ad ad

राजनीति


भोट मागिरहेका भीम रावललाई कार्यकर्ताले भने : अध्यक्षमा हारेपछि पार्टीबाट भाग्‍न पाइँदैन

भोट मागिरहेका भीम रावललाई कार्यकर्ताले भने : अध्यक्षमा हारेपछि पार्टीबाट भाग्‍न पाइँदैन

रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै भगवती चौधरी। तस्बिर : कृष्ण बहाब/नेपालखबर


कृष्ण बहाब
मंसिर १३, २०७८ सोमबार १६:५५, सौराहा (चितवन)

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। 

ओलीले सहमतिका लागि कुनै संवाद नगरेपछि मैदानमा उत्रिएका उनले दुई दिनदेखि भोट मागिरहेका छन्। 

चितवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सुरु नहुँदै उपाध्यक्ष रावलले अध्यक्षका लागि मत माग्न थालेका थिए। 

१० गते बिहानदेखि नै ३२ पृष्ठको सानो पुस्तक छपाएर रावलका शुभेच्छुकहरुले मत माग्न थालेका थिए।

शुभेच्छुकहरु भीम रावलको पर्चासहित मत माग्दैछन्। तपाईँले चिनेकालाई नि भन्नुस् है कम्रेडहरु! भन्दै शुभेच्छुकहरु लागि परेका छन् । उपाध्यक्ष रावल पनि आफैँ फिल्डमा उत्रिएर मत मागिरहेका छन्।

अध्यक्षका उम्मेदवार रावल अहिले सेभेन स्टार होटलभित्र मत माग्दै हिँडिरहेका छन्। 

रावलले दौडधूप तीव्र बनाउँदै महाधिवेशन प्रतिनिधिहरु बसेको समूहमा मत मागिरहेका छन्। 'एकचोटी मलाई पनि पार्टी चलाउन दिनुहोस्', यसो भन्दै उनी प्रतिनिधिहरूलाई नमस्कार गरिरहेका छन्।

तर अनौठो के छ भने महाधिवेशन प्रतिनिधिका अधिकांश समूहले रावललाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन्। 

'तपाईँलाई पनि थाहा छ त अहिलेको स्थिति,' सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयरसमेत रहेका निलम खनालले रावललाई भने, 'माहोल तपाईँको पक्षमा छैन। तपाईँ त हाम्रो नेता हो, अहिलेकै पदमा दोहोरिनु न। तपाईंले त सर्वसम्मत बनाउन पहल गर्नु पर्ने हो नि।' 

उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दा रावल मुसुक्क हाँसिदिन्छन्। 'मलाई पनि एक पटक मौका दिनुस् न, मैले उपाध्यक्षका रुपमा पार्टी राम्रो चलाइन र?,'  उनी हाँस्दै जवाफ दिन्छन्।

अध्यक्षबाट नाम फिर्ता गर्न आग्रह गर्ने प्रतिनिधिहरूसँगै पार्टी छाडेर नजानु भन्ने प्रतिनिधिहरूलाई पनि रावलले भेटेका छन्।

सुनसरीका प्रतिनिधिहरु बसेको एक समूहमा पुगेका रावलले यस्तै आग्रह फेस गएका थिए। एमाले सुनसरीका अध्यक्षसमेत रहेका खेमराज पोखरेलले रावललाई भने, 'हारियो भने भाग्न पाइँदैन नि!' 

पोखरेलको आशय अध्यक्षमा हारेपछि पार्टी छोड्न पाइँदैन भन्ने थियो। पोखरेलले त्यति भनिसक्दा रावलले जवाफ दिइहाले, 'भाग्ने भए त्यत्रो घनिष्ठ सम्बन्ध भएको माधव नेपाललाई तपाईँ पार्टी फुटाउन पाउनु हुन्न खबरदार भन्थेँ होला त?'

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .