ad ad

राजनीति


शेरबहादुर देउवाले ममाथि अर्को राजनीतिक हिंसा गरे : गुरु घिमिरे

पैसाको खोलो बगाइएको गुनासो, हराउन सबै शक्ति लगाइयो
शेरबहादुर देउवाले ममाथि अर्को राजनीतिक हिंसा गरे : गुरु घिमिरे

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १५:५५, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाबाट राजनीतिक हिंसा भएको बताएका छन्। 

प्रदेश १ सभापतिमा पराजित भएर काठमाडौं आइपुगेका उनले मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।

देउवा पक्षीय उद्धव थापासँग झिनो मतले पराजित भएका उनले आफूलाई हराउन सत्ता र शक्तिको दुरुपयोग गरिएको पनि बताएका छन्। 

'मलाई हराउने नाममा सत्ता चरम दुरुपयोग गरियो। प्रधानमन्त्री शेरबहादुर देउवाले ममाथि अर्को पटक राजनीतिक हिंसा गरे', उनले भने, 'केपी ओलीविरुद्ध  हामीले नलडेको भए यो सत्ता आउने थिएन। तर देउवाले सुरु गरेको राजनीतिक हिंसाको श्रृंखला अहिले पनि रोक्नु भएन।'

उनले यसअघि २०७४ को निर्वाचनमा टिकट नदिएर देउवाले राजनीतिक हिंसा गरेको पनि बताए।

भिडिओ

'उहाँ (देउवा)ले ममाथि हिंसा गरिसक्नु भएको थियो। उहाँ संयोजक रहेको संसदीय बोर्डले टिकटबाट वञ्चित गर्यो। त्यो पहिलो राजनीतिक हिंसा थियो अहिले दोहरियो ।  जनमत, योगदान र पहिचानका आधारमा पनि नम्बर १ मा परेको मलाई टिकट दिनुभएन,' उनले भने, 'त्यो ममाथिको पहिलो राजनीतिक हिंसा थियो। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा देउवाले ममाथि अर्को हिंसा गरे।'

उनले प्रदेश १ मा आफूलाई हराउन सबैखालको शक्ति प्रयोग भएको पनि बताए। 'प्रदेश १ को अधिवेशनमा एक प्रकारले डनवाद र धनवाद दुवै देखाए। इमानी नेताहरु पनि पाखण्डी निस्किए', उनले भने, 'म जस्ता सोझा कार्यकर्ताको केही नलाग्ने रहेछ। पैसाको खोलो बगाएको पनि देखियो।'

घिमिरेले जित हारलाई सहज रुपमा लिनुपर्ने बताए। 'यो मूल्यको राजनीति हो। मूल्यमान्यता स्खलनको जीवन्त दृष्टान्त हो प्रदेश १ को निर्वाचन', उनले भने, 'सत्ताको चरम दुरुपयोग गरियो। मन्त्रीहरु कामकाज छोडेर मत माग्न बसे। यसका बावजुद धेरै सद्भाव पनि पाएँ। जति मत पाएँ, त्यो मेरो लागि सम्पत्ति हो।'

उनले पुन मतगणनाको निवेदन दिए पनि देउवाले नै त्यसलाई अड्काएको पनि बताए। 'पुन: मतगणनाको माग गरेको थिएँ। केन्द्रीय निर्वाचन समितिले आलटाल गरिरहेको छ', उनले भने, 'प्रदेश निर्वाचन समितिले गर्छु भनेको छ। यो आलटाल पनि तानाशाहीको अर्को स्वरुप हो।'

घिमिरेले पार्टीका केही नेताहरु आफ्नो स्वार्थ पूरा गर्न लागेको बताए। 'पार्टी केही नेताहरुको स्वार्थ पूरा गर्ने हतियार भएको छ। सत्ता निजी शक्ति बढाउन र आफ्नो गुटलाई मलजल गर्न प्रयोग भएको छ', उनले भने, 'प्रधानमन्त्रीको कुर्सी हाम्रो रगत-पसिनाको जगमा खडा भएको छ।'

उनले आफूलाई मतदान नगर्ने केही व्यक्तिको निर्णय उनीहरुको अधिकार भएको पनि बताए। तर त्यसलाई प्राविधिक भन्दै आफूलाई सत्ता र शक्तिको आडमा नै हराइएको गुनासो गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .