ad ad

राजनीति


प्रधानमन्त्री देउवाले गरे सशस्त्र प्रहरीको प्रशंसा

प्रधानमन्त्री देउवाले गरे सशस्त्र प्रहरीको प्रशंसा

नेपालखबर
माघ ९, २०७८ आइतबार २१:११, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले खेलेकाे भूमिकाकाे प्रशंसा गरेका छन्।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सरिक भएका  प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीकाे प्रशंसा गरेका हुन्।

उनले उनले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गरे।

सो अवसरमा प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे।

प्रधानमन्त्री देउवाले समारोहमा यसवर्ष उत्कृष्टबाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे।

सम्बोधनको क्रममा देउवाले देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गरेका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै कर्तव्य पालनाको सिलसिलामा घाइते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताए।

उनले सिमित श्रोतसाधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको सांगठानिक बिकास विस्तार लगायत बृत्तिविकासको योजना तर्जुमा गर्न गृहमन्त्रालयलाई निर्देशन दिँदै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आकलन गर्दै योजनाकासाथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यस अवसरमा निर्देशन दिए।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गरेका सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय धनबहादुर बस्नेतको योगदान र वीरताको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी बस्नेत र छोरा सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रतिबद्धताका साथ अघि बढिरहेको बताउँदै नेपाल सरकारद्वारा निर्दिष्ट गरिएका आर्थिक, प्रशासनिक र अप्रेशनल नीतिहरुलाई अक्षरशः पालना गर्दै सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यकासाथ शान्ति सुरक्षालाई बलियो बनाउन एवं सुशासन कायम राखी विकासका पूर्वाधारहरुका लागि सुरक्षित वातावरण तयार गर्ने कार्यमा संगठनसदैव क्रियाशील रहँदै आएको बताए।

उनले ले १ सय १० शैयाबाट हाल अस्थायी रुपमा ३ सय ५० शैयाको स्वीकृति प्राप्त नेपाल एपीएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र श्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्न सक्ने बताए।

उक्त विशेष समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .