ad ad

राजनीति


कमल थापालाई भोट माग्दै श्रीमती र भाइ, राजेन्द्र लिङ्देनको आक्रामक प्रचार

कमल थापालाई भोट माग्दै श्रीमती र भाइ, राजेन्द्र लिङ्देनको आक्रामक प्रचार

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १८:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट नयाँ अध्यक्षका लागि दुई जना मैदानमा छन्। 

एकातिर वर्तमान अध्यक्ष कमल थापा अर्को चार वर्ष दोहोरिने योजनामा हुँदा अर्कातिर राजेन्द्र लिङ्देन नेतृत्व हत्याउने योजनामा छन्। 

झापाका राजेन्द्र लिङ्देनले काठमाडौंका थापाको नेतृत्वमा राप्रपा चलाउँदै २०७४ को निर्वाचनमा ३ प्रतिशत मात्रै भोट ल्याएर इतिहासमै कमजोर भएको बताए। 

महाधिवेशन उद्घाटनका क्रममा लिङ्देनले बुढा र पाका भनेर आफूले कसैको अपमान नगर्ने बताउँदै तर अब थापाकै नेतृत्वमा राप्रपा चलिरहने हो भने सिद्धिने बाटोमा जाने तर्क गरे।

अर्कातिर थापाले आफूलाई चार वर्ष पार्टी हाँक्ने अवसर दिन बताए। उनले राप्रपा अब यो भन्दा तल जान नसक्ने बताउँदै अब पार्टीलाई माथि लैजाने तर्क गरे। 

अध्यक्ष दुई प्रत्यासीबीच महाधिवेशन उद्घाटन हलमा दाबेदारीको होडबाजी चलिरहँदा बाहिर भने चुनाव प्रचार तीव्र बनाएका छन्।                     

अध्यक्ष थापाले उद्घाटन सभामा भाषण गरिरहँदा बाहिर चौर र पालहरुमा श्रीमती प्रलिता थापा महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त थिइन्। 

उनले थापाका लागि एक-एक प्रतिनिधिलाई भेट्दै भोट मागिन्। महाधिवेशन प्रतिनिधिका गुनासो र प्रश्न पनि उनले सुनिरहेकी थिइन्। 

प्रलिताले महाधिवेशन प्रतिनिधि फकाइरहेको दृश्य अरूका लागि पनि चासोको विषय बनेको छ। 

थापाका लागि उनकै भाइ गणेश थापा पनि भोट माग्न व्यस्त थिए। एन्फाका पूर्वअध्यक्ष समेत रहेका उनी यो पटक दाजुको विकल्प नरहेको तर्क गरिरहेका छन्। 

उता अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनले पनि युवाहरुको टिम नै खटाएर आक्रमक चुनाव प्रचार गराइरहेका छन्। 

लिङ्देनले युवाहरु परिचालन गरेर चुनाव प्रचारलाई तीव्र पारेका छन्। अर्कातिर उनले महाधिवेशनस्थलमा फ्लेक्स बोर्ड, प्रचार र पम्प्लेटको प्रयोग गरेर महाधिवेशन प्रतिनिधिको ध्यान आफूतिर तान्ने कोसिस गरिरहेका छन्। 

एकता महाधिवेशनको उद्घाटन सत्र चलिरहेको भृकुटीमण्डप आसपासमा लिङ्देनको प्रचारसहितका फ्लेक्स राखिएका छन्। 

कार्यकर्ताहरु उनको पक्षमा मत मागिरहेका छन्। लिङ्देनलाई अध्यक्षमा प्रकाश चन्द्र लोहनी, धवल शमशेर जबरा र पशुपति शमशेर जबरासहितले साथ दिने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .