ad ad

राजनीति


एमालेको ‘रमिता’ले घनश्याम भुसाल दिक्क, भन्छन् : यो स्थितिको कल्पना गरेको थिइनँ

सूर्य थापाले भनेका थिए : दाइ मध्यस्थता गरेर मिलाइदिनुपर्‍यो
एमालेको  ‘रमिता’ले घनश्याम भुसाल दिक्क, भन्छन् : यो स्थितिको कल्पना गरेको थिइनँ

सौराहाको महाधिवेशनस्थल नजिकैको होटलमा घनश्याम भुसाल। तस्बिर : नेपालखबर


कृष्ण बहाब
मंसिर १२, २०७८ आइतबार २०:५७, चितवन

नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत दोस्रो दिन साँझ ७ बजे सुरु हुने भनिएको बन्द सत्र अझै अघि बढेको छैन। 

महाधिवेशन प्रतिनिधिहरू एमाले अध्यक्ष केपी शर्मा ओली बसेको पार्क सफारी रिसोर्टको दोस्रो तलाबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको सूची आउने समय कुरेर बसिरहेका छन्। 

महाधिवेशन सामान्य स्थितिमा अघि बढे भएको भए कार्यतालिका अनुसार यतिबेला मतदान सकिन्थ्यो। तर, सर्वसम्मत गराउने पक्षमा रहेका ओलीलाई शनिबार बन्दसत्रको हलले सर्वाधिकार दिएपछि समय लम्बिँदै गएको छ। ओलीले आफ्नै समूहका नेतालाई मनाउन नसक्दा महाधिवेशन अझै लम्बिने अवस्था देखिएको छ।

बन्दसत्रबाट सर्वाधिकार पाएका ओली पार्क सफारीको दोस्रो तलामै आइतबार दिनभर बिताए। बन्दसत्रस्थलमा महाधिवेशन प्रतिनिधि अलपत्र परिरहँदा उनी भने आफ्नो गुटका नेताहरुसँग छलफलमा लागिरहे।

उता महाधिवेशनको बन्दसत्रस्थल सेभेनस्टार होटलमा उपाध्यक्ष भीम रावल र उनका सहयोगीहरु दिनभर भोट माग्न लागिरहे। ओलीको गुटभन्दा बाहिरका उपमहासचिव घनश्याम भुसालसहितका नेताहरुले ओलीसँग सल्लाह गर्ने मौकै पाएनन्।

पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएर एमालेमै बसेका १० नेतामध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले आइतवार बिहान ओलीलाई भेटेर उपाध्यक्ष रावललाई मिलाएर लैजान भने।

ओलीले उनीहरूलाई रावललाई मिलाउने प्रयास भइरहेको उत्तर त दिएर तर दिनभर यी दुई नेताको कुनै संवाद नै भएन। 

बन्दसत्रको हलबाट सर्वाधिकार पाएका ओलीलाई भेट्न दिनभर नेताहरुको लर्को लाग्यो। यसरी ओलीलाई रिझाउन धाउनेमा उनकै गुटका नेताहरु धेरै थिए।

ईश्वर पोख्रेल,विष्णु पौडेल र शंकर पोखरेलले त पार्क सफारी रिसोर्टमा अड्डा जमाएरै दिन बिताए। उनीहरु आफ्नो पद सुरक्षित गर्ने दौडमा त थिए नै ओलीका सहयोगी भएकाले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार गर्न पनि जुटेका थिए।

महाधिवेशनमा गतिलो पद पाउने लालसामा ओलीनिकट नेताहरुकै दौडधूप पार्क सफारीमा चलिरहँदा 'दश भाइ' समूहका दुई जनाबाहेक अरु कोही पनि आएनन्। 

पछिल्लो समय ओलीसँग निकट देखिएका प्रचार विभाग प्रमुख योगेश भट्टराई समेत त्यहाँ देखिएनन्। 

तिनै दश भाइमध्येका एक नेता घनश्याम भुसाल पार्क सफारी रिसोर्ट छेउकै एउटा सामन्य होटलमा झुल्किए।

महाधिवेशन अघि नबढेपछि दिक्दार भएका केही पत्रकार त्यही होटलमा पुगेका बेला उनै भुसालसँग जम्काभेट भयो।

'दाइ यत्रो समय यता देखिनु भएन, साँझमा त यतै आउनु भएछ नि,' सञ्चारकर्मीले कटाक्षको शैलीमा प्रश्न तेर्स्याए। केही दिन दिनदेखि राम्रोसँग खाना खान नपाएका भुसाल त्यहाँ घरेलु शैलीको खानेकुरा पाउने आशमा आएका थिए।

उनले खाना खानुअघि नेपालखबरले भुसाललाई प्रश्न गर्यो। 'दसौँ महाधिवेशनको यो स्थिति तपाईँले भोगेको पुराना कुनै महाधिवेशनमा पनि आएको थियो?'

'हुन त सबै महाधिवेशन फरक नै हुन्छन्। त्यसकारण यो पनि फरक छ', भुसालले जवाफ दिएपछि फेरि सोधियो, 'होइन, कमिटी छान्ने अधिकार हलले कुनै अध्यक्षलाई दिएको थियो त यसअघि? यस्तो ताल भनेको क्या!

एकछिन सोच्दै मुसुक्क हाँसेर भुसालले भने, 'यस्तो ताल त होइन, यो त बेताल पो हो त।'

यस्तो बेतालको परिस्थिति अहिलेसम्मकै एमालेको महाधिवेशनमा नदेखिएको भुसालले तर्क गरे।

'अनि दाइ, ओली पनि सि जिनपिङ जस्तै सर्वसम्मत हुन खोज्या हो कि?' 

उनले त्यसबारे अगाडि भने, 'अध्यक्ष ओलीले दुई छिमेकी नरेन्द्र मोदी र सी जिनपिङ जस्तै हुन खोजे पनि नेपालको अवस्था त्यस्तो छैन।'

चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी ले कुनै एक भाषण गर्दा वर्षौँ अध्ययन र तयारीपछि मात्रै बोल्ने गरेको उनले सुनाए। 'हाम्रो पार्टीको परम्परा कताको, चिनियाँ पार्टीको परम्परा कहाँको? मिल्दै मिल्दैन। हामीले देखे जस्तो सीले प्रस्ताव गरिनसक्दै पारित हुने होइन, धेरै छलफल हुन्छ त्यहाँ।'

खाना खानै लाग्दा भुसालको मोबाइल फोन बज्यो। सायद आज कसलाई भेट्नु भयो भन्ने प्रश्न उताबाट सोधिएको थियो उनलाई

महाधिवेशनस्थल बाहेक गएर कुनै नेतालाई नभेटेको भुसालले फोनबाटै जवाफ फर्काए। महाधिवेशनस्थलकै बाटोमा हिँडिरहँदा ओलीनिकट सूर्य थापालाई भेटेको प्रसङ्ग समेत उनले फोनबाटै सुनाए। जुन संवादलाई चिया पिउन पुगेका पत्रकारले चाखपूर्वक सुनिरहे। भुसालले भने, 'बाटोमा सूर्य थापासँग भेट भएको थियो। 

त्यो भेटका क्रममा थापाले 'दाइ तपाईँले मध्यस्थता गरेर सहमतिको वातावरण बनाइदिनुपर्‍यो' भनेर आग्रह गरेका रहेछन्। भुसालका अनुसार थापाबाहेक उनले ओलीनिकट कुनै नेतालाई आइतवार दिनभर भेटेनन्। 

उनले महाधिवेशनको बन्द बन्द सत्रमा ओली 'नोटेड' नेता नदेखेपछि फोन गरेको स्वीकारे। 'मैले ईश्वर पोख्रेल, शंकर पोख्रेल र विष्णु पौडेललाई फोन गरेँ, तर कसैले उठाउनु भएन। त्यसपछि महाधिवेशनको बन्द सत्रमै भेट हुन्छ होला भनेर सम्पर्क गरिनँ।'

सर्वसम्मतिको नारा दिनभरी सुनाउँदा अध्यक्षमा उठेका भीम रावलको मत बढ्ने टिप्पणी समेत भुसालले चिया पसलमै गरे।

'सहमतिका नाममा महाधिवेशनको बन्द सत्रलाई बन्धक बनाउँदा रावल कमरेडको मत बढ्न सक्छ', उनले भने। 

तर निर्वाचन हुँदा पनि ओलीले सहजै जित्ने उनले निष्कर्ष सुनाए। 'ओलीजी सहजै जित्ने अवस्थामा हुनुहुन्छ,' भुसालले भने, 'तर, उहाँलाई अरूले च्यालेन्ज गरेको मन परेको छैन। अब यसरी समय घर्काउँदै गयो भने रावलजीको मत बढ्दै जान्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .