ad ad

राजनीति


कांग्रेसको जिल्ला नसकिएपनि प्रदेश अधिवेशन रोकिँदैन : निर्वाचन समिति

कांग्रेसको जिल्ला नसकिएपनि प्रदेश अधिवेशन रोकिँदैन : निर्वाचन समिति

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १०:५६, काठमाडौँ

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला तहको अधिवेशन अहिले भइरहेको छ। जबकि प्रदेश अधिवेशनका लागि अब ४ दिनमात्रै छ। 

जिल्ला अधिवेशन नसकिए प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ । शनिबार बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो। 

समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिएपनि प्रदेश महाधिवेशन नरोकिने बताए । ‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन । प्रदेश र केन्द्रीय महाधिवेशन हो । त्यसैले जिल्ला अधिवेशन नसकिएपनि प्रदेश अधिवेशन रोकिदैन,’ उनले भने। 

संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्यसमितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाई सक्नुपर्छ। 

निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मतपरिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ । ‘हामीसँग समय कम छ, त्यसैले अब त उपाय नै छैन । महाधिवेशन त गर्नैपर्ने अवस्था छ,’ घिमिरेले भने । उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए। 

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्यतालिका छ । २४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुदैछ । हालसम्म ३५ बढी जिल्लामा अधिवेशन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .