राजनीति


गनिँदै कांग्रेस उपसभापतिको मत, ६ प्रतिस्पर्धीमा कसले मार्लान् बाजी?

गनिँदै कांग्रेस उपसभापतिको मत, ६ प्रतिस्पर्धीमा कसले मार्लान् बाजी?

फाइल तस्बिर


उजिर कार्की
मंसिर २९, २०७८ बुधबार १६:९, काठमाडौँ

नेपाली कांग्रेसको सभापतिको मतपरिणाम आइसकेपछि अबको मुख्य चासो उपसभापति र महामन्त्रीतिर केन्द्रित भएको छ।

उपसभापतिमा ६ जना मैदानमा छन्। बुधबारै मतगणना सुरु गर्ने निर्णय निर्वाचन समितिले गरिसकेको छ। 

अब उपसभापति पदको मतगणना सुरु गर्ने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन्। 

उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार मैदानमा छन्। उता शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उठेका छन्। 

यस्तै प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला उपसभापतिमा उठेकी छन् भने महेश आचार्यले एक्लै उपसभापतिमा उम्मेदवारी दिएका छन्। 

सभापतिको मतपरिणाम अनुसार उपसभापतिको सबैभन्दा बलियो दाबेदार पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार हुन्। प्यानलअनुसार भोट गए खड्का र गच्छदार निर्वाचित हुने सम्भावना बलियो छ। 

तर गच्छदारको छवि राम्रो छैन। उनी कांग्रेसका नव प्रवेशी नेता हुन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएका कारण पनि उनी बदनाम छन्। 

सभापति देउवानिकट स्रोतले पनि खड्काको निर्वाचित हुने सम्भावना बलियो रहेको दाबी गरेको छ। तर गच्छदारको सम्भावना कम रहेको आकलन देउवा समूहकै छ।

यस्तो भएमा एकजना उपसभापतिमा चन्द्र भण्डारी वा धनराज गुरुङ आउने कांग्रेसकै नेताहरुको अनुमान छ।

उपसभापतिमा सबैभन्दा बढी मत ल्याउने दुईजना निर्वाचित हुने व्यवस्था छ। ४ हजार ६ सय ८१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ। 

पहिलो चरणको सभापतिको निर्वाचनमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। शेखर कोइरालाले त्यो भन्दा ५ सय २९ कम मत पाएका थिए। 

प्रकाशमान सिंहले ३ सय ४७ र विमलेन्द्र निधिले २ सय ७३ मत पाए। कल्याण गुरुङले ३२ मत ल्याएका थिए। 

शेरबहादुर र शेखरबाहेकका उम्मेदवारका उपसभापतिका लागि सबै उम्मेदवार नहुँदा पनि यो समूहबाट उपसभापतिमा अन्य समूहका नेतालाई भोट जानेछ। 

पहिलो चरणको निर्वाचनमा सभापतिका सबै उम्मेदवार देउवाविरुद्ध देखिन्थे। त्यो हिसावले ती समूहमा सभापतिमा आफ्नो उम्मेदवारलाई भोट हाले पनि उपसभापतिमा देउवाइतर समूहमा मत जाने संभावना बढि छ। 

तर ६ जना उम्मेदवार भएकाले देउवा समूहले आफ्नो प्यानलको भोट सुरक्षित गर्न सकेमा प्यानल नै निर्वाचित हुने सम्भावना पनि छ। 

यस्तो अवस्थामा देउवासमूह इतरका उपसभापतिलाई चुनाव जित्न कठिन छ। प्रकाशमानको समूहबाट उपसभापतिमा उम्मेदवारी दिएकी सुजाता कोइरालासँग प्यानलको भोट ३ सय ४७ मात्रै भएकाले उनको सम्भावना कम छ।

एक्लै मैदानमा उत्रिएका महेश आचार्यलाई कुनै पनि सभापतिको साथ नरहेकाले उनको मतको आकलन गर्न सक्ने अवस्था छैन। उनी पनि निर्वाचित हुने सम्भावना झन् कम देखिन्छ। 

यो अवस्थामा देउवा समूहको प्यानल नै अथवा पूर्णबहादुर खड्का र शेखर प्यानलबाट एक उम्मेदवार निर्वाचित हुने सम्भावना बढी रहेको देउवा समूहको समेत आकलन छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .