनाअघि सरकारले चीनसँगको सीमा समस्या हल गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली हुम्ला पठाएर स्थलगत अध्ययन गरेको थियो।

आचार्य नेतृत्वको टोलीले हुम्लामा सीमा समस्या देखिएको र त्यसका लागि चीनसँग संयुक्त रुपमा सीमा सुपरिवेक्षण गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको थियो। हाल गोप्य राखिएको उक्त प्रतिवेदन गृहले परराष्ट्र मन्त्रालयमा पठाएको थियो। 

त्यसलगत्तै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग कुनै सीमा विवाद नरहेको ट्विट गरेकी थिइन्। हुँदै नभएको सीमा विवादलाई बहसको विषय बनाएको भन्दै असन्तुष्ट बनेकी चिनियाँ राजदूतले नेपाल सरकारलाई दिएको जवाफको रुपमा अर्थ्याइएको थियो। 

मन्त्री खड्का र वाङबीच कोरोनाविरुद्धको खोपमा सहकार्य, व्यापार तथा वाणिज्यका मुद्दा, विकास सहयोग तथा सीमा व्यवस्थापन लगायत द्विपक्षीय हितका सबै विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चीनसँग बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत सहमति भएका कनेक्टिभिटीका परियोजनाले गति लिन सकेका छैनन्। त्यस्तै पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भए पनि नेपालले चिनियाँ बन्दरगाह उपयोग गर्न पाएको छैन। 

चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई वर्षअघिको नेपाल भ्रमण तथा नेपालका तर्फबाट चीनमा भएका अन्य उच्चस्तरीय भ्रमणका क्रममा भएका महत्वपूर्ण सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनले चिनियाँ राष्ट्रपतिको भ्रमणमा सहमति भएअनुरुप दुई देशले ‘रणनीतिक साझेदारी’ लाई अझ सुदृढ पार्नुपर्ने बताएका थिए। 

मन्त्री खड्का र वाङबीच नेपाल र चीनका बिभिन्न विकास परियोजनामा भइरहेको प्रगति, नेपालमै रोकिएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीको फिर्तीको विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसैगरी नेपाल—चीन तातोपानी झाङ्मु सीमा नाकाबाट नेपालतर्फ कृषिमल लगायत अन्य वस्तुको आपूर्ति बढाउन कन्टेनरको संख्या वृद्धि गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। नेपाली व्यवसायीहरुले दसैँतिहारका लागि चीनबाट नेपाल ल्याउन लागेका लत्ताकपडालगायत वस्तु तातोपानी र रसुवागढी नाकामै लामो समयदेखि रोकिएको गुनासो गर्दै आएका छन्। 

कुराकानीमा परराष्ट्रमन्त्री खड्काले चीनसँगको अवरुद्ध हवाई सेवा नियमित गर्ने विषयमा चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएका थिए। कोरोना महामारीका कारण रोकिएको चीनसँगको हवाई सेवा सुरु हुन सकेको छैन। 

नेपाल र चीनबीचका साझा हितका मुद्दामा निकट रही काम गर्ने तथा दुई देशबीच रहीआएको लामो समयदेखिको मित्रवत् सम्बन्धलाई सुदृढ गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। 

चिनियाँ दूतावासले चीन र नेपालका विदेशमन्त्रीबीच सार्थक वार्ता भएको मंगलबार साँझ जनाएको छ। 

‘चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज नेपालका परराष्ट्रमन्त्री नारायण खड्कासँग सार्थक टेलिफोन वार्ता गर्नुभयो’, चिनियाँ राजदूत होउले ट्विटमा भनेकी छन्, ‘चीनले नेपाललाई थप २० लाख डोज कोभिड खोप अनुदानमा दिने घोषणा भएको छ।’

कुराकानीमा मन्त्री खड्काले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउँदै चीनले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद दिएका थिए। उनले बीपी कोइरालाका पालादेखि नै नेपाली कांग्रेस र चीनबीच मित्रवत् सम्बन्ध रहीआएको प्रसंग कोट्याउँदै अबका दिनमा पनि उच्चस्तरीय भ्रमणबाट सम्बन्ध मजबुत बनाउन इच्छुक रहेको बताएका थिए। 

कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई थप २० लाख डोज कोभिड खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेका थिए। नेपालको कोरोनाविरुद्धको लडाइँमा चीनले जारी राखेको सहयोगका लागि मन्त्री खड्काले धन्यवाद दिएका थिए।

चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भमणको निमन्त्रणा पनि दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .