राजनीति


३५ वर्षे शिक्षण पेशा छाडेर जो गगन थापा पछ्याउँदै राजनीतिमा होमिए

३५ वर्षे शिक्षण पेशा छाडेर जो गगन थापा पछ्याउँदै राजनीतिमा होमिए

वीरबहादुर सेजुवाल


मीना खड्का
माघ १०, २०७८ सोमबार २१:५५, काठमाडौँ

धेरैको जीवन शिक्षण पेसाबाट सुरु त हुन्छ तर शिक्षण पेसामा नै टुंगिदैन। अनि जागिरे प्रवृत्तिबाट अलग रही शिक्षकको नैतिक मूल्य र मान्यता जोगाएर बसेका शिक्षक थोरै हुन्छन्। तीनै थोरै मध्येमा एक हुन्, सल्यानका वीरबहादुर सेजुवाल। 

अस्थायी शिक्षकका रुपमा चार र स्थायी ३१ वर्ष गरी उनको ३५ वर्ष अध्यापनमै बित्यो। 

समाज परिवर्तन गर्नु पर्छ भन्ने अन्तरप्रेरणा र अठोट थियो। त्यसैले उनले बेलैमा शिक्षणकार्य रोजे। यति लामो समय अध्यापन गरे पनि समाजका लागि जति गर्नुपर्ने थियो, त्यति गर्न सकेजस्तो उनलाई लागेन।

त्यसैले उनी शिक्षण पेसाबाट अवकाश लिएर राजनीतिमा होमिए।

‘शिक्षण पेसामा रहेर मात्रै शिक्षा सुधार गर्न सक्छु जस्तो लागेन, जति दिनुपर्ने थियो त्यति दिन सकिएन जस्तो लाग्यो,’ वीरबहादुर सेजुवालले भने, ‘त्यसैले राजनीतिबाट नै धेरै पक्ष सुधार गर्न सक्छु, सम्भव छ भन्ने लागेर यता आएँ।’

५४ वर्षीय सेजुवालले गएको भदौ महिनामा शिक्षकबाट राजीनामा दिएका हुन्। 

‘शिक्षण मेरो रोजाइको पेसा हो। तर आजीवन यसैमा मात्रै सीमित भइरहन मन लागेन,’ उनले भने, ‘राजनीतिमा प्रवेश गरे पनि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिइरहेको छु।’

अहिले पनि पार्ट टाइम क्याम्पस पढाउने गरेको उनको भनाइ छ।

‘औपचारिक रुपमा विद्यालयमा गएर पढाउने यात्रा त टुगिंएको छ तर अध्ययन गर्ने चाहना, सिकाउने उत्सुकता जीवित छ,’ उनले भने, विद्यार्थीको आग्रहमा समय व्यवस्थापन गरेर अहिले पनि क्याम्पस तहमा मैले पार्ट टाइम पढाउने गरेको छु।’ 

राजनीतिसँगसँगै शिक्षाक्षेत्रमा पनि योगदान दिन सकिने उनको ठम्याइ छ।

‘राजनीत गर्दै शिक्षाक्षेत्रमा पनि योगदान दिन सक्छु,’ उनले भने, ‘औपचारिक रुपमा १० देखि ४ को ड्युटी नगरे पनि, स्थायी शिक्षकका रुपमा नरहे पनि अभिभावकले मेरो बच्चालाई सिकाइदिनुस् भने सिकाउँछु, विद्यार्थीले महसुस गरे आवश्यकता पुरा गरिदिन्छु।’ 

राजनीति सुधार्न आफू यसमा आएको उनको भनाइ छ।

‘राजनीति फोहोर होइन, फोहोर बनाइएको हो,’ उनले भने, ‘यही प्रमाणित गर्न र सुधार गर्न म राजनीतिमा आएको हुँ।’

‘अध्ययनबिना राजनीति गर्नेहरु अक्षम हुन्छन् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘म राजनीतिमा हाम फालेर आएको होइन। लामो समय अध्ययन गरेर सोचेर धेरै सुधार गर्न सम्भव छ भन्ने लागेर आएको हुँ। राजनीति फोहोरी खेल हो यहाँ राम्रा मान्छे आउनु हुँदैन भन्ने मानसिकता जो छ, त्यो तोड्न आवश्यक छ। अब शिक्षित वर्ग राजनीतिमा आउनुपर्छ।’

शिक्षण पेसा छाडेर राजनीतिमा नआउनुपथ्र्यो भन्नेहरु पनि छन्। तर, आएर राम्रो गर्नुभयो भन्नेहरुको जमात पनि सानो छैन। त्यसैले शिक्षण पेसा छाडेकोमा पश्चाताप छैन उनलाई।​

शिक्षणबाट प्रत्यक्ष राजनीतिमा होमिएपनि उनी सफल चाहिँ भइसकेका छैनन्। बरु पार्टी राजनीतिको पहिलो प्रयासमै उनले असफलता ब्यहोर्नु पर्यो। गत मंसिरमा नेपाली कांग्रेसको सल्यान क्षेत्र नम्बर ख क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा गरेका वीरबहादुर सेजुवाल ४० मत अन्तरले पराजित भए। 

तर यसलाई हारभन्दा पनि उनले सिक्ने अवसरका रुपमा लिएका छन्।  

‘राजनीतिमा चलखेल हुने रहेछ’, उनले भने, ‘यो मेरो पहिलो अनुभव हो र मसँग प्रशस्त स्रोत साधन पनि भएन।’

आफूले केन्द्रमा गगन थापाबाट सिक्न खोजिरहेको संकेत गर्दै सेजुवालले थपे, ‘गगन थापाले अघिल्लो पटक महामन्त्रीमा हारेका थिए। तर यो पटक उनको जितमा उत्सव मनाउनेहरु कम छैनन। मैले जित्न सकिनँ तर हारेको महशुस पनि भएको छैन, बरु धेरै सिकेको छु।’

सेजुवालले गगन थापा शैली पछ्याउँदै एक पटक हार्दैमा निराश नहुने तर असल राजनीतिका लागि सक्रिय रहेर अर्को पटक जित्ने आत्मविश्वास देखाए।  

परिर्वतनको चाहना विद्यार्थीकालदेखि नै रहेको र त्यो अझै जीवित रहेको उनी बताउँछन्।

‘विद्यार्थीकालमा पनि संगठनमा आवद्ध भएर विद्यार्थीका आवाज बुलन्द गर्थेँ। चुपचाप समय बिताउने स्वभाव होइन, केही न केही गर्नुपर्छ भन्ने हुटहुटी छ,’ उनले भने। 

शिक्षण पेसामा आवद्ध भएपछि शिक्षकको हकहितको निम्ति शिक्षक संगठनमा रहरे काम गरे। शिक्षक संघको सदस्य, सहसचिव भए। शिक्षक युनियनको अध्यक्ष भए। ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति सल्यानको अध्यक्ष पनि भएर काम गरे। 

शिक्षा, विज्ञान र प्रविधिबिना अन्य कुनै क्षेत्रको विकास सम्भव छैन भन्ने उनलाई लाग्छ। 

‘शिक्षाको विकासबिना अन्य केही सम्भव छैन। अशिक्षित मान्छेले नदीमा ढुंगा, बालुवा देख्छ, तर शिक्षितले विद्युत देख्छ, त्यसैले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ। सबै क्षेत्रको मेरुदण्ड शिक्षा हो,’ उनी भन्छन्।  

३५ वर्षको अध्यापनको अनुभव अब राजनीतिसँग जोडन चाहन्छन् उनी। ​

शिक्षक कस्तो हुने?

विद्यार्थीको भाग्य र भविष्य शिक्षकसँग जोडिएको उनी बताउँछन्। 

‘प्रधानाध्यापक अथवा विद्यालय व्यवस्थापन समितिले पढाऊ भनेपछि पढाउने संस्कार छ, अधिकांश शिक्षकले राम्रो तयारी गरेर पढाउनुपर्छ भन्ने सोच्दैनन्,’ सेजुवालले भने, ‘यसमा सुधार ल्याउनुपर्छ।’

उनका अनुसार असल शिक्षक बन्न कठिन छ।

‘शिक्षक विद्यार्थीभन्दा १ घण्टा मात्रै अगाडि हुन्छ। त्यसैले विद्यार्थीले भन्दा अझ धेरै अध्ययन गर्ने र पढने गर्नुपर्छ शिक्षकले, नपढ्ने शिक्षक असल शिक्षक हुनै सक्दैन, नो रिडर नो टिचर,’ सेजुवालले भने, ‘जसरी शिक्षण पेसामा आउन जति सजिलो छ, त्योभन्दा धेरै गुणा गाह्रो गुणस्तरीय शिक्षा दिन छ, धेरै मान्छे शिक्षक बन्न सक्छन् तर असल शिक्षक भेट्टाउन मुस्किल छ।’ 

शिक्षणलाई जागिर मात्र मान्नेहरुसँग उनी असहमत छन्।

‘जागिरका रुपमा शिक्षणलाई लिँदा शिक्षण पेसा आकर्षणविहीन त देखिएको छ। जिम्मेवारीबाट पन्छिएर चलखेल हुने गरेको छ। यसो हुँदा असन्तोषको कारक बन्न पुगेको छ,’ उनले भने। 

शिक्षण कार्यमा रहँदा अनेक दबाब आए पनि उनी कहिल्यै डगमगाएनन्।

‘लामो समयसम्म शिक्षण कार्यमा रहँदा दूरगामी असर पार्ने काम गर्न राजनीतिक दबाबहरू नआएका होइनन्,’ उनले भने ‘तर जागिरै गए पनि म गलत काम गर्दिनँ भन्ने साहस थियो। गलत गर्न मेरो नैतिकताले दिँदैन।’

आफु राजनीतिमा जोडिनुको मुख्य कारण शिक्षा क्षेत्रको सुधार हो भन्छन् उनी।

‘स्कुल शिक्षा र शिक्षकको भूमिका सुधार गर्न राजनीतिसँगै शिक्षानीति र शैक्षिक संयन्त्रमा पनि आमूल परिवर्तन गर्नु जरुरी हुन्छ,’ उनले भने, ‘गलत कुरालाई राजनीतिक नेतृत्वले जति नै दबाब दिए पनि नगर्ने र सही काम गर्न प्रेरित गर्ने आँट र इमान शिक्षकहरुमा हुनु आवश्यक छ।’

‘शिक्षाको राजनीति गर्नुपर्छ,’ उनी थप्छन्, ‘शिक्षामा राजनीति गर्नु हुँदैन। अहिले शिक्षामा राजनीति गर्नेहरुको हालिमुहाली छ। त्यसैले पनि असल शिक्षण गर्ने शिक्षक कमै भेटिन्छन्। धेरैले निरन्तरता दिन सक्दैनन्।’

सिक्ने र सिकाउने कामलाई जीवनभर निरन्तरता दिनुपर्ने उनको सुझाव छ।

‘तपाईंलाई अचम्म लाग्ला मैले यो ५५ वर्षको उमेरमा पनि फेरि भर्खरै राजनीतिशास्त्रमा मास्टर्स सकेँ,’ उनले भने ‘अहिले कानुन पढिरहेको छु। त्यसैले चौबीस घण्टा नै राजनीति गँरिदैन, त्योबाहेक पनि धेरै गर्न सकिन्छ।’ 

राजनीतिबाट नेतृत्व गर्ने अवसर पाए पनि नपाए पनि समाजसेवामा केन्द्रित रहने उनी बताउँछन्।   

‘नेतृत्व गर्ने अवसर मिल्यो भने चेतना, परिवर्तन, विकास र त्यसको व्यवस्थापनका लागि कटिबद्ध भएर लाग्नेछु। अहिलको जस्तो राजनीतिलाई नकारात्मक रूपमा बुझ्ने अवस्थाको अन्त्यका लागि लाग्नेछु,’ उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .