ad ad

राजनीति


शम्भु थापाले बालकोटमा ओलीलाई भने : आए देउसी खेलेर गए भनेर नबुझिदिनु होला

शम्भु थापाले बालकोटमा ओलीलाई भने : आए देउसी खेलेर गए भनेर नबुझिदिनु होला

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १४:४८, काठमाडौँ

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि पहल गरिदिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष आग्रह गरेको छ। 

मंगलबार ओली निवास बालकोटमै पुगेर बारका पदाधिकारीहरुले लोकतन्त्रको रक्षाका लागि जबराको बहिर्गमन आवश्यक भएको भन्दै ओलीको ध्यानाकर्षण गराएको हो। 

जबराको बहिर्गमन हुनु पर्ने १५ आरोपसहितको ज्ञापन पत्र ओलीलाई नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तान्तरण गरेका छन्। 

चण्डेश्वरले ज्ञापनपत्र बुझाएपछि बारको तर्फबाट कुरा राख्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूहरुको कुरा गम्भीर रुपमा लिएर कदम चालिदिन ओलीसँग आग्रह गरे। 

‘देश परिवर्तन गर्न हिँड्नु भएको हो, आजको र भोलिको पनि प्रमुख शक्ति हुनुहुन्छ, हामी अप्ठेरो परेर कुरा राख्न आएका हौं। अध्यक्षज्युले आए देउसी खेले, गए भन्ने रुपमा लिनु हुने छैन। गम्भीर रुपमा लिनुहुनेछ’, थापाले भने। 

संसद विघटनको मुद्दामा विपक्षमा बहस गरेको विषयलाई पनि थापाले ओलीसामू संकेत गरे। 

‘संवैधानिक दृष्टिकोणमा हाम्रो कुनै मुद्दामा फरक खायो होला’, थापाले भने, ‘कानुन व्यवसायीहरु किनिएका हुँदैनन्, बेचिएका हुँदैनन्। कानुनको व्याख्या गरिदिने हो।’

गणतन्त्रपछि असल मान्छे भन्दा पनि राजनीतिक दलमा लागेको मान्छे न्यायाधीश नियुक्ती हुन थाल्दा समस्या भएको र संविधानमै गल्ती गरिएको थापाले बताए।

‘हिजो भोट माग्न पनि गयौं, आफूले मात्र भोट हालेनौँ। यो देशको परिवर्तनको मोर्चामा हामी पनि उभिएका छौं’, थापाले भने, ‘यहाँहरुको राजीनितक पृष्ठता होला तर न्यायालयको सुधारका लागि साथ दिनुपर्छ। हामीले किलकिले त समातेका छौं, तर यो बलियो छ। यो सजिलै जाँदैन।’

दलमा र संसदका विभिन्न समितिमा प्रधानन्यायाधीशको बहिर्गमनको विषयमा छलफल गर्न ओलीसमक्ष उनले आग्रह गरे । 

यस्तै थापाले सबै दलहरुले यही प्रधानन्यायाधीशलाई मान भने पनि मान्न सक्ने अवस्थामा नरहेको बताए। थापाले ओली शक्तिशाली भएको विषयलाई समेत घुमाउरो पारामा उठाएका थिए। ‘पहिले नख्खुमा भेट गर्दा, पोखरामा भेट्दा खेरि तपाईलाई यहाँ यो रुपमा देख्न पाउँछु भन्ने सोचेको थिएन’, उनले भने।

हिजो फरक कित्तामा उभिएको विषयलाई लिएर प्रधानन्यायाधीशको विषयमा अहिले माथापच्चिस नगर्न ओलीलाई उनले आग्रह गरे। कानुन व्यवसायीले ओलीलाई भेट्दा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पनि सहभागी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .