ad ad

राजनीति


सरकारको कामबारे गगनको चिन्ता : फेरि अर्को मौका खेर जाने हो की!

सरकारको कामबारे गगनको चिन्ता : फेरि अर्को मौका खेर जाने हो की!

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १५:३४, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। 

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए। 

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं। त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर। जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ। फेरि हामीले अब अर्को मौका खेर फाल्दै छाँै कि भन्ने डर लाग्न थालेको छ। यो बेला सम्हालिनु पर्नेछ। हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन्। एउटा हामीले माने पनि नमाने पनि एशिया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वल्र्डको इकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ। त्यसको नजिकमा हामी छौं। यो अर्को १०, १५, २० वर्ष रहन्छ। यस भित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ।’

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे। उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए।

नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .