नेकपा माओवादी केन्द्रले गण्डकी र कर्णाली प्रदेश समिति हाँक्न महिलालाई नेतृत्व दिएको छ।
दुवै प्रदेशमा महिलाको नेतृत्वमा माओवादीले आफूलाई अगाडि बढाउने भएको हो।
गण्डकी प्रदेश कमिटीमा गायत्री गुरुङले नेतृत्व सम्हालेकी छन्। उता कर्णालीमा पनि विमला केसीलाई प्रदेश कमाण्डको जिम्मा दिइएको छ।
गुरुङ गण्डकी प्रदेश सभा सदस्य हुन्। उता केसी पनि कर्णाली प्रदेश सभा सदस्य रहेकी छन्।
तर नेतृत्वका आकांक्षी धेरै भएपछि प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा विवाद जारी छ। चारवटा प्रदेशमा विवाद भइरहँदा गण्डकी र कर्णालीमा भने महिला नेताहरुको काँधमा नेतृत्व पुगेको छ।
गुरुङ सोमबार बसेको प्रदेश समितिको अधिवेशनबाट निर्विरोध अध्यक्ष चयन भएकी हुन्।
गण्डकी प्रदेश सभामा माओवादी केन्द्रकी प्रमुख सचेतकसमेत रहेकी गुरुङ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिवको भूमिकामा पनि छिन्।
२०४८ सालदेखि राजनीतिमा लागेकी उनी जनयुद्धको सुरुवातदेखि भूमिगत भएकी थिइन्।
यस्तै, बुधबार बसेको कर्णाली प्रदेशको कार्यसमिति बैठकले केसीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ।
महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएका बेला २०७४ फागुन ६ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म केसी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकी थिइन्। उनले उक्त सरकारमा प्रवक्ताको जिम्मेवारी पनि पूरा गरिन्।
केसी २०३५ मंसिर २ गते रुकुम (पश्चिम) को सानीभेरीमा जन्मिएकी हुन्। राजनीति शास्त्रमा स्नातकोत्तर उनले कानुन संकायमा पनि स्नातक गरेकी छिन्।
११ वर्षको उमेरदेखि नै उनले राजनीति थालेकी थिइन्। उनी २०४६ सालमा तत्कालीन माओवादीनिकट विद्यार्थी संगठनको सदस्यता लिएर राजनीति थालेकी हुन्।
माओवादीको विद्यार्थी संगठन, महिला संगठन र कलाकार समूहको अध्यक्ष भएर पनि केसीले काम गरिसकेकी छन्।
भूमिगतकालमै उनी गाउँ जनसरकार प्रमुख समेत भएकी थिइन्। २०६४ सालमा केसी संविधानसभा सदस्य पनि बनिन्।
माओवादीले केसी नेतृत्वको २११ सदस्यीय कर्णाली प्रदेश समिति बनाएको छ।
‘कर्णाली प्रदेश समिति अध्यक्षमा विमला केसी चयन भएकी छन्,’ केन्द्रीय सदस्य झकबहादुर मल्लले नेपालखबरसँग भने, ‘पदाधिकारी पनि टुंगो लगाउने प्रयास हुँदैछ।’
Shares

प्रतिक्रिया