ad ad

राजनीति


कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूह असफल

शशांक रामचन्द्रतिर, शेखर र प्रकाशमान विवाद यथावत
कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूह असफल

चाक्सीबारीस्थित प्रकाशमान निवासमा भेला भएका इतर समूहका नेताहरु


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १९:२०, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले शेरबहादुर देउवाविरुद्ध उठाउने साझा उम्मेदवार छान्न असफल भएको छ। 

प्रकाशमान सिंह चाक्सीबारीमा मंगलबार दिनभर बसेको बैठकबाट कांग्रेसको इतर समूहले सभापतिको साझा उम्मेदवार छान्न असफल भएको हो। 

युवा नेताहरु र केन्द्रीय सदस्यहरुको चर्को दबाबपछि एकजना दाबेदार शशांक कोइराला वरिष्ठ नेता पौडेलका लागि सभापतिको दाबी छाड्न तयार भएका छन्। 

तर शेखर कोइराला र प्रकाशमान सिंहबीच अझै कुरा मिल्न सकेको छैन। वरिष्ठ नेता पौडेल र कोइरालाले दुई नेतालाई एक अर्काको अस्तित्व स्वीकारेर अघि बढ्न सुझाएका छन्। 

यस्तो अवस्थामा दुवै नेता सहमत नभए आफैँ सभापतिमा उठ्ने रणनीति पौडेलले बनाएका छन्। त्यही अनुसार उनी शशांकको समर्थन लिन सफल भएका छन्। 

पौडेलले रणनीतिक रुपमा साझा उम्मेदवारका लागि प्रकाशमान र शेखरलाई मिल्न भनेका छन्। यदि उनीहरु मिलेमा दुईमध्ये एक सभापतिमा साझा उम्मेदवार हुने दिशामा कुरा अघि बढेको छ।

तर उनीहरु नमिलेको खण्डमा वरिष्ठ नेता पौडेल सभापतिमा लड्ने अवस्था पनि बन्दै गएको छ। 

यो बैठकले साझा उम्मेदवार छान्न नसकेपछि बुधबार फेरि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा अर्को बैठक डाकिएको छ।

मंगलबारै अनुपम फुडल्यान्डमै बसेको गगन थापा, धनराज गुरुङ र सरिता प्रसाईसहितको बैठकले इतर समूहका चार शीर्ष नेतालाई सभापतिको साझा उम्मेदवार छान्न दबाब दिएको थियो।

यदि सहमतिमा साझा उम्मेदवार छान्न नसकिए मतदानबाट लोकप्रियता मापन गरेर टुंगोमा जानै पर्ने निष्कर्ष पनि उनीहरुले निकालेका छन्। 

मंगलबार दिनभरको रस्साकस्सी पनि फेल भएपछि सभापतिका एकजना दाबेदार शेखर कोइरालाले बुधबार बस्ने बैठकमा नजाने भएका छन्। 

सभापतिमा उठ्ने अडानमा रहेका शेखरले भोलिको बैठकमा नजाने बताएका हुन्। तर उनले त्यो बैठकमा नजाने कारणबारे केही बताएका छैनन्। 

चाक्सीबारी बैठकपछि पौडेलले भने बुधबारसम्म आफ्नो समूहबाट साझा उम्मेदवार टुंगो गरिसक्ने बताएका छन्। 

बैठकपछि बाहिरिँदै उनले यस्तो बताएका हुन्। बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छाड्दै आफूले पौडेललाई सघाउन तयार रहेको बताएका थिए।

मंगलबारको बैठकपछि महामन्त्री कोइारालाले १४ औँ महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको बताएका छन्।

बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन्। 

'मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छोडेँ। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छ', कोइरालाले भने,  'तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।'

सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका उनले बताए। 

'शेखर र प्रकाशमान मिल्न तयार भएमा रामचन्द्र पौडेलले पनि सभापतिको दाबी छाड्ने संकेत गर्नु भएको छ', उनले भने, 'हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै पनि सकिन्छ।'

तर यो बैठकमा सहभागी अर्का नेताले भने शेखर र प्रकाशमानमा कुरा अड्किएको बताएका छन्।

'यो बैठकमा युवा नेतासहित केन्द्रीय सदस्यहरुले पनि सहमतिका लागि दबाब बढाएका छौँ। अब प्रकाशमान सिंह र शेखर कोइरालामा कुरा अड्किएको छ', सहभागी ती केन्द्रीय सदस्यले भने, 'रामचन्द्र पौडेल र शशांक कोइराला सभापतिको दाबी छाड्न तयार हुनु भएको छ।'

बैठकमा प्रकाशमा र शेखर दुईजनाबीच आपसी  सल्लाह गरेर एकले अर्कोलाई स्वीकार्न सुझाव पनि नेताहरुले दिएका छन्। 

इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार नटुंग्याउँदासम्म बैठकबाट नउठ्न कार्यकर्ताले दबाब दिइरहेका थिए।

चाक्सीबारीमा भेला भएका नेता कार्यकर्ताहरूले बुधबार बिहानसम्म जसरी पनि कुरो मिलाउन युवा नेताहरूबाट दबाब गएको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

यसैबीच इतर समूहमा सभापतिको साझा उम्मेदवार छान्न युवा नेताहरुले अग्रसरता बढाएका छन्। 

संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार छान्न युवा नेताहरुले सक्रियता बढाएका हुन्। मंगलबार बिहानैदेखि उनीहरुले छुट्टै समूह बनाएर दबाब बढाउन थालेका हुन्। 

मंगलबार अनुपम फुडल्याण्डमा भेला भएका उनीहरुले शीर्ष नेताहरुमा दबाब बढाउने निर्णय गरेको महामन्त्रीका उम्मेदवार गगन थापाले जानकारी दिए। त्यही अनुसार दबाब दिन उनीहरु चाक्सीबारी पुगेका थिए। 

केन्द्रीय सदस्य थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाईं, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरीले यस्तो अभियान थालेका थिए। 

संस्थापन इतर समूहका पूर्व जिल्ला सभापतिहरू, नवनिर्वाचित सभापतिहरू र केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरेर एउटा निकास दिने बताएका थिए। उनीहरुले संस्थापन इतरका अन्य नेतालाई भेटेर सभापतिको एउटा मात्रै उम्मेदवार बनाउन दबाब दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .