ad ad

राजनीति


बन्द सत्र हुने स्थान छान्न ओली चितवन जाँदै, यसरी जुटाइँदैछ महाधिवेशनको खर्च

बन्द सत्र हुने स्थान छान्न ओली चितवन जाँदै, यसरी जुटाइँदैछ महाधिवेशनको खर्च

बन्द सत्र हुने स्थानको निर्णय गर्न अध्यक्ष केपी शर्मा ओली र सुरेन्द्र पाण्डे चितवन जाँदैछन्


सागर न्यौपाने
कात्तिक १४, २०७८ आइतबार २२:२, काठमाडौँ

अर्को महिना चितवनमा हुने नेकपा एमालेको महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ। नारायणी किनारमा उद्घाटन सत्र गर्ने निर्णय गरेको सो पार्टीले सौराहा आसपास बन्द सत्र गर्नेछ।

सौराहाको हात्ती दौड प्रतियोगिता हुने नारायणी चौर अथवा टाँडीको एक पार्टी प्यालेसमा बन्द सत्र गर्नेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 

बन्द सत्र हुने स्थानको निर्णय गर्न अध्यक्ष केपी शर्मा ओली र पाण्डे सोमबार चितवन जाँदैछन्। अध्यक्ष ओलीले हुन्छ भनेपछि मात्रै बन्द सत्र गर्ने स्थान निश्चित हुने उनले बताए।

विकल्पका रुपमा रत्ननगर नगरपालिकाको बाघमारा मध्यवर्ती सामुदायिक वनलाई पनि राखिएको छ।

‘महाधिवेशनको बन्द सत्र सौराहाको हात्ती दौडाउने चौरमा गर्ने कि भन्ने सुझाव छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘टाँडीमा रहेको एउटा पार्टी प्यालेसको पनि कुरा आएको छ। पार्टी प्यालेसमा अट्यो भने अन्य झन्झट गर्नुपर्ने थिएन। त्यसले धान्यो भने त्यहीँ गर्छौँ, नत्र चौरमा हुन्छ।’

ओलीले चौरमा गर्न अस्वीकार गरे टाँडीमा रहेको स्टार ब्यांक्वेट पार्टी प्यालेसमै बन्द सत्र हुने पाण्डेको भनाइ छ। 

‘जहाँ गरे पनि हामी सौराहा आसपास बन्दसत्र गर्छौँ,’ उनले भने।

चौरमा गर्दा टेन्ट टाँगेर बन्द सत्रस्थल निर्माण गरिने उनले बताए। एमालेले महाधिवेशनलाई भव्य बनाउने कोसिस गरिरहेको छ। प्रविधिको अधिकतम प्रयोग गर्ने, ड्रोनमार्फत् मुख्य गतिविधि खिच्ने तयारी छ।

सौराहाको चौरमा बन्द सत्र भए पुरै चौरमा भौतिक दुरी कायम गरेर कुर्सी राखिनेछ। 

महाधिवेशनमा अहिलेसम्म ३५ सयमाथिको सहभागिता हुने अनुमान छ। 

‘प्रतिनिधिका अलवा स्वयंसेवक, कार्यक्रममा खटिने नेता र कार्यकर्ता, चालक, सुरक्षाकर्मी लगायतको पनि सहभागिता रहन्छ,’ पाण्डेले भने, ‘महाधिवेशन गर्न विभिन्न ४ वटा उपसमिति बनेको छ, ती सबैलाई जोड्दा सहभागी संख्या ३५ सय नाघ्ने देखिन्छ।’ 

यसरी जुटाइँदैछ खर्च 
विधान महाधिवेशनमा ठूलो खर्च गरेको सो पार्टीले दसौँ राष्ट्रिय महाधिवेशनमा झन् बढी खर्च गर्दैछ।

एमालेले महाधिवेशनको लागि केन्द्रीय कमिटीमा रहेका नेता, केन्द्रीय विभागमा रहेका पदाधिकारी र सुविधा लिएका व्यक्तिहरुका लागि प्रवेश शुल्क ३ हजार तोकिएको छ भने सामान्य प्रतिनिधिको लागि २ हजार रुपैयाँ।

एमालेको केन्द्रीय समिति २ सय ५ र पदाधिकारी, विभिन्न आयोगसमेत गरी २ सय २९ सदस्यीय छ। उनीहरुबाट प्रति केन्द्रीय सदस्य ३ हजार हिसाब गर्दा ६ लाख ८७ हजार उठ्ने र १७ सय ७० प्रतिनिधिबाट २ हजारको दरले ३५ लाख ४० हजार उठ्ने एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। 

यद्यपि यो संख्या अझै बढ्न सक्नेछ। त्यसबाहेकको रकम भने नवीकरणबाट उठेको रकमबाट खर्च गर्ने निर्णय भएको नेकपा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले बताए।

एमालेले कात्तिक १० गतेसम्म ७ लाख २१ हजारले पार्टी सदस्य फारम भरेको बताएको छ। प्रतिसदस्य एक सय रुपैयाँ उठाएको सो पार्टीले सदस्यताबाट मात्र ७ करोड बढी रकम जम्मा भइसकेको पोखरेलले दाबी गरे।

त्यसबाहेकको आवश्यक खर्च शुभेच्छुक उद्योगी, व्यवसायीले सहयोग गर्ने उनको भनाइ छ।

‘हामीले जबर्जस्ती चन्दा उठाउँदैनौँ भनेका हौँ,’ पोखरेलले भने, ‘शुभचिन्तक व्यवसायी, उद्योगीले स्वतःस्फूर्त गर्ने सहयोग लिन्छौँ। महाधिवेशनमा लाग्ने सबै खर्चको स्रोत सदस्यता र महाधिवेशन प्रतिनिधि शुल्कबाट मेकअप गर्ने जानकारी पाएको छु।’

एमालेले असोज १५ देखि १७ सम्म ललितपुरमा गरेको विधान महाधिवेशनमा पनि ५ करोडभन्दा बढी खर्च गरेको थियो। 

अहिले महाधिवेशनमा १० करोड जति खर्च हुने अनुमान रहेको पोखरेलले बताए। उनले महाधिवेशन दुई दिनमै सकिने बताए। 

‘मंसिर १० देखि १२ सम्म कार्यक्रम तय भए पनि ११ गते नै सकिन्छ,’ पोखरेलले ठोकुवा गर्दै भने, ‘सबै पदमा सर्वसम्मत निर्णय हुनेभएपछि महाधिवेशन लम्बिँदैन।’

तर, कार्यालय सचिव शेरबहादुर तामाङ भने महाधिवेशनमा निर्वाचन समेत हुने भएकोले भोटिङ मेसिन राखिने बताउँछन्।

‘हामी सबै कुरा सिस्टममा गर्छौँ, बन्द सत्रमा चुनाव पनि हुनसक्ने भएकाले भोटिङ मेसिन प्रयोग गर्ने मोटामोटी सहमति भइसकेको छ,’ तामाङले भने।

एमालेमा अध्यक्ष सहित १५ पदाधिकारी पदमा निर्वाचन नगर्ने पक्षमा ओली छन्। केन्द्रीय सदस्यको खुला सदस्यमा भने निर्वाचन हुनसक्ने बताइएको छ। 

तर, ओलीले सबै पदमा सर्वसम्मत गरेर दसौँ महाधिवेशन सम्पन्न गर्न चाहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .