ad ad

राजनीति


कार्यकर्तालाई गगनको निर्देशन : निर्वाचनको तयारीमा जुट्नूस्, कसैसँग गठबन्धन हुँदैन (भिडिओ)

कार्यकर्तालाई गगनको निर्देशन : निर्वाचनको तयारीमा जुट्नूस्, कसैसँग गठबन्धन हुँदैन (भिडिओ)

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १५:३९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले स्थानीय चुनाव वैशाखमै हुने भएकाले वडा र पालिकामा सोहीअनुसार तयारीमा जुट्न जिल्लाका पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। 

आइतबार धादिङकाे थाक्रे गाउँपालिका २ नम्बर वडा पार्टी कार्यालय उद्घाटन गर्दै नेता थापाले उक्त निर्देशन दिएका हुन्। 

उनले चुनावअघि नै नेपाली कांग्रेसको अधिवेशन हुने भन्दै नेता कार्यकर्तालाई यसमा ढुक्क हुन पनि आग्रह गरे। 

थापाले भने, ‘अधिवेशन नभए त कांग्रेसको वैधानिकतै रहँदैन। मंसिरको अधिवेशन २/३ दिन तलमाथि होला, अधिवेशन नगरी चुनावमा जानै पाइन्न।’ 

स्थानीय नेताहरुलाई अधिवेशनबारे नअलमलिन उनको आग्रह थियो। 

'अर्लि इलेक्सन बेमाैसमी बाजा'
नेता थापाले अहिले अर्लि इलेक्सनको कुरा चलिरहे पनि नहुने बताउँदै स्थानीय चुनावचाहिँ वैशाखमै हुने बताए। 

‘अर्लि इलेक्सन अर्थात् चाँडो चुनावको पनि चर्चा तपाईंहरुले पढिराख्नुभएको छ। नेपालको संविधानको जुन व्याख्या गरेर अहिले संसदको पुनर्स्थापना भएको छ। ५ वर्षभन्दा अगाडि संसद भंग गर्नै पाइँदैन’, उनले भने, ‘कहाँबाट अगाडि चुनाव हुने? मनको इच्छा राख्न पाइयो। चुनाव फागुनमा होइन वैशाखमा भइदिए हुने भन्न पाइयो, फागुनमा भइदिए हाम्रो पार्टीलाई फाइदा हुन्थ्यो भन्न पनि पाइयो। चुनाव कहिले हुन्छ? अर्को वर्ष मंसिरमै हुन्छ। स्थानीय चुनाव कहिले हुन्छ? वैशाखमै हुन्छ।’

सो क्रममा उनले थाक्रे गाउँपालिकाका वडाका कांग्रेस नेता तथा कार्यकर्तालाई ढिलो अधिवेशन भएका ठाउँमा अलमल भए पनि पालिका र वडाको चुनाव भइसकेकाले चुनाव लागिसकेजसरी काम गर्न आग्रह गरे। 

उनले भने, ‘वैशाखमा चुनाव हुन्छ। कोही मान्छेले भनेर नअलमलिनु।’ 

प्रदेश र केन्द्रको चुनाव जहिले भए पनि स्थानीय नेताहरु स्थानीय तहको चुनावमा जुट्ने बेला आइसकेको थापाले बताए। 

‘कांग्रेसले गठबन्धन गर्दैन’
त्यसैगरी उनले पालिकास्तरमा अन्य पार्टीसँग तालमेलको कुरा भए पार्टीको केन्द्रीय तहले सदाशयता रुपमा लिए पनि नेपाली कांग्रेसले माथिबाटै निर्णय गरेर कोहीसँगै पनि चुनावअघि गठबन्धन गरेर नजाने बताए। 

उनले थपे, ‘यो नेपाली कांग्रेसको चरित्रै होइन। हामीले चितवनमा गर्दा देखिसक्यौँ। हाम्रो स्वभावै होइन त्यसैले कोही नेताले भनेर नअलमलिनुस्, चुनाव वैशाखमै हुन्छ।’ 

उनले नेपाली कांग्रेसले एक्लै आफ्नो तागतमा चुनाव लड्ने बताउँदै धादिङजस्तो चुनाव नजितेको ठाउँमा जित्ने अवसर आएको उल्लेख गरे। 

‘मेरो तपाईंहरुलाई अनुरोध छ– कात्तिकको भर्खर प्रारम्भ भएको छ, हामीसँग ६ महिना समय छ। वैशाखमा चुनाव आयो भन्ने मानेर वडा र पालिकाले कार्यतालिका बनाएर पार्टीको सांगठनिक गतिविधि अगाडि बढाउनुहोस्।’ 

उक्त कार्यक्रममा स्थानीय १६ जना एमाले छाेडी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

थापाले अन्य पार्टी टुटफुट भएर नेता कार्यकर्ता अलमलिएको अवस्थामा यसलाई मौका ठानेर नेपाली कांग्रेसले स्वागत गर्नुपर्ने बताए। 

नेता थापा आज मातृशोकमा परेका धादिङका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न त्यसतर्फ गएका थिए। त्यहाँबाट फर्किँदा थाक्रे गाउँपालिकामा वडा कार्यालय उद्घाटन गर्दै नेता कार्यकर्तालाई चुनावमा जुट्न निर्देशन दिएका हुन्। 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .