ad ad

राजनीति


प्रदेश समितिलाई प्रचण्डको निर्देशन : आगामी वर्ष तीनै निर्वाचन हुन्छन्, तयारी थाल्नू

केन्द्रीय समिति बैठक माघ २७ देखि काठमाडौंमा
प्रदेश समितिलाई प्रचण्डको निर्देशन : आगामी वर्ष तीनै निर्वाचन हुन्छन्, तयारी थाल्नू

फाइल फोटो


नेपालखबर
माघ ९, २०७८ आइतबार २२:२३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष हुने तीनै तहको निर्वाचन तयारी थाल्न मातहतका कमिटीलाई निर्देशन दिएका छन्।

यही शुक्रबार सातै प्रदेश कमिटी इन्चार्ज र अध्यक्ष एक पृष्ठको पाँच बुँदे परिपत्र गर्दै प्रचण्डले निर्वाचनका लागि अहिलेबाटै तयारीमा जुट्न निर्देशन दिएका हुन्।

'आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने कुरा स्पष्ट नै छ', उनले परिपत्रको ४ नम्बर बुँदामा भनेका छन्, 'त्यसैले यसका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरू गर्न निर्देशन दिइन्छ।'

प्रचण्डले यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा पनि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई जिताउने भूमिका खेल्न निर्देशन दिएका छन्।

'यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले परिचालित हुन र गर्न निर्देशन दिइन्छ', उनले प्रदेश कमिटीलाई भनेका छन्। 

प्रचण्डले आठौं महाधिवेशनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समितिको बैठकबाट अर्को निर्णय नहुन्जेल पुरानै समितिलाई निरन्तरता दिन पनि भनेका छन्। 

'केन्द्रीय समितिको आगामी बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यस अघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुले नै यथावत् इन्चार्जको जिम्मेवारी सम्हाल्नु हुनेछ', उनले भनेका छन्।  

आठौं महाधिवेशनको निर्देशन बमोजिम केन्द्रीय समितिलाई पूर्णता दिन, पोलिटब्युरो एवम् स्थायी समितिको गठन गर्न र पदाधिकारीहरूको निर्वाचन गर्न केन्द्रीय समितिको बैठक यसअघि पुस २५ र माघ ८ गतेका लागि बोलाइए पनि कोरोनाले नदिएको जानकारी पनि उनले दिएका छन्।  

प्रचण्डले कोरोना संक्रमणको स्थितिलाई ध्यान दिई केन्द्रीय समितिको बैठक माघ २७ गते बाट सुरु हुने गरी काठमाडौंमा बस्ने पनि बताएका छन्। उक्त बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समिति गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने पनि उनले जानकारी दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .