ad ad

राजनीति


पतञ्जलिका कर्मचारीसँग सरकारी टोलीका तीन प्रश्न, अनुमति नलिई टीभी सञ्चालन गरेकोमा एक घण्टा सोधपुछ

पतञ्जलिका कर्मचारीसँग सरकारी टोलीका तीन प्रश्न, अनुमति नलिई टीभी सञ्चालन गरेकोमा एक घण्टा सोधपुछ

बुढानीलकण्ठ–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको मुख्य कार्यालय (तस्बिरः विक्रम राई)


सन्तोष घिमिरे
मंसिर ५, २०७८ आइतबार २२:२६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका दुई टेलिभिजन च्यानलले प्रसारण अनुमति नै नपाएको खुलेपछि सञ्चार मन्त्रालयअन्र्तगतको सञ्चार तथा प्रसारण विभागले छानबिन थालेको छ।

देउवाले गत शुक्रबार बुढानीलकण्ठ–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको मुख्य कार्यालयमै पुगेर ‘आस्था नेपाल र पतञ्जली नेपाल’ नामका दुई टीभी च्यानल उद्घाटन गरेका थिए। 

भारतका योगगुरु रामदेव र पतञ्जली आर्युवेदका प्रमुख आचार्य बालकृष्णको लगानी र अग्रसरतामा ती च्यानल खोलेको र नेपालमा प्रसारण अनुमति नै नपाएको समाचार शुक्रबार साँझ नेपालखबरले ब्रेक गरेको थियो। 

त्यसको दुई दिनपछि विभागले आइतबार दिउँसो चार सदस्यीय टोली पतञ्जलीको केन्द्रीय कार्यालय मण्डिखाटार पठाएर छानबिन गरेको हो। ​

नेपालखबरकर्मी आइतबार दिउँसो पतञ्जली केन्द्रीय कार्यालय पुग्दा विभागका चार जना अधिकारीले पतञ्जलीका कर्मचारीसँग ‘पूर्वअनुमति नलिई टेलिभिजन उद्घाटन किन गरियो? यसमा कसको लगानी छ? कुन उद्देश्यले टीभी सञ्चालन भएको हो?’ जस्ता प्रश्न सोधिरहेका थिए। 

सञ्चार तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विभागको टोली पतञ्जली कार्यालय पुगेर छानबिन गरेको र रिपोर्ट आउने क्रममा रहेको बताए।  

‘टोलीले पतञ्जलीले ल्याएका भनिएका टेलिभिजनबारे भोलि सोमबार प्रतिवेदन दिनेछ। प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्नेछ,’ हमालले भने।  

हालसम्म यी दुई टीभी च्यानल सञ्चालनका लागि विभागले कुनै अनुमति नदिएको उनले दोहोर्याए। सूचना तथा प्रसारण विभागका महानिर्देशक हमालका अनुसार पतञ्जलीका नाममा कुनै पनि टीभी अहिलेसम्म दर्ता भएका छैनन् भने प्रसारणका लागि कुनै आवेदन समेत दिएका छैनन्। 

‘ती दुई टीभी च्यानल सञ्चालनका लागि कसैले हामीकहाँ आवेदन समेत दिएको छैन,’ हमालले भने। 

शुक्रबार साँझ नै नेपालखबरसँग सरकारको अनुमति बिनै यी टीभी प्रशारणमा आएको विभागका उच्च अधिकारीले बताएका थिए। त्यसपछि दर्ता नै नभई टीभी सञ्चालनमा ल्याइएको खुलेको थियो।

‘पतञ्जलीले टीभी च्यानल सञ्चालनका लागि अनुमति मागेर आवेदन पनि दिएको छैन। यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी हो,’ विभागका ती अधिकारीले नेपालखबरसँग भनेका थिए। 

यो पनिः पतञ्जलीका दुवै टीभी गैरकानुनी, इजाजतै नलिएका च्यानल प्रधानमन्त्रीद्वारा उद्घाटन ​  

 आइतबार विभागको टोलीले पतञ्जलीका कर्मचारीसँग एक घण्टा सोधपुछ गरेको थियो। टोलीले कार्यालय हाताभित्र रहेका दुई भवनको पनि अवलोकन गर्यो। 

विभागका अधिकारी कार्यालय पुग्दा पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह भने कार्यालयमा थिएनन्। सिंहका कर्मचारी सन्दीप बाल्मिकी र प्राविधिकले उनका तर्फबाट जवाफ दिइरहेका थिए। एक कर्मचारीका अनुसार विभागको टोलीसँग सिंहले कुराकानी गर्न चाहेनन्। उनले आफ्ना कर्मचारीलाई खटाए। 

टेलिभिजन उद्घाटनको दिन अपरान्ह नेपालखबरसँगको कुराकानीमा पतञ्जली नेपाल प्रमुख सिंहले आस्था नेपाल र पतञ्जली नेपाल टीभीले सरकारबाट अनुमति पाइसकेको र दस दिनदेखि परीक्षण प्रसारण समेत भइरहेको बताएका थिए। 

‘हामीले टेलिभिजन प्रसारणका लागि अनुमति पाइसकेका छौँ। यसमा शंका नगर्दा हुन्छ। अनुमति नलिई कसैले टीभी उद्घाटन गर्ला? उच्चस्तरीय प्रविधीमा आधारित एचडी टीभी सञ्चालन भइसकेको छ। परीक्षण प्रसारणमा गएकै दस दिन भयो,’ उनले भनेका थिए। 

पतञ्जलीको कार्यालय परिसरभित्र प्रधानमन्त्री देउवा, भारतीय यातायातमन्त्री नितीन गडकरी, योगगुरु रामदेव र पतञ्जली आयुर्वेद, भारतका प्रमुख आचार्य बालकृष्णका तस्वीर अंकित फ्लेक्सबोर्ड ढोकैदेखि भवनभित्रसम्म टाँगेको देखिन्थ्यो।

कर्मचारी भन्छन्ः लाजमर्दो भयो  
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अनुमतिबिना उद्घाटन गरिएका पतञ्जलीका दुई टीभीबारे मौन छन्। सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले विदेशी लगानीमा नेपालमा टीभी सञ्चालन गर्नु गैह्रकानुनी हुने बताए।

‘भारतीय लगानीमा टीभी सञ्चालनमा ल्याउन लागिएको थाहा हुँदाहुँदै योगगुरु रामदेवको लहलहैमा लागेर प्रधानमन्त्री देउवा र विभिन्न दलका शीर्ष नेता टीभी उद्घाटनमा जानु लाजमर्दो कुरा हो’, ती अधिकारीले नेपालखबरसँग भने, ‘यसले लाजमर्दो अवस्था सिर्जना गरेको छ। यसले सरकारकै बेइज्जत गरेको छ।’

के छ कानुनमा? 
२०७५ मा जारी भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले नेपालमा आमसञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित हुने व्यवस्था गरेको छ। 

टेलिभिजन प्रसारणसम्बन्धी तीन कानुनहरु— राष्ट्रिय प्रसारण ऐन (२०४९), राष्ट्रिय प्रसारण नियमावली (२०५२) र प्रसारणसम्बन्धी निर्देशिका (२०६०)— ले रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता पछि मात्रै सञ्चालन गरिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । 

२०७५ मा जारी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी वर्जित गरेका उद्योग वा व्यवसायमा आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) लाई समेटेको छ। 

२०७३ मा आएको आमसञ्चार नीतिले सञ्चारको पूर्वाधार क्षेत्रमा विदेशीले लगानी गर्न खुला गरेको थियो। तर त्यसको सञ्चालक नेपाली हुनुपर्ने बताएको थियो। त्यसको ठिक विपरीत २०७५ मा ऐन ल्याइँदा सञ्चार क्षेत्रमा विदेशी लगानीलाई पुरै प्रतिबन्ध गरिएको छ। संसदबाट पारित उक्त ऐन कार्यान्वयनमा छ। 

अनुमति नलिएको पतञ्जलीद्वारा स्वीकार 
पतञ्जली योगपिठ नेपालले आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गरी टीभी सञ्चालनको अनुमति नलिएको र अनुमति लिने प्रक्रियामै रहेको स्वीकार गरेको थियो।  

पतञ्जलीद्वारा जारी विज्ञप्तिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएको दाबी गरिएको छ। 

‘केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको छ,’ योगपीठका आइटी इञ्चार्ज सन्दीप वाल्मीकीले विज्ञप्तिमा भनेका छन्। 

यो पनिः पतञ्जली योगपीठले स्वीकार गर्‍यो : टीभी दर्ता भइसकेको छैन

यी दुई टीभी २०७८ असोज ८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रमाणीकरण भएको र थप अनुमतिका लागि प्रक्रिया अगाडि नबढाइएको विज्ञप्तिमा उल्लेख छ। 

‘शुभ साइतमा उद्घाटन गरिएको हो, तर प्रसारण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको बेहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति, नियम, कानुनको अधिनमा रही अनुमति प्राप्त भएपश्चात मात्र टीभी सञ्चालन हुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

पतञ्जलीका आचार्य बालकृष्णको दाबीः टीभी सञ्चालन अनुमति छ 
पतञ्जली योगपिठले ‘टीभी सञ्चालनको अनुमति नलिएको र अनुमति लिने प्रक्रियामै रहेको’ स्वीकार गरेपनि पतञ्जली आयुर्वेदका प्रमु्ख आचार्य बालकृष्णले भने अनुमति पाइसकेको दाबी गरेका छन्। 

आइतबार नै  नेपालको एक टीभी च्यानलमा अन्र्तवार्ता दिँदै पतञ्जली आयुर्वेदका प्रमु्ख आचार्य बालकृष्णले पतञ्जलीले टीभी सञ्चालन अनुमति पाइसकेको दाबी गरे। उनले पतञ्जलीले योगसाधना र धार्मिक विषयक कार्यक्रम यी टीभीमा प्रसारण हुने दाबी गरे।

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको लागि अनुमति लिनुभयो भन्ने प्रश्नमा आचार्य बालकृष्णले भने, ‘अनुमति आइसक्यो, हाम्रो च्यानल प्रारम्भ पनि भैसकेको छ।’

दलका नेता, पत्रकार महासंघद्वारा प्रधानमन्त्रीको आलोचना 
एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मिडियामा विदेशी लगानी बर्जित गरिएको अवस्थामा भारतीय च्यानलको उद्घाटन प्रधानमन्त्रीबाट हुनु कानुन विपरीत रहेको बताएका छन्। यसअघि एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीलगायत शीर्ष नेताले रामदेवको टीभी उद्घाटन गर्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका थिए। 

नेपाल पत्रकार महासंघले आइतबार नै विज्ञप्ति प्रकाशित गरी ‘नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योगपिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो’ भनेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रबन्धप्रति महासंघले सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ।

‘दर्ता प्रक्रियासमेत पुरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२  र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ,’ महासंघले भनेको छ, ‘स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ।’

भारतीय सञ्चारमाध्यमले पनि पतञ्जलीका दुई टीभी नेपालमा विवादमा परेको लेखेका छन्। भारतका टाइम्स अफ इन्डिया, इन्डो एसियन न्युज सर्भिस, प्रेस ट्रस्ट अफ इन्डियाले पतञ्जलीले सञ्चालनमा ल्याएका टेलिभिजनको कानुनी वैधतामाथि प्रश्न उठेको भन्दै समाचार दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .