ad ad

राजनीति


जो कांग्रेसको अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दीको सिकार भइन्

जो कांग्रेसको अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दीको सिकार भइन्

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १७:२५, काठमाडौँ

आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जारी विभिन्न तहका अधिवेशनका मत परिणामले कांग्रेसमा युवा पुस्ताको आकर्षण बढेको देखाएको छ।

पुरानो लोकतान्त्रिक पार्टीमा युवा आकर्षित भए पनि वृद्धहरुको बोलवाला कायमै रहँदा युवालाई अझै कठिन देखिएको छ।

पार्टीको गुट–उपगुटका कारण कांग्रेसको राजनीतिमा लागेर समाज रुपान्तरणमा भूमिका खेल्ने आकांक्षा राखेका युवालाई पदमा पुग्न सकस देखिन्छ। 

कांग्रेसको केन्द्रीय राजनीतिमा प्रष्टै खुलेकाहरू जिल्लामा आफू स्थापित हुन विपरीत समूहसँग साँठगाँठ गर्दा युवाहरु विभिन्न पदहरुमा पराजित भएका छन्। 

नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य दीलिपाश्री अधिकारी यसको उदाहरण हुन्। उनी गृहजिल्ला स्याङ्जामा गुटबन्दीको सिकार भइन्। 

उनको जिल्लामा पार्टीका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठलाई कमजोर बनाउन संस्थापन पक्षीय नेता–कार्यकर्ताहरु इतर समूहसँग मिलेर प्रतिष्पर्धामा उत्रिएका थिए। 

केन्द्रमा सभापति शेरबहादुर देउवानिकट मानिने नेता राजु थापाले आफू स्थापित हुन जिल्लामा इतर समूहसँग चुनावी तालमेल गरे। 

उनको तालमेलको मुख्य उदेश्य थियो– नेता श्रेष्ठको दबदबा कम गरेर मंसिर १० गते हुन गइरहेको जिल्ला अधिवेशन आफ्नो पक्षमा पार्नु। 

जसको प्रत्यक्ष मारमा परिन्– कांग्रेस राजनीतिमा आकर्षित अधिकारी। उनी श्रेष्ठको प्यानलबाट स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार थिइन्। 

पार्टीभित्रको गुटबन्दीका कारण कांग्रेसको राजनीतिमा सक्रिय हुने अधिकारीको धोको यो पटक अपुरो रह्यो।   

पराजित भएपछि अधिकारीले ट्विट गरेकी छन्, ‘धेरैको चासोको विषय थियो। हारेकाले दोष लगाउने भन्नु होला। तर मतदानस्थल कब्जा गरी भएको निर्वाचनमा दुई सय ५६ मत प्राप्त गर्न सफल भएँ। सिकाई हो सिक्दै छु। निर्वाचनमा पराजित भएँ।’

उनले केन्द्रीय राजनीतिमा सभापति देउवानिकटहरु नै जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग मिलेकाले पराजित हुनुपरेको प्रतिक्रिया दिएकी छन्। 

‘केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवानिकट केही र पौडेल समूह मिलेर केन्द्रीय उपसभापति भइसक्नु भएका नेतालाई कमजोर बनाउन गुटबन्दी गरिएको थियो,’ अधिकारीले नेपालखबरसँग भनिन्, ‘संस्थापन इतर समूहलाई आफ्नै समूहमाथि हाबी गराएर केन्द्रमा देउवाको नाम लिनेहरूले जिल्लामा पौडेल समूहलाई जिताए। त्यसकै परिणाम हो यो।’ 

उनले आफू महाधिवेशन प्रतिनिधिमा हारे पनि पार्टीमा निरन्तर सक्रिय रहने पनि बताइन्। अधिकारीले कांग्रेसको संस्थापन समूहले पत्याएर आधिकारिक उम्मेदवार बनाउनु नै आफ्ना लागि ठूलो सफलता भएको पनि बताइन्। 

नेपाल विद्यार्थी संघकी पूर्व जिल्ला सदस्य अधिकारी २०६५ सालको स्ववियु निर्वाचनमा वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट उम्मेदवार बनेकी थिइन।

पछि पत्रकारितामा सक्रिय उनी स्याङ्जा जिल्लाको नेपाल प्रेस युनियनको कार्य समितिमा रहँदै पोखरामा भएको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तरगतको न्यूनतम् पारिश्रमिक निर्धारण समितिको बोर्ड सदस्यसमेत नियुक्त भएकी अधिकारी नेपाली काङ्ग्रेस केन्द्रीय महिला विभागको सञ्चार संयोजक हुन्।

गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षामन्त्री हुँदा अधिकारी सञ्चार विज्ञका रुपमा कार्यरत थिइन्।

‘आधिकारिक टिकट दिने कि नदिने भन्ने बहस पनि थियो। तर, आधिकारिक टिकट पाएर नेताका रुपमा स्थापित हुने अवसर पाएँ,’ अधिकारीले भनिन्, ‘आगामी दिनमा पनि सक्रिय रहन्छु। पदमा हुँदा वा नहुँदा पनि आफूले गर्ने काम, स्याङ्जाका लागि गर्नुपर्ने काम निरन्तर गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .