नेपाली कांग्रेस गण्डकी कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट शुक्रराज शर्माले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन्। उनीहरुले सदस्यसम्म नै प्यानल बनाएर उम्मेदवारी दिएका हुन्।
प्रदेश उपसभापतिमा जोशी प्यानलबाट मेखलाल श्रेष्ठ र नेत्र महत उम्मेदवार बनेका छन् भने शर्मा प्यानलबाट कल्पना तिवारी र हरिकुमार श्रेष्ठ उम्मेदवार छन्। यस्तै, महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र इश्वर पाण्डेले उम्मेदवारी दिएका छन् भने शर्मा प्यानलबाट विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ उम्मेदवार छन्।
कांग्रेसले प्रदेशमा पनि सभापति १ जना, उपसभापति, २ जना, महामन्त्री २ जना र १ जना महिलासहित सहमहामन्त्री ३ जना हुने व्यवस्था गरेको छ। प्रदेश पदाधिकारीका यी सबै पदमा स्पष्ट दुइटा प्यानलबाट मात्र उम्मेदवारी परेका छन्।
सहमहामन्त्रीमा जोशी प्यानलबाट राजनराज पन्त र झुलबहादुर आले उम्मेदवार छन् भने शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे उम्मेदवार छन्। महिला सहमहामन्त्रीमा जोशी प्यालनबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन्।
गण्डकी कार्यसमितिमा ६० जना सदस्यका लागि १३२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ। गण्डकी प्रदेश समितिका निर्वाचन कार्यतालिका अनुसार शनिबार विहान ८ बजेदेखि मतदान थालिने जनाएको छ। गण्डकीमा करिब ११ सय प्रतिनिधि मतदानमा सरिक हुँदैछन्।
प्रदेश अधिवेशन प्रतिनिधि,केन्द्रीय महाधिवेशन प्रतिनिधि,सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका मतदाता हुन पाउने विधानमा उल्लेख छ।
यस्तै, प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापतिहरू, प्रदेशका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि मतदाता हुन्। भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई उम्मेदवारी दिन भने रोक लगाइएको छ।
कांग्रेसको विधानले सभापतिसहित २ जना उपसभापति, २ जना महामन्त्री, ३ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष एवं सदस्यहरुको कार्यसमितिको व्यवस्था गरेको छ। सहमहामन्त्रीमा १ जना महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ भने कोषाध्यक्ष सभापतिले मनोनित गर्ने हो तर कार्यसमितिले त्यसको अनुमोदन गरिनुपर्छ।
कार्यसमितिमा सम्बन्धित प्रदेशभित्रका प्रत्येक जिल्लाबाट एक महिलासहित २ जना प्रत्यक्ष निर्वाचित सदस्य रहने प्रावधान अनुसार गण्डकीमा जिल्लाबाट २२ जना आउनेछन्। सभापतिले प्रदेश सभाका कूल सदस्यमध्ये २० प्रतिशत सदस्य मनोनित गर्न पाउँछन्।
त्यसमा समावेशीताको प्रावधान राखिएको छ प्रदेश सभामा अल्पसंख्यक, अपांगता भएका क्षेत्रबाट कम्तिमा एक जना निर्वाचित सदस्य रहने तथा प्रदेश सभा निर्वाचन क्षेत्रको कुल संख्यामा एक तिहाइ संख्या प्रत्यक्ष निर्वाचित गरेको सदस्य हुनुपर्ने विधानमा व्यवस्था छ।
यस्तै प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तिमा एक महिला र एक पुरूष सदस्य हुनुपर्ने विधानको व्यवस्था छ। प्रदेश कार्यसमितिको बैठकमा सम्बन्धित प्रदेशभित्र रहेका जिल्ला सभापतिहरूलाई अनिवार्य आमन्त्रण गर्नुपर्ने प्रावधान छ।
सभापति पदमा दुई जनाभन्दा धेरै उम्मेदवार भएमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विजयी हुनेछ। सभापतिमा २ जनामात्रै उम्मेदवार भएकाले गण्डकीमा पहिलो चरणमै सभापति चुनिने निश्चित छ।
Shares
प्रतिक्रिया