ad ad

राजनीति


ओलीलाई पनि उछिनेर गोकर्ण विष्टले लगातार ‘लोकप्रिय’ मत पाउनुको रहस्य

ओलीलाई पनि उछिनेर गोकर्ण विष्टले लगातार ‘लोकप्रिय’ मत पाउनुको रहस्य

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १९:३५, काठमाडौँ

एमालेको दसौं महाधिवेशन (१०–१४ मंसिर) मा सचिवतर्फ सबैभन्दा बढी मत पाएर गोकर्ण विष्ट विजयी भए। सचिवका नौ प्रतिस्पर्धीमध्ये विष्टले सबैभन्दा धेरै १ हजार ९ सय ७४ भोट पाए। 

विष्टले पाएको यो मत महाधिवेशनमा सबैभन्दा बढी मत पाएर उपाध्यक्ष निर्वाचित अष्टलक्ष्मी शाक्यलाई प्राप्त मत (१९७४) भन्दा २ मात्र कम हो। 

संयोग के हो भने २०७१ मा भएको नवौं महाधिवेशनमा पनि सबैभन्दा बढी मत विष्टले नै पाएका थिए। त्यसबेला पनि सचिव पदमै प्रतिस्पर्धा गरेका उनले १ हजार २ सय ७० मत प्राप्त गरेका थिए। 

एमालेमा विष्टभन्दा लोकप्रिय छवि भएका अन्य नेता नभएका होइनन्। लोकप्रियताकै दृष्टिले त एमालेमा यतिबेला अध्यक्ष केपी शर्मा ओलीभन्दा लोकप्रिय अरू को पो होला र? तर ओली, उपमहासचिव प्रदीप ज्ञवालीजस्ता लोकप्रिय नेताहरूलाई पनि सचिव विष्टले मतमा भने पछि पारिरहेका छन्। 

आखिर लगातार एमालेका पछिल्ला दुई महाधिवेशनमा विष्टले प्रतिस्पर्धा गरेका पदमा किन अन्य नेताले भन्दा ‘लोकप्रिय’ मत पाइरहेका छन्? मत विश्लेषणमा चासो राख्ने एमाले नेताहरूलाई यतिबेला विष्टले प्राप्त गर्ने ‘लोकप्रिय मत’ ले निकै रिङ्ग्याइरहेको छ।

कतिपयको अनुमानमा– तीव्र गुटबन्दीबाट गुज्रिरहेको एमालेमा पछिल्लो समय ‘बीचको धार’ समातेकाले विष्टले सबैभन्दा धेरै मत पाएका हुन सक्छन्। कतिपयले चाहिँ दश नेता समूहका भए पनि पछिल्लो समय ओलीको सबैभन्दा बढी ‘भक्तिगान’ गरेकाले उनलाई सचिव पदमा सबैभन्दा बढी मत प्राप्त भएको हुन सक्ने अनुमान गरेका छन्। 

केही दिनअघि एमालेको मध्यपुर–ठिमी नगरपालिका अधिवेशन उद्घाटनका बेला विष्टले एमाले विभाजनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हात रहेको आरोप लगाउँदै ओली सरकारका पालामा भएका कामहरूलाई प्रचार गरेर एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गरेका थिए। 

पार्टी विभाजनका बेला माधव नेपालको साथ छाड्दै एमालेमै रहेका १० नेतामध्ये अध्यक्ष ओलीप्रति सबैभन्दा बढी ‘बफादारी’ प्रकट गरेकाले विष्टले ओलीप्रति बफादार धेरैजसो प्रतिनिधिको मत प्राप्त गरेको कुरा सत्य हो। तर सबैभन्दा बढी मत पाउनुको कारण यत्ति मात्र होइन। 

जानकारहरूका भनाइमा– दुवै महाधिवेशनमा विष्टले अन्य उम्मेदवारले भन्दा बढी मत प्राप्त गर्नुको कारण उनले निकटस्थ महाधिवेशन प्रतिनिधिहरूलाई सचिव पदमा आफूलाई मात्र ‘एकछापे’ मतदान गर्न लगाउने गरेकाले हो। ​

भर्खरै सम्पन्न दसौं महाधिवेशनमा एमालेले पहिलोपटक विद्युतीय मतदान यन्त्र (इलेक्ट्रिक भोटिङ मेसिन) प्रयोग गर्यो। यसअघिका महाधिवेशनमा भने ‘प्रिन्टेट’ (कागजमा छापिएको) मतपत्र प्रयोग गरिएको थियो। 

विद्युतीय मतदान यन्त्र भएकाले कुन उम्मेदवारका पक्षमा मात्र ‘एकछापे मतदान’ भयो भन्ने थाहा पाउन सकिँदैन। तर ‘प्रिन्टेट’ मतपत्रमा भने यो स्पष्टसँग देख्न सकिन्छ।  

नवौं महाधिवेशनमा एमाले विधानले सचिवको संख्या ५ राखेकाले एक जना मतदाताले सचिवका ५ उम्मेदवारलाई मतदान गर्न पाउँथ्यो। ‘प्रिन्टेट’ मतपत्र भएका कारण सम्बन्धित मतदाताले कुन कुन उम्मेदवारलाई मत दियो, कसलाई दिएन, प्रस्टसँग थाहा पाउन सकिन्थ्यो। 

स्रोतका भनाइमा– नवौं महाधिवेशनमा यस्ता केही दर्जन मतपत्र भेटिएका थिए, जहाँ एक जना मतदाताले सचिव पदका पाँच उम्मेदवारलाई मतदान गर्न पाउने भए पनि एक जनालाई मात्र अर्थात् ‘एकछापे मतदान’ गरेको भेटिएको थियो। 

त्यसरी एकछापे मतदान गरिएका सचिवका उम्मेदवार थिए– गोकर्ण विष्ट।

‘झण्डै सय जना महाधिवेशन प्रतिनिधिले सचिवका पाँचै उम्मेदवारको साटो विष्टका पक्षमा मात्र मतदान गरेको भेटिएको थियो’, त्यसबेला मत गणनामा सहभागी एमालेका एक नेताले नेपालखबरसँग भने, ‘यस्तो एकछापे मतदानका कारण सचिवमा सबैभन्दा बढी मत पाएर विष्ट विजयी भए। झण्डै सय मत एकछापे भएका कारण सचिवमा विजयी अन्य उम्मेदवारहरू विष्टभन्दा निकै पछि परे।’ 

यसको असर सचिव पदको प्रतिस्पर्धामा मात्र परेन, सबै पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनमा पनि पर्यो। एकछापे मतदानका कारण समग्र उम्मेदवारमध्ये सबैभन्दा बढी लोकप्रिय मत पाउने विष्ट नै भए। 

नवौं महाधिवेशनबाट सचिव निर्वाचितमध्ये दोस्रो बढी मत प्रदीप ज्ञवाली (११५५) ले पाएका थिए। त्यसपछिको बढी मत योगेश भट्टराई (१०८५), भीम आचार्य (१०३५) र पृथ्वीसुब्बा गुरुङ (१०२९) ले पाएका थिए। 

नवौं महाधिवेशनमा सचिवतर्फ मात्र होइन, सबै उम्मेदवारमध्ये सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका आधारमा विष्टले यसपटक उपमहासचिवमा दाबी पेस गरेको भए हुन्थ्यो। तर उनी यसपटक पनि सचिवमै सीमित हुन चाहे, उपमहासचिव पदमा प्रतिस्पर्धा गर्ने आँट गरेनन्। 

बरु नवौं महाधिवेशनमा विष्टले पाएका १ हजार २ सय ७० भन्दा ११५ कम अर्थात् १ हजार १ सय ५५ मत मात्र प्राप्त गरेका प्रदीप ज्ञवाली र सचिवमा सबैभन्दा कम मत पाएका गुरुङका साथै त्यसबेला सचिव पदमा पराजित विष्णु रिमाल यसपटक उपमहासचिव पदमा निर्विरोध भएका छन्। 

‘एमालेमा प्रदीप ज्ञवालीभन्दा कुनै पनि हिसाबले गोकर्ण विष्ट लोकप्रिय नेता होइनन्, तर आफू निकटस्थहरूलाई एकछापे मतदान गर्न लगाएका कारण नवौं महाधिवेशनमा विष्टले सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेका थिए’, एमालेका ती नेताले नेपालखबरसँग भने, ‘आफूलाई लोकप्रिय देखाउने ‘कला’ मा गोकर्ण माहिर छन्। यसपटक पनि उनले पुरानै ‘कला’ प्रयोग गरे र  सचिवतर्फ सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सके।’  

आफूलाई लोकप्रिय देखाउने त्यस्तो ‘कला’ विष्टले एमाले महाधिवेशनमा मात्र होइन, ऊर्जामन्त्री हुँदा पनि देखाएका थिए–विद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काटेर। 

उद्योगका बिजुली काट्ने काम थुप्रै सञ्चारकर्मी र फोटो पत्रकारको उपस्थितिमा गरिएको थियो। विद्युत् लाइन काट्ने यो कामको बढाइचढाइपूर्ण प्रचारमा विष्टको निकै रुचि देखिन्थ्यो। 

कामभन्दा ठूलो प्रचारका कारण त्यो बेला विष्टको लोकप्रियता निकै चुलिएको पनि थियो। ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ उखानलाई उनको उक्त कदमले चरितार्थ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .