ad ad

राजनीति


सुवास नेम्वाङलाई पत्रकारको प्रश्नः वरिष्ठ उपाध्यक्षको दाबी किन छाडेको?

सुवास नेम्वाङलाई पत्रकारको प्रश्नः वरिष्ठ उपाध्यक्षको दाबी किन छाडेको?

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १६:४५, काठमाडौँ

चितवनको सौराहामा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया चलिरहेको छ। 

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने आज राति ९ बजे मतदान सुरु गर्ने कार्यसूची एमाले निर्वाचन आयोगले बनाएको छ। 

पदाधिकारीमा अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेका छन्।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल भने निर्विरोध निर्वाचित भइसकेका छन्। 

यसैबीच यसअघि वरिष्ठ उपाध्यक्ष पद दाबी गरेका सुवास नेम्वाङले भने एक तह तल झरेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

यस क्रममा महाधिवेशन स्थल सौराहामा उपस्थित पत्रकारहरूले नेम्वाङलाई वरिष्ठको दाबीबाट किन उपाध्यक्षमा झरेको भनेर सोधेका छन्। 

जवाफमा नेम्वाङ भन्छन्, ‘दाबी गरेको होइन, मलाई सबैले वरिष्ठमा उठ भनिराखेका छन्, त्यसैले चुनावमा उठ्नुपर्यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ, तर त्यतिबेलै मैले भनेको थिएँ– पार्टीको लागि यतिबेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ, अपरिहार्य छ, केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ। तर त्यसो गर्ने कोसिस गर्दागर्दै पनि कथं कदाचित् निर्वाचन हुने भो भने मेरा मित्र, शुभचिन्तकहरूको सल्लाहले निर्वाचनमा जान्छु भनेको थिएँ। सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढ्यो। तर मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नुभएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्यो, त्यो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनेर भन्यो, त्यसैले मलाई लागेको कुरा मैले अध्यक्षलाई भनेँ, भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको जुन म्यान्डेट छ, त्यो म्यान्डेटलाई ध्यानमा राखेर मैले उपाध्यक्षको उम्मेदवारी दिएको छु।’

शनिबार बन्दसत्रले एमालेको नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिएपछि अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यराति आफूलाई अध्यक्ष पदमा राखेर १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको ‘सर्वसम्मत’ सूची बन्दसत्र हलमा पेस गरेका थिए।

तर भीम रावल र घनश्याम भुसालले विरोध जनाउँदै आफूहरू चुनाव लड्ने पक्षमा रहेको अडान लिएपछि एमालेको पूरै नेतृत्व चयन निर्वाचन प्रक्रियामा जान बाध्य भएको हो। निर्विकल्प अध्यक्ष बन्ने सपना देखेका ओलीलाई चुनौती दिँदै रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

केन्द्रीय सदस्यमा पनि ओलीले प्रस्ताव गरेभन्दा ३० जनाको बढी उम्मेदवारी परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .