ad ad

राजनीति


जनयुद्धबाट आएको माओवादीमा उठ्यो बुद्ध दर्शनको कुरा

६ दिने आमहड्तालको समीक्षा गर्न माग
जनयुद्धबाट आएको माओवादीमा उठ्यो बुद्ध दर्शनको कुरा

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०७८ बुधबार १८:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा बुद्ध दर्शनको कुरा उठेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार सुझाव दिने क्रममा बुद्ध दर्शनको कुरा उठेको हो। 

माओवादीले बन्दसत्रमा गठन गरेका २५ वटा समूहमध्ये आयोगको तर्फबाट सुझाव पेश गर्दै नेता टंक राईले बुद्ध दर्शनको कुरा उठाएका हुन्। 

उनले माओवादीले अब दर्शनको हिसाबले भगवान् गौतम बुद्धको कुरा उल्लेख गर्नु आवश्यक रहेको सुझाव अध्यक्ष प्रचण्डलाई दिएका हुन्। 

१० वर्षसम्म हिंसात्मक जनयुद्ध गरेर शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आएको माओवादीमा बुद्ध दर्शनको कुरा उठ्नुलाई अर्थपूर्ण मानिएको छ। 

के छ बुद्ध दर्शनमा?

बुद्ध दर्शनमा जातीवाद र कर्मकाण्डलाई कुनै स्थान दिइएको छैन। बुद्धको एउटा सन्देश हो, 'आफ्नो उज्यालो आफैँ बन र आफैँमा  मानवता खोज।'

बुद्धले शान्तिको खोजमा छटपटाइरहेका विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक रहेको बताएका छन्। 

संयुक्त राष्ट्र संघले समेत गौतम बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ। 

यसलाई शान्ति, मैत्री र करुणाको सन्देश दिने सामाजिक र मौलिक दर्शनका रूपमा नेपालले ब्रान्डिङ गर्न सक्ने अवस्था छ। नेपालले पनि असंलग्नताको परराष्ट्र नीति अपनाउँदै आएको छ।

आमहड्तालको समीक्षा गर्न माग

माओवादीको यही समूहबाट पार्टीका तीनवटै आयोगका सदस्यले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाउनुपर्ने माग पनि उठेको छ। 

यो समूहका नेता राईले २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि माओवादीले गरेका प्रतिवद्धता पूरा भए नभएकोबारे पनि गम्भीर समीक्षा हुनुपर्ने कुरा उठाएका छन्।

त्यसैगरी २०७१ चैतमा माओवादीले गरेको ६ दिने आमहड्तालको पनि समीक्षा हुनुपर्ने कुरा राईले उठाएका छन्। समूहको तर्फबाट सुझाव दिने क्रममा उनले उक्त आमहड्तालको समीक्षा हुनैपर्ने कुरा राखेका हुन्। 

राईले समाजवादको यात्रा सहज नभएको बताउँदै त्यसलाई ल्याउने वा आफैँ आउनेमा पार्टी प्रष्ट हुनुपर्नेमा पनि जोड दिएका छन्।

उनले कम्युनिष्ट पार्टीहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै सत्तामा गएर पनि जनमुखी हुन नसक्नुको कारण बारे गम्भीर समीक्षा हुनुपर्ने कुरा पनि सुझावमा राखेका छन्।

यो समूहले पार्टी कार्यकर्ताको क्षमता, योग्यता र निरन्तरतालाई ध्यान दिनुपर्ने कुरा पनि राखेका छन्। उनले यस कुरामा नेतृत्वले ध्यान दिनै पर्नेमा जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .