ad ad

राजनीति


कांग्रेसको महाधिवेशन तयारी अन्तिम चरणमा, मतदान प्रक्रियाबारे अझै अलमल

कांग्रेसको महाधिवेशन तयारी अन्तिम चरणमा, मतदान प्रक्रियाबारे अझै अलमल

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १५:३२, काठमाडौँ

नेपाली कांग्रेसको आसन्न १४ औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए। प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए।

उनले केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागतद्वार र श्रृंगारको संयोजक  काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताए। प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए। 

पार्टी प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशनको अन्तिम चरणमा छौँ। नेपाली कांग्रेस पार्टीको संगठनको ८ वटा चरण छ, टोलदेखि केन्द्रसम्म। त्यसमा ७ वटा तहको निर्वाचनको प्रक्रियाहरु हुन्छ। वडादेखि लिएर प्रदेश अधिवेशनसम्म आउँदा ६ वटा तह सकिएको छ। प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक ती विषयहरुलाई महाधिवेशनपछि हुने कुरा थाँति राखेर अब हामी केन्द्रीय अधिवेशनतर्फ केन्द्रित छौँ। यसमा केन्द्रित हुँदै गर्दा देशभरबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ। केन्द्रीय महाधिवेशनको लागि यसको व्यवस्थापकीय काममा अहिले हामी व्यस्त छौँ। आवास, खाद्यान्नको व्यवस्थापन गर्ने विषय, प्रचारप्रसारलाई व्यवस्थित गर्ने विषय, स्वास्थ्यसँग सम्बन्धित व्यवस्थापन गर्ने विषय यी समग्र विषयहरुको सन्दर्भमा हिजो मात्रै हामीले पार्टीको बैठकमा विभिन्न छलफल गरेका थियौँ। आजबाट महाधिवेशन केन्द्रित प्रचार पनि शुरु गरेका छौँ। त्यसक्रममा प्रचार समितिको संयोजकको नाताले स्वागतद्वार र श्रृंगारको संयोजक नेपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई पार्टीको ४ तारे झन्डा र चुनाव चिन्ह रुख अंकित झन्डा हस्तान्तरण गरेर त्यो काम शुरु भएको छ। अब हामी बाहिर सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेका छौँ।’ 

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताए। उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए।

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भएपनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए। उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए। डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने बताए।

प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रस्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए। उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे। प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .