ad ad

राजनीति


विवादमा नपरी बिदा हुँदै राष्ट्रसंघकी आवासीय प्रतिनिधि न्यान्ती

विवादमा नपरी बिदा हुँदै राष्ट्रसंघकी आवासीय प्रतिनिधि न्यान्ती

सन्तोष घिमिरे
मंसिर २२, २०७८ बुधबार ११:१८, काठमाडौँ

नेपालस्थित संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा बेसेलो न्यान्ती दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नायब स्थायी प्रतिनिधि नियुक्त भएकी छन्। 

राष्ट्रसंघीय अधिकारी न्यान्तीले नेपालमा एघार महिना बिताइन्। नेपालमा रहँदा उनी सकारात्मक छाप छाड्न सफल भइन्। न्यान्तीले कोरोना महामारीमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी थिइन्। गत मे महिनामा उनले विभिन्न अस्पताल भ्रमण गरी नेपालमा अक्सिजन अभाव रहेको सन्देश ट्विटरमार्फत् प्रवाह गरेकी थिइन्। 

त्यसैगरी उनले कोरोना महामारीको दोश्रो लहरपछि कोरोना संक्रमण दर घटिसकेकाले नेपाल भ्रमणका लागि उपयुक्त देश रहेको सन्देश पनि सामाजिक सञ्जालमार्फत् दिएकी थिइन्। 

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले न्यान्तीलाई सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नायब स्थायी प्रतिनिधि नियुक्त गरेको संयुक्त राष्ट्रसंघ मुख्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ। त्यसका अलावा दक्षिण सुडानमा रहँदा उनले मानवीय संयोजकको समेत भूमिका निर्वाह गर्नेछन्। 

न्यान्तीले संयुक्त राष्ट्रसंघीय महासचिवले आफूलाई विश्वास गरेर उक्त पदमा नियुक्त गरेकोमा गर्वानुभूति भएको उल्लेख गरेकी छिन्। ​

न्यान्ती संयुक्त राष्ट्रसंघीय सहायक महासचिव सरहको पदमा नियुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। न्यान्तीलाई नेपालस्थित विदेशी कूटनीतिज्ञ तथा अन्य क्षेत्रका व्यक्तिले सामाजिक सञ्जालमा बधाई दिएका छन्। 

पश्चिम अफ्रिकी मुलुक लाइबेरिकी नागरिक न्यान्ती २०२१ को जनवरीमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि नियुक्त भएकी थिइन्। उनले द्वन्द्वरत विभिन्न मुलुक तथा द्वन्द्वबाट गुज्रेर शान्तितर्फ अघि बढेका नेपाल लगायत मुलुकमा रहेर काम गरिसकेकी छिन्। उनले अन्तर्राष्ट्रिय विकास तथा मानवीय मामिलामा २० वर्ष काम गरिसकेकी छिन्। 

नेपाल आउनुअघि उनी सन् २०१९ देखि २०२० सम्म संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की यमनस्थित प्रतिनिधि थिइन्। त्यसैगरी उनले सन् २०१५ देखि २०१७ सम्म गाम्बियामा पनि युनिसेफ प्रतिनिधिका रुपमा काम गरिन्। संयुक्त राष्ट्रसंघमा जागिर सुरु गर्नुअघि उनी सन् १९९९ देखि २००३ सम्म लाइबेरियाको स्वास्थ्य मन्त्रालयमा वरिष्ठ अधिकारीका रुपमा काम गरेकी थिइन्। 

विवादमा तानिन्थे पहिलेका राष्ट्रसंघीय अधिकारी
नेपालमा काम गर्न आउने राष्ट्रसंघीय उच्च अधिकारी यहाँको आन्तरिक राजनीतिक मामिलामा अनावश्यक चासो दिँदा विवादमा परेका उदाहरण थुप्रै छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालयको प्रमुखका रुपमा काम गर्दा इयान मार्टिन विवादित भएका थिए। केही जातीय समूहलाई उचालेको आरोप उनीमाथि लागेको थियो। उनको भूमिकामाथि पटकपटक प्रश्न उठेको थियो। 

त्यसैगरी नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनका तत्कालीन प्रमुख करिन ल्यान्डग्रेनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीका एजेन्डा बोकेको आरोप लगाएका थिए। 

सन् २०१३ देखि सन् २०१५ सम्म नेपालमा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि रहेका जेमी म्याकगोल्डरिकलाई सुशील कोइराला नेतृत्वको सरकारले फिर्ता पठाएको थियो।

नेपालको संयुक्त राष्ट्रसंघसंगको लामो सम्बन्धलाई ख्याल गर्दै राष्ट्रसंघीय अधिकारीलाई फिर्ता पठाइएको विषय त्यसबेला सार्वजनिक रुपमा बाहिर नल्याइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन्। उनले मधेश आन्दोलनका विषयमा तयार गरेको एक प्रतिवेदन विवादित बनेको थियो। 

त्यसैगरी म्याकगोल्डरिकले नेपालमा भूकम्प गएका बेला दिएको विवादास्पद अभिव्यक्तिप्रति तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले कार्यकक्षमै बोलाएर कडा आपत्ति जनाएका थिए। विनाशकारी भूकम्पलगत्तै राष्ट्रसंघीय आवासीय प्रतिनिधि म्याकगोल्डरिकले अन्तर्राष्ट्रिय निकायबाट नेपाललाई मानवीय सहयोग पठाइए पनि नेपालका सरकारी निकायले सहजीकरण नगरिदिएका कारण त्रिभुवन विमानस्थलमा थुप्रिएको अभिव्यक्ति दिएका थिए।

तर, न्यान्ती त्यस्ता विवादमा तानिइनन्। बरु उनले प्रशंसा कमाइन्। न्यान्तीले कोरोना महामारीका बेला नेपालका अस्पताल भ्रमण गर्दै यहाँको कोरोना संकटबारे अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि सामाजिक सञ्जालमार्फत् अपिल गरिन्।

संयुक्त राष्ट्रसंघिय निकायमार्फत् कोरोना खोपका लागि नेपाल सरकारले आग्रह गरे पनि उनले त्यसमा विशेष पहल भने लिन सकिनन्। नेपालले राष्ट्रसंघ अन्तर्गतको कोभ्याक्स संयन्त्रबाट कोरोना खोप निकै ढिला गरी प्राप्त गर्यो।  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .