ad ad

राजनीति


रसुवाका प्रेम तामाङ : प्रदेश सांसद जसपाका, महाधिवेशन प्रतिनिधि कांग्रेसका

आगामी चुनावमा कांग्रेसबाट लड्ने तयारी
रसुवाका प्रेम तामाङ : प्रदेश सांसद जसपाका, महाधिवेशन प्रतिनिधि कांग्रेसका

फाइल फोटो


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २३:१९, काठमाडौँ

जनता समाजवादी पार्टीका बागमती प्रदेश सभा सदस्य प्रेम तामाङ काठमाडौंमा हुने कांग्रेसको चौधौं केन्द्रीय महाधिवेशन सहभागी हुँदैछन्। 

उनी रसुवाबाट गत कात्तिक १४ गते भएको निर्वाचनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन्। तामाङ रसुवाको कालिका वडा नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका थिए। 

तामाङ २०७४ को प्रदेशसभा निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ 'ख' मा विजयी भएका थिए। 

तर उनी नयाँ शक्ति एकीकरण हुँदै बनेको संघीय समाजवादी पार्टी अहिले आएर जनता समाजवादीका सांसद हुन्। 

तर कांग्रेसमा उनको क्रियाशील सदस्यता नम्बर यथावत छ। उनीसँग अहिले पनि कांग्रेसले दिएको ३३१०१२०३०२१८४/१४ नम्बरको क्रियाशील सदस्यता छ। 

जसपाका उनै सांसद रसुवाबाट कात्तिकमै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएर सहभागी हुँदैछन्। 

जसपाका सांसद हुँद हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका उनी कांग्रेसबाटै आगामी प्रदेशसभा चुनाव लड्ने तयारीमा छन्। 

यसअघि पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको पार्टी नयाँशक्तिबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद तामाङ २०७५ फागुन १३ गते नै कांग्रेसमा प्रवेश गर्न लागेका थिए।

तर अन्तिम क्षणमा त्यो योजना भाँडिएको थियो। रसुवामा २०७४ को निर्वाचनमा कांग्रेससँग तालमेल भएपछि उनी सांसद बनेका थिए। 

रसुवामामा त्यसबेला नयाँ शक्ति पार्टी र कांग्रेसबीच तालमेल भएपछि प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य तथा प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले जितेका थिए। 

तामाङलाई पार्टी प्रवेश गराउन त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य गगन थापासहितका नेताहरु पुगेका थिए। तर, उनी त्यसबेला सार्वजनिक रुपमा कांग्रेसमा आएनन्। 

गत कात्तिक १४ गते सदरमुकाम धुन्चेस्थित एक पानी उद्योगको हलमा महाधिवेशन प्रतिनिधिको घोषणा गर्दा मुख्य निर्वाचन अधिकृत शर्मिला थापाले प्रेम तामाङको नाम पनि लिएकी थिइन्। तर उनी प्रमाणपत्र लिन गएनन्। अहिले त्यो प्रमाणपत्र सार्वजनिक भएर भाइरल भएको छ।

उता कांग्रेसका बागमती प्रदेश सदस्य प्रभात तामाङले प्रेम कांग्रेस प्रवेश गरिसकेको बताउँदै पार्टीको महासमिति सदस्य पनि यथावत रहेको पुष्टि गरेका छन्।

प्रेम तामाङ २०७४ को निर्वाचनमा संघ छाडेर प्रदेशसभामा उठेका थिए। त्यसबेला उनलाई बाबुराम नेतृत्वको नयाँ शक्तिबाट संघीय संसदको टिकट दिएको थियो। तर, उनले कांग्रेस उम्मेदवार मोहन आचार्यलाई छोडेर आफू प्रदेशतिर गएका थिए 

नयाँ शक्तिले त्यसबेला कांग्रेससँग चुनावी तालमेल गरेको थियो। तालमेलकै कारण गोरखा क्षेत्र नम्बर २ बाट बाबुरामले चुनाव जिते। रसुवामा बाबुरामले संघको टिकट तामाङलाई दिए। 

तर तामाङले प्रदेश रोजेपछि भट्टराईले कांग्रेसका आचार्यसँग पैसाको सौदा भएको पनि आरोप लगाएका थिए। 

तर बागमती प्रदेशमा जसपाका एक मात्रै सांसद उनै प्रेम हुन्। जो अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर चर्चामा आएका छन्। 

जसपा सदस्य रहेकी उनकी पत्नी दावा मेन्दो तामाङ पनि रसुवाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .