क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौ शिखर सम्मेलन आगामी मार्च ३० मा गर्न प्रस्ताव भएको छ।
अध्यक्ष मुलुक श्रीलंकाले बिमस्टेकको पाँचौ शिखर सम्मेलन आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरेको हो।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार बिमस्टेकको वर्तमान अध्यक्ष मुलुक श्रीलंकाले सकेसम्म भौतिक उपस्थितिमै शिखर सम्मेलन आयोजनाका लागि सदस्य मुलुकसँग पूर्वसहमति मागेको छ।
बिमस्टेकका सदस्य मुलुकमध्ये भारत र बंगलादेशबाहेक अन्यले प्रस्तावित मितिमा बिमस्टेक शिखर सम्मेलन गर्न सहमति जनाइसकेका छन्।
‘भारत र बंगलादेशले पनि मार्च ३० मा शिखर सम्मेलन आयोजना गर्न सहमति जनाउने अपेक्षा गरिएको छ’, ती अधिकारीले नेपालखबरसँग भने। नेपालले बिमस्टेक शिखर सम्मेलनको नयाँ मितिमा सहमति जनाइसकेको छ।
हाल नेपालको औपचारिक भ्रमणमा रहेका बिमस्टेकका महासचिव तेन्जिन लेकफेलले बिमस्टेक शिखर सम्मेलनको प्रस्तावित नयाँ मिति, सम्मेलनका एजेन्डा र बिमस्टेकले हालसम्म हासिल गरेको उपलब्धिबारे प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र परराष्ट्र सचिव भरत राज पौड्यालसँग छलफल गरेका छन्।
भेटमा प्रधानमन्त्री देउवाले बिमस्टेकलाई अघि बढाउन नेपाल प्रतिवद्ध रहेको पनि बताएका छन्।
भेटमा बिमस्टेकका उपलब्धि र ‘बिमस्टेक प्रोसेस’ अझ सुदृढ गर्ने बिषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासचिव लेकफेलले ‘बिमस्टेक प्रोसेस’ अघि बढाउन नेपालले खेलेको योगदानको प्रशंसा गरेका थिए। चारदिने भ्रमणमा रहेका महासचिव लेकफेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीलतनिवासमा बुधबार भेट्दैछन्।
भौतिक उपस्थितिमै सम्मेलन
बिमस्टेक शिखर सम्मेलन सकभर भौतिक उपस्थितिमै गर्नेबारे छलफल भइरहेको छ। श्रीलंकाले भौतिक उपस्थितिमै बिमस्टेक शिखर सम्मेलन आयोजना गर्न प्रस्ताव राखेको छ। तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दर बढे प्रस्तावित मितिमा सम्मेलन आयोजना सम्भव हुने छैन।
‘यदि भौतिक उपस्थितिमा सम्भव नभए हाइब्रिड (भर्चुअल र भौतिक उपस्थिति) मै भए पनि शिखर सम्मेलन आयोजना गर्न श्रीलंकाले आग्रह गरिरहेको छ। अब चाँडै यसबारे टुंगो लाग्नेछ’, मन्त्रालयका अर्का अधिकारीले नेपालखबरसँग भने।
तीन पटक स्थगित
बिमस्टेकको शिखर सम्मेलन कोरोना महामारीका कारण तीनपटक स्थगित भइसकेको छ। पछिल्लो पटक डिसेम्बर ५ का लागि प्रस्तावित सम्मेलन स्थगित भएको थियो।
सन् २०२० को जनवरीमा शिखर सम्मेलन गर्ने तयारी थियो। तर कोभिड– १९ का कारण स्थगित भएको थियो।
त्यसपछि गत अगस्टमा बिमस्टेक शिखर सम्मेलन गर्ने भनियो। तर बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलंकाको अनुरोधमा स्थगित भएको थियो।
सन् २०१८ अगस्टमा नेपालले बिम्स्टेकको चौथो सम्मेलन गरेयता अर्को सम्मेलन हुन सकेको छैन। त्यसबेला तत्कालीन अध्यक्ष मुलुक नेपालले श्रीलङ्कालाई अध्यक्षता हस्तान्तरण गरेको थियो।
प्रधानमन्त्री देउवा श्रीलंका जाने
शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउँछन्। शिखर सम्मेलन ‘बिम्स्टेकको प्रोसेस’ अन्र्तगत सर्वोच्च निकाय हो। यसले नै बिम्स्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निर्णय गर्छ।
यदि भौतिक उपस्थितिमा सम्मेलन आयोजना गर्ने सहमति भए प्रधानमन्त्री देउवा श्रीलंकाको औपचारिक भ्रमण गर्ने गरी कोलम्बो जाने सरकारी अधिकारीहरुले बताए।
सन् २००४ मा थाइल्याण्डको बैंककमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनले सम्भव भएसम्म हरेक दुई वर्षमा सम्मेलन गर्ने सहमति जुटाएको थियो। तर सन् २००४, २००८, २०१४ र २०१८ गरी केवल चार वटा मात्र शिखर सम्मेलन भए।
सम्मेलनका एजेन्डा?
यदि शिखर सम्मेलन भए त्यसले बिम्स्टेक बडापत्र, बिम्स्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिम्स्टेक कन्भेन्सन अन म्यचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ अनुमोदन गर्नेछ।
‘बिम्स्टेक कोस्टल सिपिङ एग्रिमेन्ट’ र ‘मोटर भेहिकल एग्रिमेन्ट’ लाई अन्तिम रुप दिन बिम्स्टेक सदस्य मुलुकबीच छलफल जारी छ। सदस्य मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता अघि बढाउन छलफल भए पनि प्रगति भएको छैन।
६ जुन १९९७ मा स्थापित बिमस्टेकमा दक्षिण एसियाका भारत, नेपाल, भुटान, श्रीलंका र बंगलादेश तथा दक्षिणपूर्वी एसियाका म्यानमार र थाइल्यान्ड सदस्य छन्। नेपाल ८ फेब्रुअरी २००४ देखि आबद्ध छ।
दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुकबीच विशुद्ध आर्थिक मुद्दामा सहकार्यको लक्ष्यसहित बिम्स्टेक स्थापना भएको थियो। तर, २४ वर्ष बित्दा पनि यस क्षेत्रका जनताले महसुस गर्नेगरी बिम्स्टेकले ठोस उपलब्धि गर्न सकेको छैन।
Shares
प्रतिक्रिया