ad ad

राजनीति


एमालेको महाधिवेशन ‘छल्न’ कहाँ जाँदैछन् प्रचण्ड?

एमालेको महाधिवेशन ‘छल्न’ कहाँ जाँदैछन् प्रचण्ड?

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १७:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेले उनकै गृहजिल्ला चितवनमा गर्न लागेको दसौँ महाधिवेशन उद्घाटनमा नजाने भएका छन्। 

एमाले केन्द्रीय कार्यालयले महाधिवेशनमा सहभागिताका लागि उनलाई दुई साताअघि नै खुमलटार पुगेर निम्ता बुझाएको थियो। कार्यालय सचिव शेरबहादुर तामाङसहितले दिएको निम्तालाई प्रचण्डले अस्वीकार गरेका छन्। 

तत्कालीन नेकपामा रहँदा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको विवादले उग्र रुप लिएपछि अहिले उनीहरु अलग अलग बाटोमा छन्। 

प्रचण्डले कांग्रेसलाई समेत मिलाएर ओली तथा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनाएको अवस्थामा उनी महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका हुन्। 

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार बिहीबार अपरान्हसम्म एमाले महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्न जाने प्रचण्डको कुनै कार्यक्रम बनिसकेको छैन। 

एमाले महाधिवेशनलाई सम्बोधन गर्न पाँच दलीय गठबन्धनका शेरबहादुर देउवा, उपेन्द्र यादव र चित्रबहादुर केसी चितवनमा जाने भएका छन्। 

तर प्रधानमन्त्री देउवासहित पाँच दलकै नेताहरु एमालेलाई शुभकामना दिन जाने भएपछि प्रचण्डमाथि पनि नैतिक दबाब परेको छ। 

यति हुँदा हुँदै पनि प्रचण्डले ओलीसँगको विगतको तिक्ततापूर्ण सम्बन्धलाई लिएर एमालेको मञ्चमा नउक्लिने मनस्थिति बनाएर बसेका छन्। 

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले चितवन जाने नजाने निर्णय गरिनसके पनि अन्यत्रको कार्यक्रम भने तय भइसकेको छ। 

खुमलटार स्रोतले प्रचण्ड अन्तिम अवस्थामा चितवनमा नगएमा काभ्रेपलाञ्चोक जाने तालिका यसअघि नै तय भइसकेको छ।

उनी काभ्रेका दुई गाउँपालिका आउन लागेको सूचना त्यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पुगिसकेको छ। त्यहीअनुसार जिप्रकाले उनका लागि डाँडापारिका गाउँमा सुरक्षा तयारी गरिसकेको छ।

पछिल्लो समय उनी पार्टीको अधिवेशनदेखि देशका विभिन्न भागमा पुगेर उद्घाटन र शिलान्यासमा व्यस्त छन्। 

पाँच दलमा प्रधानमन्त्री जत्तिकै शक्तिशाली रहेको बताउँदै आएका उनले दुई सातायता चितवन, महोत्तरी, कैलालीसहितका स्थानमा पुगेर विभिन्न विकासे पूर्वाधारको शिलान्यास र उद्घाटन गरेका छन्। 

शुक्रबार कहाँ जाँदैछन्? 

अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनमा ओलीले एमालेको दशौँ महाधिवेशन उद्घाटन गर्दै गर्दा काभ्रेको डाँडापारिका दुई गाउँपालिकामा हुनेछन्। 

उनी काभ्रेका विकट महाभारत र खानीखोला गाउँपालिकामा माओवादी केन्द्रको गाउँपालिका सम्मेलन उद्घाटन गर्न हेलिकोप्टरबाट जाँदैछन्। 

माओवादी केन्द्र महाभारत गाउँपालिकाको सम्मेलन देवीटारमा हुँदैछ। त्यहाँ उनले बिहान ११ बजे सम्मेलनको उद्घाटन र सम्बोधन गर्ने कार्यतालिका छ।

त्यसपछि उनी मध्यान्ह साढे १२ बजे छिमेकी खानीखोला गाउँपालिकाको तालढुंगा पुग्नेछन्। त्यहाँ पनि उनले माओवादी केन्द्र खानीखोला गाउँपालिका सम्मेलन उद्घाटन गर्ने छन्। 

माओवादी केन्द्रनिकट प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा खानीखोलाका स्थानीयबासी बुद्ध लोप्चनले प्रचण्डको स्वागतका लागि सबै तयारी पूरा भइसकेको बताएका छन्। 

'उहाँ (प्रचण्ड) डाँडापारिका दुईवटा गाउँपालिका सम्मेलनलाई सम्बोधन र उद्घाटनका लागि आउने गरी एक साताअघि नै कार्यतालिका बनिसकेको थियो', लोप्चनले भने, 'शुक्रबारै उहाँले दुवै गाउँपालिकाको सम्मेलन उद्घाटन गर्नुहुनेछ।'

लोप्चनका अनुसार प्रचण्ड डाँडापारिको खानीखोलामा पहिलो पटक पुग्न लागेका हुन्। खानीखोला र महाभारत जनयुद्धका समयमा माओवादीका पकड क्षेत्रका रुपमा चिनिन्थे। 

प्रचण्डको स्वागतमा बनाइएको पोस्टर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .