ad ad

राजनीति


...अनि अन्तिममा संस्थापनबाट विश्वप्रकाश ‘आउट’ भए

...अनि अन्तिममा संस्थापनबाट विश्वप्रकाश ‘आउट’ भए

कृष्ण बहाब
मंसिर २६, २०७८ आइतबार ११:४३, काठमाडौँ

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको प्यानल बनेको थियो। सभापतिको प्रतिस्पर्धामा देउवा, पौडेल र सिटौला थिए। पहिलो चरणको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि दोस्रो नम्बरमा रहेका पौडेल र देउवाबीच पुनः चुनाव भयो। 

दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई सघाएर सभापति पदमा जिताउन भूमिका निर्वाह गरेका थिए। १३औं महाधिवेशनमा पहिलो चरणको चुनावमा देउवासँगै प्रतिस्पर्धामा रहेका सिटौलाले यसपटक १४औं महाधिवेशनमा भने कुनै पदमा उम्मेदवारी दिएनन्। बरु सभापतिका प्रत्यासी देउवाको मनोनयनमा सिटौला समर्थक भएका छन्। 

आफ्नो ‘गोजीका’ प्रदीप पौडेललाई देउवा समूहको आधिकारिक महामन्त्रीको उम्मेदवार बनाएर सिटौला आफ्नोभन्दा पार्टीभित्रका अन्य जुनियरहरूलाई अघि सार्ने रणनीतिमा देखिएका छन्। उद्घाटन समारोहदेखि नै सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई भोट माग्न थालेका थिए।

१३औं महाधिवेशनमा तेस्रो धारका रूपमा उदाएको सिटौलाको प्यानलबाट गगन थापा महामन्त्रीको उम्मेदवार बनेका थिए। इतर समूहको एउटै मात्र प्यानल हुनुपर्ने मनोविज्ञानमा रहेका थापा सिटौलाले देउवालाई सहयोग गर्ने छनक पाएपछि यसपपटक शेखर कोइरालाको समूहमा सामेल भएका छन्। 

तेस्रो धारको शक्ति भन्दै बार्गेनिङ गरिरहेका सिटौला थापाले आफ्नो समूह छाडेकामा रुष्ट थिए। आफूलाई साथ नदिएकै कारण थापा उठ्ने पदमा सिटौलाले देउवा प्यानलबाट कोटा लिए। आफ्नो भागमा जसरी भए पनि महामन्त्रीको कोटा नै लिएर थापालाई देखाइदिने रणनीतिमा सिटौला देखिन्छन्।

थापा मात्र हैन, विश्वप्रकाश शर्माप्रति पनि झन् सिटौला कहिल्यै नरम थिएनन्। गृहजिल्लाकै भए पनि सिटौलाले शर्मालाई कहिले आफ्नो ठानेनन्। न आम निर्वाचनका बेला, न त पार्टीको चुनावमा। 

१३औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य चुनिएका थिए– विश्वप्रकाश शर्मा। गृहजिल्ला झापाकै कृष्णप्रसाद सिटौलाको प्यानल भए पनि शर्मा देउवा लाइनसँग नजिक थिए।

तर, चालु महाधिवेशनमा उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म पनि आफ्नो भन्ने नदेखिएपछि शर्मा अन्योलमा देखिन्थे। देउवा समूहमा नपर्ने निश्चित भएपछि शर्माको चर्चा कोइराला समूहमा पनि भएको थियो। तर त्यहाँ पनि मीनेन्द्र रिजाल र गगन थापाको नाम परेपछि शर्मा यसपटक तेस्रो धारका रूपमा देखिएका प्रकाशमान सिंहको फेरो समात्न बाध्य भएका हुन्।

शर्मा प्रकाशमानको साथ लिन सिटौलाकै कारण बाध्य भएको देखिन्छ। केन्द्रीय सदस्यसहित प्रवक्ताको भूमिकामा रहेर पार्टीको राम्रो छवि बनाएका शर्माले सुरुमा महामन्त्री पदमा देउवा प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका थिए।

बीपी जन्मजयन्तीको अवसर पारेर उनले गत भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए। तर शर्माले सिटौलाकै कारण ‘टिकट’ पाउन सकेनन्। सिटौलाले देउवालाई सघाउने वचन दिएर महामन्त्रीमा आफ्नो कोटाबाट प्रदीप पौडेललाई अघि सारेपछि शर्मा संस्थापन समूहबाट ‘आउट’ भएका हुन्।

सिटौला र शर्माको समस्या झापाबाटै 
बाह्रौँ महाधिवेशनका बेला विश्वप्रकाश शर्मा गृहजिल्ला झापामा जिल्ला सभापतिका उम्मेदवार थिए। नेविसंघको अध्यक्षसमेत रहेका शर्मा सिटौला समूहको विपक्षी बनेर झापामा सभापतिको उम्मेदवारी दिएका थिए।
त्यसैबेला सिटौलाले उद्धव थापालाई समर्थन गरेर शर्मालाई जिल्ला सभापतिमा हराए। त्यही बेलादेखि विश्वप्रकाश देउवा समूहसँग नजिकिएका थिए।

त्यस बेला शर्मालाई हराएका उद्धव थापा भर्खरै सम्पन्न प्रदेश अधिवेशनको चुनावमा समेत सिटौलाकै कारण प्रदेश सभापति बने। देउवा समूहसँग गठबन्धन गरेर सिटौला समूहका उद्धव थापाले नेविसंघका पूअध्यक्ष गुरु घिमिरेलाई प्रदेश अधिवेशनमा २ मतले हराए। 

केन्द्रबाट प्रदीप पौडेलले ‘पुस’ गरिरहँदा सिटौला प्यानलबाट गनिएका थापाको यो विजयीलाई पनि धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। घिमिरे नेविसंघको अध्यक्ष हुँदा गगन महामन्त्री थिए। घिमिरेअघि विश्वप्रकाश नेविसंघकै अध्यक्ष थिए। घिमिरेले नेविसंघको नेतृत्व गरिरहँदा सहजै जिम्मेवारी दिएको भन्दै विश्वप्रकाश उनीसँग ‘पोजिटिभ’ हुँदै आउँदा अन्ततः प्रदेश १ को सभापतिमा घिमिरे हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .