राजनीति


बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा प्रधानमन्त्री कार्यालयका यी सचिव

बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा प्रधानमन्त्री कार्यालयका यी सचिव

शंकर दास बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा रहेका सचिव शिशिर ढुंगानाले नेताहरू भेटिरहेका छन्


सन्तोष घिमिरे
पुस ४, २०७८ आइतबार १३:३, काठमाडौँ

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना २० महिनाअघि नै शंकर दास बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा जुटेका छन्। डेढ महिनापछि अवकाशमा जानुअघि मुख्य सचिव बन्ने प्रयासमा उनले राजनीतिक भेटघाट तीब्र बनाएको खुलेको छ।

शंकर दास बैरागी २०७७ असोज यता मुख्य सचिव छन्। उनको कार्यकाल सकिन अझै २० महिना बाँकी छ। तर मुख्य सचिव बैरागीलाई राजदूत वा अन्य कुनै नियुक्तीमा पठाएर आफू मुख्य सचिव हुन बरिष्ठ सचिव ढुंगाना सक्रिय भएका हुन्।

हाल प्रधानमन्त्री कार्यालयमा रहेका ढुंगानाले मुख्य सचिव बन्न राजनीतिक भेटघाट गरिरहेको उनी निकट एक सचिवले बताए। ढुंगाना मुख्य सचिव बन्न बैरागीले छोड्न तयार हुनुपर्छ, तर अहिले नै राजदूत भएर जान उनले इच्छा देखाएका छैनन्।

बैरागीले राजीनामा नदिएको खण्डमा ढुंगानाको मुख्य सचिव बन्ने प्रयास सफल हुने देखिँदैन। किनकी, ढुंगाना माघ २० गते निजामति सेवाबाट निवृत्त हुँदैछन्। प्रशासन सेवाका सचिवमध्ये ढुंगाना अहिले बरिष्ठताका आधारमा दोश्रो नम्बरमा छन्। उनी २०७३ माघ २० मा सचिवमा बढुवा भएका थिए।

बरिष्ठताका आधारमा रक्षा मन्त्रालयमा रहेका सचिव वेगेन्द्रराज शर्मा पौड्याल अहिले पहिलो नम्बरमा छन्। उनले यही पुस १४ गते अवकाश पाउँदैछन्। पौड्याल भने मुख्य सचिव बन्ने कसरतमा छैनन्।

ढुंगानाले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सरकारका प्रभावशाली मन्त्रीहरूसँग पटक—पटक भेटेर आफूलाई मुख्य सचिव बनाइदिन अनुरोध गर्दै आएका छन्। 

ती सचिवका अनुसार कांग्रेसका केही मन्त्री र नेताले ढुंगानालाई मुख्य सचिव बनाउन सहयोग गर्ने आश्वासन दिएका भएपनि प्रधानमन्त्री देउवाले अहिलेसम्म ‘ग्रिनसिग्नल’ दिइसकेका छैनन्।

आफ्ना ब्याजी तथा निकट अन्य कर्मचारीसँग ढुंगानाले ‘मुख्य सचिव बन्न अवकाशमा जानु अघिल्लो दिनसम्म पनि कोशिश गर्ने’ बताउँदै आएका छन्।

‘अवकाश मिति आउनै लाग्दा मुख्य सचिव बन्न ढुंगानाले उच्च राजनीतिक तहमा लविङ गरिरहेका छन्’, ढुंगाना निकट एक सहसचिवले नेपालखबरसँग भने, ‘प्रमुख सबै नेतासँग व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण ढुंगानाको संभावना छ।’

नेताहरूसँगको भेटमा ढुंगानाले मुख्य सचिव बनाइए कर्मचारी प्रशासनलाई अहिलेभन्दा प्रभावकारीरुपमा चलाउने दाबी गर्दै आएका छन्।

प्रधानमन्त्री कार्यालयका अर्का एक सहसचिवका अनुशार डेढ महिनाअघि भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेकै बखत मुख्य सचिव बैरागीलाई राजदूत बन्न ‘अफर’ गरिएको थियो। तर उनले इच्छा देखाएनन्।

सरकारले अहिले २० मुलुकका राजदूत सिफारिस गर्न गृहकार्य अघि बढाएकाले मुख्य सचिव बैरागीलाई राजदूत बन्न फेरि अफर गर्न लागिएको छ।

‘बैरागीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाउनुभन्दा ढुंगानालाई नै जापान वा अन्य कुनै मुलुकमा राजदूत बन्न राजनीतिक तहबाट आग्रह हुन पनि सक्छ’, ती सहसचिव भन्छन्, ‘तर ढुंगाना सकेसम्म बैरागीलाई राजदूत बनाएर आफू मुख्य सचिव हुन जोडबल गरिरहेका छन्।’

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले भने वहालवाला मुख्य सचिवलाई राजीनामा गराएर अरु कुनै सचिवलाई मुख्य सचिव बनाउने सरकारको योजना नरहेको बताए।

‘कुनै अवकाश पाउन लागेका सचिवको त्यस्तो मनसाय हुनसक्छ। तर मलाई यसबारेमा ठ्याक्कै थाहा भएन’, मन्त्री श्रेष्ठले नेपालखबरसँग भने।

बैरागीलाई हटाउन कम्मर कसेर लागिपरेका सचिव ढुंगानाले मुख्य सचिव कसलाई नियुक्त गर्ने भन्ने कुरा सरकारको निर्णयमा भर पर्नेे बताए।

‘डेढ महिनामा म अनिवार्य अवकाश पाउँदैछु। यदि सरकारले चाहे म मुख्य सचिव बनुँला, नभए घर जाउँला’, नेपालखबरसँग ढुंगानाले भने।

बैरागीमा निर्भर 
ढुंगाना मुख्य सचिव बन्न पाउने नपाउने कुरा अहिलेका मुख्य सचिव बैरागीको चाहनामा निर्भर देखिन्छ। कसैलाई बाटो खोलिदिन उनले राजीनामा दिन्छन् दिंदैनन् भन्ने चासो कर्मचारीवृत्तमा व्यापक बनेको छ।

‘अहिले नै अन्य देशमा राजदूत भएर गइहाल्ने बैरागीको चाहना देखिंदैन। मुख्य सचिवको कार्यकाल पुरा बिताउने मनसाय देखिन्छ’, बैरागीलाई नजिकबाट बुझेका अर्का एक सचिव भन्छन्।

सामान्यताः मुख्य सचिव कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा छ। यदि प्रधानमन्त्री देउवालाई मनाउन ढुंगाना सफल भए भने बैरागी दबाबमा पर्नेछन्। उनी १५ असोज २०७७ मा मुख्य सचिव नियुक्त भएका थिए। बैरागीलाई नियुक्त गर्दा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीको अवकाश मिति एक महिना बाँकी थियो।

बैरागीमाथि रेग्मीलाई एक महिना अघि नै बेलायतमा राजदूत नियुक्त गर्न भूमिका खेलेको आरोप लाग्यो। यद्यपी मुख्य सचिव रेग्मी र बैरागीबीच कुनै पूर्व समझदारी चाहीँ भएको थिएन।

मुख्य सचिव रेग्मीले आफूलाई बेलायत वा अमेरिकाका लागि राजदूत बनाउने सर्तमा अवकाशको एक महिना अघि पदबाट राजीनामा गर्न सहमति जनाएका थिए। जसले बैरागी सहित तिन सचिवका लागि मुख्य सचिव बन्ने बाटो खुला भयो।

त्यसबेलाका बरिष्ठ सचिवहरु बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा दौडमा लागे। जसमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा परे परराष्ट्र सचिव बैरागी। ओलीको सल्लाहकार समूहले पनि बैरागीलाई मुख्य सचिव बनाउन पहिल्यै सिफारिस गरेको थियो। 

त्यसबेलाका मुख्य सचिव रेग्मीलाई सरकारले बेलायतका लागि राजदूत नियुक्त गर्यो। तर रेग्मीलाई गत असोजमा सरकारले फिर्ता बोलाइसकेको छ।

मुख्य सचिवको कार्यकाल तीन बर्ष हुन्छ। २०७७ असोजमा मुख्य सचिव नियुक्त भएका बैरागी पुरा कार्यकाल बस्न चाहे २०८० असोजसम्म पदमा रहनेछन्। २०४३ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका उनी २०७२ देखि २०७७ सम्म परराष्ट्र सचिव भए। त्यसअघि २०६८ देखि २०६९ सम्म जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगमा स्थायी प्रतिनिधि भए।

लोकसेवा अध्यक्ष बन्न चाहन्थे ढुंगाना 
ढुंगानाले झण्डै तीन दशक सरकारी सेवामा बिताइसकेका छन्। उनी २०७३ माघ २० मा सचिवमा बढुवा भएका थिए। त्यसअघि उनी भन्सार विभागको महानिर्देशक थिए।

गत बैशाखमा ढुंगानाको नाम लोकसेवा आयोगको अध्यक्ष पदमा समेत प्रस्तावित थियो। त्यसबेला अर्थसचिव रहेका ढुंगानाले लोकसेवा अध्यक्ष बन्न उच्च राजनीतिक तहमा लविङ् गरेका थिए। तर ओली नेतृत्वको सरकारले पूर्वसचिव माधव रेग्मीलाई उक्त पदमा नियुक्त गर्यो। कांग्रेस निकट मानिने रेग्मी लोकसेवा अध्यक्ष नियुक्त भएका थिए।

के हुन्छ मुख्य सचिवको भूमिका? 
विद्यमान व्यवस्था अनुसार मुख्य सचिव मन्त्रिपरिषदको सदस्य सचिव हो। कर्मचारी प्रशासनको सर्वोच्च पद मुख्य सचिवको भूमिका बहुआयामिक रहने गरेको छ। कर्मचारी प्रशासन सुधार गर्न, मन्त्रिपरिषदका निर्णयमा पारदर्शिता र निष्पक्षता कायम गर्न र निजामती कर्मचारीका जायज मुद्दा  राजनीतिक नेतृत्वसामु राख्न मुख्य सचिवको विशेष भूमिका हुन्छ।

प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मुख्य सचिव चल्ने गर्छन्। प्रधानमन्त्रीको निर्देशन बमोजिम मन्त्रिपरिषदको बैठक डाक्ने, बैठकका एजेण्डाबारे मन्त्रीहरूलाई अग्रिम जानकारी गराउने र मन्त्रिपरिषदका निर्णय प्रमाणित गर्नु मुख्य सचिवका प्रशासनिक काम हुन्।

मन्त्रिपरिषदमा पेश हुने संभावित एजेन्डाबारे मुख्य सचिवले प्रधानमन्त्रीलाई प्रि—ब्रिफिङ् समेत गर्छन्। कर्मचारी प्रशासनमा लामो समय ब्यतित गरेका कारण प्रधानमन्त्रीका लागि मुख्य सचिव प्रमुख प्रशासनिक सल्लाहकार पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .