ad ad

राजनीति


सुनिल शर्मालाई मोसो दल्नेहरु माधव नेपालका कार्यकर्ता

सुनिल शर्मालाई मोसो दल्नेहरु माधव नेपालका कार्यकर्ता

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १८:१४, काठमाडौँ

मेडिकल कलेज सञ्चालक एवम् कांग्रेसको राजनीतिमा पनि क्रियाशील सुनिल शर्मामाथि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै मोसो दलेर आक्रमण भएको छ।

मोरङ कांग्रेसको राजनीतिमा पनि सक्रिय उनीमाथि पाँच दलीय गठबन्धनकै सदस्य नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका दुई नेताको अगुवाइमा मोसो दलिएको हो। 

कांग्रेस र समाजवादी दुवै अहिले सत्तामा रहेका छन्। यस्तोमा सत्ता गठबन्धनकै सदस्य समाजवादीनिकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठको नेतृत्वमा सुनिल शर्मामाथि शिक्षा मन्त्रालयकै गेटमा मोसो दलिएको हो। 

समाजवादीनिकट अनेरास्ववियू महासचिव आरती लामाका अनुसार सुनिल शर्माले सञ्चालन गर्दै आएका मेडिकल कलेजविरुद्ध केही समयदेखि आन्दोलन भइरहेको थियो।

सुनिल शर्मा मालिक रहेको विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन्। 

यस्तोमा नोबेलमा पछिल्लो पटक भएको विद्यार्थीको आन्दोलनमाथि प्रहरी र सुरक्षा गार्ड लगाएर शर्माले दमन गराएका थिए। त्यससँगै आक्रोशित विद्यार्थीहरुको आन्दोलन झन् चर्किएको थियो। 

विद्यार्थी आन्दोलन बढ्दै गएपछि शुक्रबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेअनुसारकै शुल्क मात्रै लिन पाउने निर्णय भएको थियो।

उक्त निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेर निस्किएका शर्मामाथि मोसो दल्ने कामको नेतृत्व अनेरास्ववियू उपमहासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले गरेका हुन्। 

अरु तीनजना उनीहरुसँगै साथमा लागेर पुगेका थिए। महासचिव लामाले सुनिल शर्मालाई मेडिकल माफियाको संज्ञा दिइन्। 

'मेडिकल माफिया सुनिल शर्मामाथि हाम्रा साथीहरुले कारबाही गर्नु भएको छ', उनले नेपालखबरसँग भनिन्, 'हाम्रो संगठन उप-महासचिव महेश श्रेष्ठ र  स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहा गरियोस्।'

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .