ad ad

राजनीति


प्रचण्डलाई प्रश्न : मालिक र मध्यमवर्ग च्यापेर पार्टी कसरी सर्वहाराको हुन सक्छ?

प्रचण्डलाई प्रश्न : मालिक र मध्यमवर्ग च्यापेर पार्टी कसरी सर्वहाराको हुन सक्छ?

सुदूरपश्चिमबाट सुझाव राख्दै नेता मानबहादुर धामी


नेपालखबर
पुस १५, २०७८ बिहिबार १५:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रम अन्तिम चरणमा पुगेको छ।

विभिन्न २५ वटा समूहबाट सुझाव दिँदै नेताहरुले प्रचण्ड र पार्टी नेतृत्वको चर्को आलोचना पनि गरेका छन्। 

बिहीबर सुदूरपश्चिम प्रदेशको तर्फबाट नेता मानबहादुर धामी 'सन्तोष' ले सुझाव राख्ने क्रममा जनयुद्धका क्रममा भएका गल्तीका लागि पार्टीले आत्मालोचना गर्नुपर्ने बताएका छन्। 

'जनयुद्धका क्रममा पार्टीको तर्फबाट भए गरेका कमी तथा कमजोरीहरूबारे समेत आत्माआलोचनात्मक समीक्षा जरुरी छ', लिखित सुझाव दिँदै उनले भनेका छन्, 'पार्टीभित्र देखा परेका यथास्थितिवादी, सारसंग्रहवादी, अवसरवादी प्रवृत्तिको उल्लेख गर्नुपर्ने जरुरी छ।'

धामीले तत्कालीन नेकपा विभाजनपछि 'प्रतिगमन'का मतियार बनेका नेताहरूबारे पनि पार्टीले बोल्नुपर्ने तर्क गरेका छन्। 

'नेकपा विभाजनपछि इतिहास कुल्चिँदै विचार र नेतृत्वलाई सत्तोसराप गरेर प्रतिगमनका मतियार बनेका पात्र र प्रवृत्तिबारेमा समेत स्पष्ट लेखिनुपर्छ', माओवादी छाडेर एमालेतिर गएका नेताहरु रामबहादुर थापा 'बादल'सहितप्रति लक्षित गर्दै उनले भनेका छन्, 'यस्ता प्रवृत्ति हुर्किने अवस्था ल्याउने नेतृत्वले समालोचनात्मक व्याख्या गरिनुपर्छ।'

अध्यक्ष प्रचण्डको प्रतिवेदनले नेपाली समाजको वर्ग चरित्रको पनि गहन विश्लेषण नगरेको उनले उल्लेख गरेका छन्।

'प्रचण्डको राजनीतिक प्रतिवेदनले नेपाली समाजको वर्ष चरित्रको गहन विश्लेषण गरेको  छैन। नेपाली समाज अर्धसामन्ती र अर्ध औपनिवेशिक नरहेको बरु पुँजीवादी चरणमा प्रवेश गरेको सैद्धान्तिक मान्यता पार्टीले स्वीकारेको अवस्थामा नेपाली समाजमा वर्गहरुको अवस्था के हो?', उनले सोधेका छन्, 'वर्ग अन्तरविरोध र वर्ग संघर्षको अवस्था के हो? भन्ने प्रश्नले कस्तो कम्युनिष्ट र कसका लागि कम्युनिष्ट पार्टी निर्माण गर्ने भन्ने प्रश्न उब्जिन्छ।'

धामीले कम्युनिष्टको नजरमा आधारभूत वर्गबारे पनि परिभाषा चाहिने बताए। 'कम्युनिष्टको नजरमा आधारभूत वर्ग को हुन्? कम्युनिष्ट पार्टीलाई कसरी आधारभूत वर्गको बनाउन सकिन्छ भन्ने प्रश्न प्रतिवेदनमा स्पष्टसँग आउनुपर्छ', उनले भनेका छन्, 'विजातीय वर्ग कम्युनिष्टमा समाहित हुने अवस्था छ। निम्न मध्यम तथा मध्यम वर्गको पार्टीभित्र बाहुल्यता भएको अवस्थामा सर्वहाराकरणको प्रश्नलाई पार्टीले कसरी हल गर्छ भन्ने आउनुपर्छ।'

यो समूहले मालिकदेखि मजदुरसम्म एउटै पार्टीमा हुँदा कसले कसका लागि संघर्ष गर्ने भन्ने प्रश्न उब्जिने पनि बताएका छन्।

'मालिकदेखि मजदुरसम्म एउटै पार्टीमा हुने बेला कसले कसका लागि संघर्ष गर्ने र कम्युनिष्ट पार्टी नै कसका लागि भन्ने प्रश्न उब्जिन्छ। मार्क्सवादि मान्यताले आधारभूत वर्गले मात्रै सही ढंगले क्रान्ति गर्न सक्छ भन्छ, ' सुझावमा भनिएको छ, 'तर हाम्रो आधारभूत वर्ग को हो त? पछिल्लो चरणमा पुँजीवादको विकाससँगै वर्ग चरित्र र संरचनामा परिवर्तन आएको छ। यसका आधारमा वर्ग विश्लेषण गर्नु अनिवार्य छ। यही आधारमा हाम्रा मित्रशक्ति को हुन्, सत्रुशक्ति को हुन् भन्ने निर्धारण हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .