ad ad

राजनीति


प्रचण्डको गुनासो : सबैले मलाई अपराधी नै बनाउन चाहेका छन्

प्रचण्डको गुनासो : सबैले मलाई अपराधी नै बनाउन चाहेका छन्

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १८:४८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने, उत्पीडन र अत्याचार पुनःस्थापित गर्न चाहनेले माओवादीको विरोध गरेको बताएका छन्। 

पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आइतवार गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसो भनेका हुन्। 

उनले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको विरोध गरिरहेका बताए। 

माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको पनि उनले बताए। 

दलित समुदाय आफूलाई अत्याचार गर्नेहरुको पछाडि लागेर हिँड्दा आफूलाई नमिठो लाग्ने तर्क उनले गरेका छन्। 

'तपाईंहरुले देख्नुभयो नि हिजोका कर्मचारीतन्त्रका ठूला भन्नेले माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भन्दैछन्', उनले भने, 'सामाजिक विभेद रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनःस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यमा हुनुपर्छ भन्नेलाई सिद्याएपछि हुन्छ के? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लड्यौँ, त्यो वर्ग समुदाय पनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई नमिठो लाग्छ।'

भिडिओ

​​पूर्व अर्थसचिव खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अली लामै भयो त।’ भनेर ट्वीट गरेका थिए। 

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तरजातीय विवाह गर्ने क्रम सुरु भएको भए पनि अझै जातीय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे। 

उनले रोल्पा, रुकुममा अन्तरजातीय प्रेम गर्ने दलित युवा मारिनु आफ्ना लागि पीडाको विषय भएको उनले बताए। 

'अहिले उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँमा दलितलाई उन्मुक्ति दिन धेरै नेता कार्यकर्ता जन्मिए, विद्रोहका कीर्तिमान कायम भए। अन्तरजातीय विवाह भए', उनले भने, 'त्यहीँ अहिले प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवा मारिए। मेरा लागि यो निकै ठूलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ। भयो।'

अझै पनि समाजमा विभेद बचाइराख्ने जमात कायमै रहेको उनले बताए। 'दलितहरू दलित नै रहिराखुन्, बाहुन क्षेत्री बाहुन क्षेत्री माथि नै भइराखुन्। शासन गर्ने अधिकार माथिकालाई मात्र हुन्छ भन्ने पार्टी छन्', उनले भने, 'तिनीहरुको लागि त केही फरक परेको छैन। तिनीहरुले यो संघीयता उल्ट्याउन चाहेका छन्।'

उनले अहिले जातीय विभेद अन्त्य गर्न भएको विद्रोहलाई अहिले बदनाम गर्न चाहेका पनि बताए। 'सबैले मिलेर प्रचण्डलाई अपराधी नै बनाउन चाहेका छन्', उनले भने, 'यसले दलितहरुलाई उठाएर हामीलाई हैरान पार्यो। आदिवासी जनजाति उठाएर, महिलालाई ३५ प्रतिशत रे, के के रे भनिदिएर!’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .